प्रचण्ड हट्दा केपीको सम्भावना
प्रचण्डलाई पदमूक्त गर्ने र नयाँ गठबन्धन सरकार गठन गर्ने योजनामा अड्चन यथावत भएपनि प्रयास जारी रहेको छ । तथापि डा. शेखर कोइरालाले खुट्टा टेक्न नसक्ने सङ्केतहरू देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली अलिक झस्किएका छन् । कोशी प्रदेशमा काङ्ग्रेसका डा. शेखर कोइरालाको टोलिसँग उत्साहजनक साँठगाँठ गरेको एमाले पछिल्लो समय नराम्रोसँग झस्किएको छ । तथापि, सरकार बदल्ने उसको योजना भने बदलिएको छैन ।
प्रचण्डविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन संवैधानिक अड्चन भएकोले सरकार विस्थापित गराउन घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ । त्यसैले सरकार विस्थापनको निम्ति पहिले सत्ता गठबन्धनको कुनै दल बाहिरिनुपर्ने हुन्छ, त्यसपछि विश्वासको मत लिन बाध्य पार्ने र, विश्वासको मत पुग्न नदिएर प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्ने स्थितिमा पुऱ्याउन सक्नुपर्छ । त्यसैले सरकार परिवर्तन सहजै सम्पन्न हुन अझै पनि मुस्किल देखिएको छ ।
शेखर कोइरालाहरूको भूमिका पहिलो चरणमा (अर्थात् विश्वासको मत लिने स्थितिमा पुऱ्याउन) केही पनि देखिन्न । विश्वासको मत लिनुपर्ने ठाउँमा परिस्थिति पुगेपछि मात्र काङ्ग्रेसका विद्रोहीहरूको भूमिका महत्वपूर्ण भएर आउनेछ । अहिलेसम्म सरकार छोड्न खुट्टा उचालेर बसेको अवस्थामा जसपाका नेता उपेन्द्र यादव मात्र देखिएका छन् । तर यादवले मात्र साथ छोडेको अवस्थामा प्रधानमन्त्री विश्वासको मत लिन बाध्य हुने छैनन् । कारण, उपेन्द्रले आफ्नै पार्टीभित्र विश्वास गुमाएका छन् र, उनको प्रयासमा अशोक राई, राजेन्द्र श्रेष्ठ र अन्य केही नेताहरूको साथ नरहने स्पष्ट छ । उपेन्द्रसँगै माधव नेपालको समूहलाई पनि सरकार छोड्ने अवस्थामा पुऱ्याउन सक्दा मात्रै प्रधानमन्त्री विश्वासको मत लिन बाध्य हुने स्थिति छ । त्यसैले माधवको समूहलाई एमालेमै समाहित गराउन केपीमाथि दबाब परेको छ ।
माधवका दस सांसदमध्ये पाँच जना एमालेसँगको निरन्तर सम्पर्कमा रहेको बुझिन्छ । तर माधव नेपाल आफू प्रधानमन्त्री (संसदीय दलको नेता) या पार्टीअध्यक्ष बन्ने ग्यारेण्टी नभएसम्म एमालेमा समाहित बन्न तयार देखिँदैनन् । अहिलेसम्म केपी त्यसनिम्ति तयार भइसकेको बुझिँदैन । तर कदाचित केपी तयार भएपनि केपीको कुरामा माधव सजिलै विश्वास गर्ने मनस्थितिमा छैनन् । कार्य परिणामले मात्र विश्वासको आधार बनाउन सक्ने ठहर माधवको छ । त्यसैले माधव नेपाललाई समेट्न केपीले अहिलेसम्म सकेका छैनन्, तथापि समेट्नै सक्दैनन् भन्नेचाहिँ होइन ।
माधव र उपेन्द्रको साथ भएमा मात्र प्रचण्डलाई विश्वासको मत लिन बाध्य पार्न सकिने र, उनीहरू सरकारबाट बाहिरिएमा सीके राउतको जनमत तथा रेशम चौधरीको नागरिक उन्मूक्ति पार्टीले पनि सरकार छोड्ने विश्वास केपीले गरेका छन् ।
यसरी प्रचण्डलाई विश्वासको मत लिन बाध्य तुल्याउने अवस्थामा पुऱ्याउन सकेपछि मात्र सरकारको नेतृत्व र गठबन्धन बदल्ने विश्वासिलो आधार खडा हुनसक्नेछ । स्थिति विश्वासको मत लिने ठाउँमा पुगेपछि मात्र शेखर कोइरालाहरूको भूमिका निर्णायक हुन आउनेछ । सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने वैधानिक हैसियत नभएपनि मतदानमा अनुपस्थित भएर सरकारको विस्थापन गराउन र नयाँ सरकार गठन गराउन शेखरहरूको महत्वपूर्ण भूमिका हुनसक्नेछ ।
तर नयाँ सरकार गठन गराउने क्रममा विभिन्न तिकडमहरू चल्ने सम्भावना देखिन्छ । प्रचण्ड हटेपनि वामपन्थीहरूको कार्यगत एकता र वाम गठबन्धनको सरकारका निम्ति बेग्लै ढङ्गले दबाब पर्ने देखिन्छ । केपी ओलीको नेतृत्वमै सरकार गठन गर्न माओवादीले प्रस्ताव राखेमा फेरि पनि मुलुकमा वाम बर्चस्वकै सरकार गठन हुनेछ । यतिबेला पश्चिमाहरू कुनै पुराना नेताको नेतृत्वमा सरकार गठन गराउने पक्षमा देखिएका छैनन् र, भारतचाहिँ केपीको हातमा सत्ता पुग्न दिने पक्षमा रहेको बुझिँदैन । वाम बर्चस्वको सरकार गठनमा अब भारत संलग्न हुनसक्ने अवस्थाको अन्त्य भइसकेको छ । तर परिस्थिति सधैं भारत या पश्चिमाले चाहेकै बाटोमा हिँड्छ भन्ने होइन । पश्चिमाहरू शेखर कोइरालाको नेतृत्वमा गगन, रास्वपा आदि हाबी हुने किसिमको सरकार बनाउने कसरतमा हुँदाहुँदै पनि प्रचण्डले राजीनामा दिने स्थितिमा केपीकै नेतृत्वको सरकार बन्ने स्थिति उत्पन्न हुन सम्भव छ । एमालेको ७७, माओवादीको ३२, जसपाको १२, माधव नेपालको १०, नागरिक उन्मूक्तिको ४ र जनमतको ६ गरि कुल १४१ सांसद सङ्ख्या पुग्नेछ । राप्रपा र रास्वपा नामक केपी ओलीका दुई स्याटलाइट पार्टीहरू समेत जोडिँदा त्यसमा ३५ सांसद अरू थपिने छन् ।
यसरी कथित दक्षिणपन्थी र वामपन्थीको सरकार गठन भएमा काङ्ग्रेस पार्टी राजनीतिक रूपले एक्लिने छ । त्यसरी काङ्ग्रेस एक्लिएको अवस्थालाई शेखरहरूले शेरबहादुर देउवा विरूद्ध प्रयोग गर्ने सम्भावना पनि रहनेछ र, सत्ता गुमाउने स्थिति बनाएको भनेर शेखरहरू नै रक्षात्मक अवस्थामा पुग्न पनि सम्भव छ ।
जे होस्, अहिले केही सुनसान जस्तै देखिएपनि सरकार बदल्ने खेल टुङ्गिएको छैन, बरू तिहारपछि यो खेलले तीव्र गति लिने सङ्केतहरू देखिएका छन् ।
प्रतिक्रिया