कांग्रेसको चियापानमा ओलीको बेग्लै चेतावनी !

कांग्रेसको चियापानमा ओलीको बेग्लै चेतावनी !


विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढुंगाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

चियापानमा प्रधानमन्त्री प्रचण्डले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने उल्लेख गर्दै यस्ता कार्यक्रमले आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।

“यो चियापान संस्कृति विपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ, यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि सङ्घर्षमा होमिएका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनमा केन्द्रित छ”, प्रधानमन्त्रीले भने ।

त्यस्तै, पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको भन्दै त्यस्तो प्रयासलाई उचित समयमा उचित जवाफ दिने चेतावनी दिए ।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अहिले जवाफ दिने समय नभएको भन्दै उचित समयमा जवाफ दिने धारणा राखे ।

कार्यक्रममा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेसले उच्च राजनीतिक संस्कार बसालेको अभिव्यक्ति दिए ।

चियापानमा उपस्थित विशिष्ठ व्यक्तित्वहरू तथा सर्वसाधारणलाई पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले स्वागत अभिवादन गरेका थिए ।

दिउँसो १ः०० बजेदेखि सुरु भएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ः०० बजेसम्म सञ्चालन भएको थियो । कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन गर्दै आइरहेको चियापान कोरोना महामारीका कारण विगतका केही वर्षहरूमा आयोजना हुनसकेको थिएन ।

विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

तस्बिर : रासस