नेपालले उच्च महत्वका अन्तर्राष्ट्रिय ब्यक्तित्वलाई राजधानीमा स्वागत गर्न पाउने अवसर तत्कालका निम्ति गुमाएको छ । मध्येपूर्वमा अत्यन्तै प्रभावकारी मानिने कतारका अमिर शेष तमिम विन खलिफा अल थानी यसै महिना नेपालको भ्रमणमा सवारी होइबक्सने कार्यक्रम थियो । २०४६ मा प्रजातन्त्र स्थापना भएयता कुनै पनि खाडी मुलुकका कार्यकारी प्रमुखबाट नेपालको भ्रमण हुन लागेको यो नै पहिलो थियो । तर इजरायल-हमास युद्धबाट उत्पन्न परिस्थितिका कारण कतारी राजाको भ्रमण रोकिएको छ । मौसुफको भ्रमण रोकिनुमा कतै नेपालले इजरायललाई दिएको ‘अन्धसमर्थन’ त होइन भन्ने आशङ्का पनि कतिपयले गरेका छन् ।
चार लाखभन्दा बढी नेपालीलाई रोजगारी दिने कतार इजरायलप्रति सकारात्मक देखिएको महसूस गरिन्न । त्यसैले कतार नेपालसँग दुःखी बनेको आशङ्का गरिएको हो । तर कतारका लागि नेपाली राजदूत नरेश ढकालले त्यस्तो शङ्का गर्नुपर्ने स्थिति नरहेको स्पष्ट गर्दै आगामी जनवरी महिनासम्ममा अमिरको नेपाल भ्रमण हुने जानकारी घटना र विचारलाई दिनुभएको छ ।
कतारी राजा शेष तमिम अहिले ४३ वर्षका होइबक्सन्छ र, मौसुफले ३३ वर्षको उमेरमा आफ्ना पिता अमिर शेष हमाद विन खलिफा अल थानीलाई राजकाजको काम छोड्न बाध्य पारेर आफू अमिर बनिबक्सेको थियो । मौसुफबाट आफू २३ वर्षको हुँदा आफ्ना पितामाथि चर्को दबाब दिएर आफ्ना दाज्यू शेष जस्मिमको युवराज पद हात पारिबक्सेको थियो । त्यसो त यी अमिरका पिता शेष हमादले पनि आफ्ना पिता शेष खलिफा विन हमाद अल थानीलाई हटाएर आफै अमिर बनेको घोषणा गरेका थिए । सन् १९९५ मा केवल १५ वर्षीय शेष तमिमबाट आफ्नो हजूरबाका विरूद्ध आफ्ना पिताको पक्षमा सेनाको समर्थन जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरिबक्सेको थियो ।
कतारी राजाको भ्रमण भएमा यसलाई नेपालको कुटनीतिक सफलता मानिनेछ र, त्यसको क्रेडिट राजदूत नरेश ढकाललाई जानेछ । नेपालले यस्तो अवसरको सदुपयोग गर्न सकेमा कतारबाट अकल्पनीय लाभ हाशील गर्नसक्ने विश्वास गरिन्छ ।
प्रतिक्रिया