एकल पुरुषका बारेमा…

एकल पुरुषका बारेमा…


चर्चित कलाकार हरिवंश आचार्यकी पत्नी मीराको देहान्त भएको वर्ष दिन पुग्दा-नपुग्दै उनको दोस्रो विवाहको कुरा अहिले निकै चर्चाको विषय बनेको छ । कतिले भन्ने गरेका छन्, हेर त हरिवंश र मीराको जोडी त्यस्तो मिलेको थियो, मीराको मृत्युपछि हरिवंशले लेखेको कविताले धेरैलाई रुवाएको थियो । तर, खै त एक वर्ष पनि उनी पत्नीका नाममा बस्न सकेनन् । कतिपयले भन्ने गरेका छन्- हरिवंशको जस्तै परिस्थितिमा मीरा भएकी भए र उनले विवाह गरेकी भए वा विवाह गर्ने कुरा बाहिर आएको भए मानिसहरूले कसरी लिने थिए होला ? के उनले आफन्त, शुभेच्छुक या साथीहरूबाट यसैगरी बधाईका वर्षा प्राप्त गर्ने थिइन् होला ? यसप्रकारको चर्चामा मानिसहरूले चर्चित साहित्यकार कृष्ण धराबासीको नाम जोड्दै भन्ने गरेका छन् अब कुन दिन धराबासीले विवाह गरेको समाचार आउँछ । हाम्रो समाजमा श्रीमतीको देहान्तको केही समयपछि नै विवाह गर्ने पुरुषहरूको सङ्ख्या ठूलो छ । हरिवंश चिनिएका पुरुष भएका कारणले उनको नाम चर्चामा आए पनि उनीसँगै एक्ला भएका धेरै पुरुषले श्रीमतीको वर्ष दिन पुग्नुअघि नै अर्को विवाह गरिसकेका हुन सक्छन् । हामीकहाँ अलिकति उमेर भएका पुरुषका श्रीमतीको मृत्यु भएमा काजकिरियाकै अवस्थामा आफन्त र साथीहरूले भन्ने गर्छन्- हरे बिचरा… अब कसरी उसको जीवन चल्ला, यसो मिल्दोजुल्दो जोडी त खोज्नैपर्छ । एक्ला पुरुषप्रति यसप्रकारको सहानुभूति भए पनि एक्ला महिलाप्रति भने यसप्रकारको सहानुभूति रहेको पाइँदैन । महिलाको हकमा बच्चाहरू सानै भए भन्ने गरिन्छ-यी स-साना बच्चालाई हर्ुकाउन अब यसले सङ्घर्ष गर्नुपर्छ, आमा र बाबु दुवैको भूमिका निर्वाह गर्नुपर्छ । विवाह गर्ने उमेरका छोरा-छोरी भए भनिन्छ- छोराछोरी हर्ुर्किएकै छन्, अब छोराछोरीको विवाह गर्ने, नाति-नातिना हर्ुकाउने… अलमलिने बाटो छँदै छ । सोही परिस्थितिमा पुरुषलाई भन्ने गरिन्छ- विचरा बच्चाहरू सानै छन्, यिनलाई हर्ुकाउन पनि अर्को विवाह नगरी के होला र ? छोराछोरी ठूला भए भनिन्छ- बच्चाहरू हर्ुर्किए, विवाहपछि यिनीहरू सबैको आ-आफ्नो जिन्दगी हुन्छ, एकजना साथी नभई कहाँ हुन्छ ? एक्लो जीवन कति दिन बाँच्ने ? विवाह त गर्नैपर्छ ।
हाम्रो समाजमा पुरुषहरूका लागि सार्वजनिक संसार फराकिलो छ भने महिलाका लागि घरेलु संसार फराकिलो हुन्छ । सानैदेखि पुरुषहरूलाई यसरी हर्ुकाइन्छ कि उनीहरू घरको कामकाजमा पटक्कै चासो राख्दैनन्, चासो नराखेपछि जान्ने कुरै भएन । खाना पकाउने मात्र घरको काम होइन । भाँडा माझ्ने, सरसफाइ गर्ने, पूजापाठको तयारी, लुगा धुने, सुकाउने, उठाउने, थन्क्याउने, सिरकको खोल हाल्नेलगायतका झिनामसिना यति काम हुन्छन् कि ती सबै कुरा प्राय: पुरुषले गरेकै हँुदैनन् । खाने, लाउने सबै कुरामा विवाहअघि आमा र विवाहपछि श्रीमतीको भरमा बसेका उनीहरू जब एक्लै हुन्छन् के कुरा कहाँबाट कसरी सुरु गर्ने थाहै हुँदैन । प्राय: घरबाहिरै रहने हुँदा छिमेकीहरूसँगको संवादमा पनि पुरुषहरू त्यति सहभागी हुँदैनन् । घरपरिवारकै कुरामा पनि बाबुआमा भए एकैछिन बाबुआमासँग, अलिकति समय छोराछोरीसँग र झगडा गरेर होस् या माया गरेर धेरै समय श्रीमतीसँगै बिताइरहेका हुन्छन् । हाम्रा चाडपर्व र रीतिरिवाज त महिलाले धानेका छँदै छन् नातेदारहरूमा पनि कसको विवाह, कसको ब्रतबन्धजस्ता कुराहरूमा जान लोग्नेलाई प्राय: स्वास्नीले नै सम्झाउनुपर्छ । आममान्यतालाई लिने हो भने हामीकहाँ पुरुषहरू काम गर्छन् र महिलाहरू घर बस्छन् । तर त्यो ‘घर बसाइ’भित्रको महिलाहरूको काम र पुरुषहरूको कामबीच तुलनै गर्न सकिँदैन ।
पुरुषलाई बहादुर र महिलालाई कमजोरको संज्ञा दिँदादिँदै यसप्रकारको सामाजिकीकरणले पुरुषहरूलाई निकै कमजोर बनाइरहेको हुन्छ जुन कुरा उनीहरूले एकल भएपछि मात्र महसुस गर्न थाल्छन् । महिलाहरूलाई पनि एक्लोपनको महसुस नहुने होइन तर त्यो एक्लोपनबाट टाढा रहनका लागि उनीहरूसँग विकल्प धेरै छन् । प्रथमत: घरपरिवारका सबै सदस्यहरूसँग उनीहरू राम्ररी घुलमिल भएका हुन्छन्, घरमा नभए छिमेकीमै सही दु:खसुखका कुरा गर्न मानिसको खाँचो हुँदैन । विगतका कुराको सम्झनासँगै गहभरि आँसु झारेर रुन उनीहरू स्वतन्त्र छन्, जीवनमा हाँस्नेभन्दा रुने कुराले धेरै माने राख्दोरहेछ जुन कुरा पुरुषहरू खुलेर गर्न सक्दैनन्, यदि खुलेर रोइहाले भने पनि त्यसलाई राम्रो मानिँदैन । जो पायो त्यहीसँग बोल्न नहुने, सकेसम्म मनको कुरा खोल्न नहुने मान्यताले गर्दा आफू भित्रभित्रै गुम्सिँदा-गुम्सिँदै एकल पुरुषहरूमा ‘डिप्रेसन’मा जाने सम्भावना धेरै रहन्छ । एकल महिला र एकल पुरुषबीच तुलना गर्दा एकल पुरुषहरूमा यो सम्भावना बढी हुन्छ । श्रीमती मरेपछि जोगी भएर हिँड्ने पुरुषहरूको सङ्ख्या ठूलो छ तर श्रीमान् बितेका महिलाहरू जोगी भएर कमै हिँड्छन् । वर्तमान परिवेशकै कुरा गर्ने हो भने एकल महिलाका निम्ति विभिन्न फोरमहरू छन्, आफ्ना दु:खसुख बाँड्ने ठाउँहरू छन् । तर, एकल पुरुषका सवालमा त्यसप्रकारका स्थानहरू छैनन् । हाम्रो सामाजिकीकरणले पुरुषहरूका दु:ख- पीडा पोख्ने, आँसु झारेर तिनलाई भुलाउने कुराको परिकल्पनै गरेको पाइँदैन । पुरुषका लागि पत्नी बाहिर जाँदा बिदा गर्ने घर र्फकंदा स्वागत गर्ने पाले, गफगाफ गर्ने साथीसँगै सहयोगी, भान्से, सुसारे, छोराछोरी र बाबुआमाबीच सहजकर्तालगायत धेरै कुरा हो । त्यसैले पत्नीको मृत्युपछि ती सब कुरा एकैपल्ट हराउँदा उसले यति एक्लो महसुस गर्ने रहेछ कि उसका लागि घरपरिवार त के आफूलाई सम्हाल्न धेरै गाह्रो हुने रहेछ । सबैसँग बोल्ने बानी नभएकाले घरमा बुहारी मात्र भएका बेला त उनीहरूले बोल्ने मान्छेसमेत पाउँदैनन् । छोराछोरी बाहिर गएका बेला घरमा साथीहरूको फोन आएन भने घन्टौं-घन्टासम्म मौन रहनुपर्ने अनुभव कृष्ण धराबासीसँग छ । छोराछोरीको पनि संसार आफ्नै हुन्छ, इमेल, इन्टरनेट, फेस बुक, एसएमएस, टेलिफोन बाबुआमासँग को बोलेर बस्छ र ? त्यसैले पनि जीवनसाथीको आवश्यकता हुँदोरहेछ । घरभित्रको संसार पुरुषका लागि अत्यासलाग्दो हुने भएको र बाहिरभन्दा बढी समय घरभित्रै बिताइने गरेको परिप्रेक्ष्यमा एक्लोपनले सताउँदै गएपछि र बोल्ने मान्छेसमेत नपाएपछि विवाह रोज्ने कि डिप्रेसन ? एकल पुरुषहरूसँग यी दुई विकल्प बाँकी रहन्छ जसमध्ये पहिलोलाई धेरैले रोज्ने गरेका छन् । पत्रकार जसुदा प्रधानको देहावसानको करिब डेढ वर्षपछि पत्रकार पुष्पराज प्रधानको दोस्रो विवाह पनि शायद यसैको परिणाम हो । महिलामा पनि यो कुरा लागू नहुने होइन, एक्लोपन र भावनात्मक तनावले नसताउने होइन तर पुरुषको भन्दा फराकिलो घरायसी संसार र सामाजिकीकरणको प्रक्रियाले उनीहरूलाई त्यति गाह्रो अवस्थामा पुर्‍याएको देखिँदैन । विधवाका नाममा उनीहरूले पार गर्नुपर्ने अनेक मूल्य-मान्यताका जँघार भने त्यत्ति सहज छैनन् । त्यसैले हाम्रो सामाजिकीकरणको प्रक्रियामा परिवर्तन आउन जरुरी छ जहाँ महिला-पुरुष दुवैले एकैप्रकारको मूल्य-मान्यताको जीवन बाँच्न सकून् ।