नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर


तस्बिर : रासस

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे)सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।

यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ ।

यसैक्रममा परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ’, मन्त्री साउदको भनाइ छ । बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीहरु सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।’

ज्ञातव्य छ, अठार देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको ‘एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो ।