चितवनमा चाडपर्व लक्षित सवारीको गति मापन

चितवनमा चाडपर्व लक्षित सवारीको गति मापन

घ.वि. सम्वाददाता
13
Shares

चितवन, नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधन तीव्र गतिमा हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गति मापनको काम सुरु गरेको हो ।

कार्यालयका प्रमुख सुरेश सुवेदीले राडर गन (तीव्र गति मापन यन्त्र)द्वारा गति मापन सुरु गरिएको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको टिकौली जङ्गलमा र नारायणगढ–मुग्लिन सडक खण्डमा यही असोज १० गतेदेखि गति मापन सुरु गरिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा हालसम्म ४६ वटा सावरी साधन चालकलाई कारबाही गरिएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ मा पहिलो पटक राडर गनमार्फत सवारीको गति मापनको काम सुरु गरिएको थियो ।

उहाँका अनुसार प्रतिघण्टा ४० किलोमिटरभन्दा छिटो गतिमा सवारी चलाएको पाइए कारबाही गर्ने गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४१ वटा सवारी दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका छन्।

कार्यालयको तथ्याङ्कअनुसार पूर्व–पश्चिम राजमार्गमा १३ वटा, नारायणगढ–मुग्लिन सडकमा सातवटा, पृथ्वी राजमार्गमा दुई वटा, सहरी सडक खण्डमा तीन वटा र भित्री सडकमा १६ वटा दुर्घटना भएका छन् । यी सडक दुर्घटनामध्ये तीव्र गतिका कारण दुर्घटना बढी भएको सुवेदीले बताउनुभयो ।