धन कमाउन मान्छेले कतिसम्म गिरेर क्रियाकलाप गर्छन् भन्ने भक्तपुर घर भइ हाल युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई बस्ने भरत गिरीको व्यवहारले देखाइरहेको छ । उनले दुवईमा रोजगारी दिने नाममा नेपाली चेलीमाथि गरेको शोषणका बारेमा प्रहरीमा उजुरी पर्न थालेपछि आफूले पारिश्रमिक नदिएको स्वीकार गरेका छन् ।
फोन सम्पर्कका क्रममा गिरीले दुईटी महिलाको पारिश्रमिक दिन बाँकी रहेको स्वीकार गरेका छन् । उनले भने, ‘एउटी महिला सम्पर्कै नगरी नेपाल फर्किसकेको हुँदा पारिश्रमिक दिन नपाएको र अर्कीको पारिश्रमिक दिन बाँकी रहेको उनी पनि मेरो सम्पर्कमा छैनन्, मैले नै दुवईमा खोजी गर्दा पनि भेटीएकी छैनन् ।’
यूएईको स्थायी बसोबास अनुमति लिइसकेका गिरी पछिल्लो समय दुवईमा कामदार सप्लाई गर्ने कम्पनी सञ्चालन गरेर बसेका छन् । यूएईमा वैधानिक दर्ता अनूमति प्राप्त उनको ‘अभारिका गिरी टेक्नीकल एण्ड क्लिनिङ सर्भिसुले खासगरी महिला कामदारको धन्दा बढी गर्ने गर्छ । विभिन्न प्रलोभन र दबाबमा पारेर महिला कामदारलाई अनैतिक धन्दामा संलग्न हुन बाध्य पार्ने गरेको पिडीतको गुनासो छ ।
मकवानपुर घर भई चुरियामाई-२ की अंकिता (नाम परिवर्तन) नामकी युवतीलाई दुवईमा आफ्नो कम्पनीमा काम दिने भनेर मासिक २ हजार दिरामको प्रलोभनमा पारेर मोटो रकम असुल गरेका भरत गिरीले अन्ततः आफ्नो कम्पनीमा आउने ग्राहकलाई ‘खुसी पार्नु पर्ने’ भन्दै यौन धन्दा गराउन बाध्य पारेपछि अंकिता त्यो कम्पनी नै छाडेर नेपाल फर्केकी छिन् ।
अंकिताले अभारिका गिरी टेक्नीकल एण्ड क्लिनिड्ग कम्पनी सञ्चालन गरी बसेका भरत गिरीको बास्तविक धन्दा उजागर गर्दै कारवाहीका लागि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी निवेदन समेत दर्ता गराएकी छन् । उजुरी निवेदनमा आफूले काम पाउनका लागि बुझाएको रकम, केही समय काम गरेको पारिश्रमिक र भोग्नु परेको मानसिक एवम् शारिरीक पिडाको क्षतीपूर्ति पनि माग गरेकी छन् ।

पीडित अंकिताका अनुसार दुवईमा भरत गिरीको कम्पनीमा काम गर्ने अरु धेरै नेपाली महिला कामदार यस्तै यस्तै पिडामा छन् । चन्द्रनिगाहापुरकी खड्का थरकी युवती त विगत लामो समयदेखि आफैँ बन्धक जस्तो अवस्थामा पुगेकी छन् । भरत गिरीले नै पारिश्रमिक र काम पनि फेरिदिने र भिसाको म्याद बढाइदिने भन्दै झुक्यानमा पारेर त्यहाँ अवैध जस्तै अवस्थामा पुगेपछि उनी आफैं बन्धक जीवन बिताउन बाध्य छन् । मोटो रकम खर्चेर दुवई गएकी उनी रित्तो हात चाहेर पनि नेपाल आउन नसक्ने भएकाले लुकिछिपी भए पनि नयाँ कामको खोजीमा रहेको अंकिताले जानकारी गराइन् । उनी भन्दै थिइन्, ‘तपाईंले त्यहाँ भरत गिरीकै कारण रिताले खेप्दै आएको दुःख-कष्ट सुन्न चाहानुहुन्छ भने उनैलाई भिडीयो कल गरिदिन्छु । उनीबाटै सुन्नुस् भरत गिरीको धन्दा के हो ?’
तर, रोजगारीका नाममा उनले नेपाली चेलीलाई यौन कार्यमा लाग्न बाध्य पार्ने गरेको हर्कत भने क्षमायोग्य छैन ।
यता, उजुरी निवेदन पेश गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्दा आरोपित गिरीमाथि मानव वेचविखन मुद्दा अनुसन्धान प्रक्रियामा रहेको बताइएको छ । ‘भरत गिरी फोन सम्पर्कमा आएका छन्, छिट्टै काठमाडौं आउने र कार्यालयमा उपस्थित हुने प्रतिवद्धता जनाएका छन्,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका वैदेशिक रोजगार पिलरका एक अधिकारीले भने, ‘उजुरीकै आधारमा कारवाही प्रक्रिया अघि बढाइहाल्नु भन्दा पनि एक पटक आरोपितका कुरा पनि सुन्न पर्ने हुन्छ ।’
तिहारअगाडि नै आफू सम्पर्कमा आउने फोन सम्पर्कका क्रममा गिरीले बताएको प्रहरीले जनाएको छ ।
भक्तपुरको वागेश्वरी घर भएका भरत गिरी दुवईमा बसेता पनि उनकी श्रीमती अञ्जली विष्ट भने पशुपति क्षेत्र नजिकै गौरीघाट बस्छिन्, उनी त्यसै क्षेत्रको एक नीजि स्कुलमा समेत अध्यापन कार्यमा संलग्न रहेको बताइन्छ । श्रीमती अञ्जलीले श्रीमान भरतका बारेमा जानकारी माग्न खोज्यो भने डिभोर्स भैसकेको बताउँछिन् ।
यूएईमा रोजगारी मिलाइदिने भन्दै भरत गिरीले थुप्रै नेपाली चेलीमाथि श्रम शोषण गरेका, उनीहरुबाट मोटो रकम असुल गरिएको गुनासो सार्वजनिक भइरहेका बेला वैदेशिक रोजगारीमा गएका महिलालाई ग्राहक खुसी पार्न भन्दै उनले यौनधन्दा गर्न बाध्य पारेको विषयले यतिबेला उनमाथि मानव बेचविखन सन्दर्भमा पनि अनुसन्धान गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
प्रतिक्रिया