राष्ट्रसंघीय महासचिवको भ्रमण प्रयोजनविहीन रहेको कमल थापाको टिप्पणी

राष्ट्रसंघीय महासचिवको भ्रमण प्रयोजनविहीन रहेको कमल थापाको टिप्पणी


रात्रीभोज बहिष्कार गर्ने

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण प्रयोजनविहीन भएको जिकिर गरेका छन् ।

चार दिवसीय नेपाल भ्रमणको क्रममा गएराति १ बजे नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजनविहीन’ भएको टिप्पणी गरेका हुन् । उनले यस भ्रमण आश्चर्यजनक रहेको समेत जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत ‘अतिथीलाई स्वागत छ तर…’ भन्दै थापाले महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको आरोप लगाएका छन् । इजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’

महासचिव गुटेरेसले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दैछन् ।

नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

थापाले रात्रीभोज बहिष्कार गर्ने

महासचिव गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा पनि कमल थापा नजाने भएका छन् । गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको रात्री भोजमा थापा नजाने भएका हुन् ।

संक्रमणकालिन न्यायका लागि यो सरकार गम्भीर छैन, उसैको निम्तोमा नेपाल आएको छ, त्यसमाथि हमास–इजरायल युद्धमा लाखौं निर्दोष मारिएका छन्, राष्ट्र संघ भनेको त ग्लोबल गभर्न्मेट पनि हो, त्यसको नेतृत्वमा रहेको प्रमुख ब्यक्ति त्यताको मुद्धा छाडेर नेपाल आउनुको कुनै औचित्य देख्दिनँ’ थापाले भनेका छन्, ‘त्यसैले प्रयोजनविहीन भ्रमणमा आएका महासचिवको सम्मानमा आयोजित रात्रीभोजमा नजाने निर्णय लिएको छु ।’ थापाका अनुसार महत्वपुर्ण मुद्धा छाडेर राष्ट्र संघका प्रमुख यसरी कुनै उपलब्धी हुन नसक्ने र औचित्यहिन भ्रमणमा आउनुले उनी विश्वशान्तिप्रति संवेदनशील नदेखिएको सन्देश गएको छ ।

महासचिव गुटेरेसको सम्मान प्रधानमन्त्री प्रचण्डले आज बेलुकी सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका छन् ।