नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिएका छन् ।
सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने दवाडीको भनाइ छ । ‘नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको छ, प्रतिनिधि छनोटसँगै अरु व्यवस्थापकीय तयारीका काममा लागिरेहका छौँ’, उनले बताए ।
प्रदेश अधिवेशनमा प्रतिनिधि बनेर आउनका लागि चार केन्द्रीय सदस्यले समेत मनोनयन दर्ता गराएको एमालेले जनाएको छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेतले मनोनयन दर्ता गरेका हुन् ।
विभिन्न उपसमिति गठन र परिचालन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ । यही असोज १५ र १६ गते हुने अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रदेश अध्यक्षको आकङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएको बुझिएको छ ।
अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दवाडीले बताए ।
प्रतिक्रिया