भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् । नियमित विमान सञ्चालनका लागि यहाँका व्यवसायीले पटक-पटक विमानस्थल अगाडि नै विभिन्न विरोधका कार्यक्रम गरेका छन् ।
विरोधको यसै कार्यक्रमलाई जनस्तरमा लैजान एवं अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्यले स्थानीय ब्यवसायीले नौलो तरिका अपनाएका छन् ।
बुधबारदेखि रुपन्देही उद्योग व्यपार सङ्गठनले भैरहवामा आयोजना गर्ने छैठौँं लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा कृत्रिम विमान निर्माण गरेका छन् । ‘विमानस्थललाई नै हेरेर यहाँ करिब रु ८० अर्ब बराबरको लगानी भएको छ ।’ सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले भनेका छन्, ‘सरकारले यसको सञ्चालनमा उदासिनता देखाएपछि जनस्तरमै दबाब सिर्जना गर्ने उद्देश्यले मेलामै विमान निर्माण गरेका हौँ ।’
करिब पाँच लाखको लागतमा भारतका कालिगढ बोलाएर प्रवेशद्वारमा विमानको आकृति तयार हुँदैछ । मेलाको सुरुमै राखिएकाले मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यसमै परोस् भन्ने मनसायले विमान निर्माण गरिएको सङ्गठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीको भनाइ छ ।
‘लगाउनेले यसको विभिन्न अड्कल लगाउलान् तर यो बनाउनुको एक मात्र उद्देश्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिनु हो, यसले यो क्षेत्र विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी कति पीडामा छन् भन्ने पनि देखाउँछ’, भण्डारीले भने ।
बुधबार (मंसिर ६) देखि सुरु हुने प्रादेशिक महोत्सवमा प्रवेशद्वारसँगै मेला सचिवालय अर्घाखाँचीस्थित प्रसिद्ध सुपा देउराली मन्दिरको आकृति बनाइको छ । स्थानीय उत्पादन र कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित मेला मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खेलकुद प्रवर्द्धनका लागि भलिबल, कुस्तीलगायत खेल आयोजना गरिने पूर्वअध्यक्ष श्रेष्ठले बताए । तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागिता रहने उनको भनाइ थियो ।
करिब पाँच लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा तीन सय ५० स्टल हुने जनाइएको छ । भैरहवामा मेला महोत्सव एवं सार्वजनिक कार्यक्रमका लागि जग्गाको व्यवस्था नहुँदा वर्षैपिच्छे अस्थायी संरचनाा बनाउनमै लाखौँ रुपैया लाग्ने गरेको व्यवसायीको गुनासो छ । उद्योग ब्यपार सङ्गठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले यस विषयमा पनि सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया