- विशेष प्रतिनिधि, युरोप
बेल्जियमको राजधानी ब्रसेल्समा तिजको कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ । नेपाल मिलन केन्द्र ब्रसेल्सले नेपाली दुतावासका तृतीय सचिव रमेश गैह्रेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विशेष आतिथ्यता एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले गरेकी थिइन् भने अन्य अतिथिहरुमा संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाली व्यवसायीहरुका अध्यक्ष चिरन खवास, मिलन केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम, निवर्तमान महासचिव सृजना कार्की लगायत रहेका थिए । उनीहरुले अतिथिको दिर्घाबाट मन्तब्य दिने क्रममा सबै चेलीहरुलाई नेपालको सांस्कृतिक पर्व तीजको शुभकामना दिए।
त्यस्तै, दुतावासका सचिवले सांस्कृतिक रीतिरिवाज र पर्वहरुको महत्वबारे प्रकाश पार्दै नेपाली कलाकारहरुलाई अन्तराष्ट्रियकरण गर्न पनि यी पर्वहरुको उत्तिकै महत्व रहेको बताए । सडकजामको कारण कार्यक्रममा आउन अलिक ढिला भएकोमा क्षमा माग्दै सचिव गैह्रेले राजदुतको शुभकामना संदेश पनि मौखिक रुपले सुनाए ।

औपचारिक कार्यक्रमको समापन गर्दै मिलन केन्द्रका अध्यक्ष भीम सुवेदीले आर्थिक, नैतिक तथा भौतिक रुपमा सघाउने सबै सहयोगदाता तथा स्वयम् सेवकहरुलाई धन्यवाद दिँदै पाहुना तथा चेलीहरुलाई तिजको उपलक्षमा शुभकामना दिएका थिए । अध्यक्ष सुवेदीले यस्ता कार्यक्रमहरुले नेपाली सांस्कृतिक पहिचान दोश्रो पुस्तामा हस्तानतरण गर्न सहयोग पुऱ्याउने तर्क राख्दै आफ्नो भनाइ र औपचारिक कार्यक्रमको अन्त्य गरेका थिए ।
नेपाल ब्रुसेल्स मिलन केन्द्रका उपाध्यक्ष शिव रेग्मीले सम्पूर्ण पाहुनाहरुलाई स्वागत गरे भने महासचिव राम पाण्डेले औपचारिक कार्यक्रमको प्रभावकारी रुपले संचालन गरेका थिए । औपचारिक कार्यक्रम सकिएपछि लोकगायिका मल्लिका कार्कीको सुमधुर स्वरले हल गुञ्जायमान भएको थियो । बिच बिचमा सांगीतिक चरणको कार्यक्रम संचालिका पुष्पा गुरुङले गरेको हुटिङले सांगीतिक माहोलमा अझै रौनकता थपेको थियो ।
स्मरण रहोस्, कार्यक्रममा अन्दरलेख कम्युनका पुलिस एडभाइजर अमिर सनी तथा अन्दरलेख कम्युनवाट मारी जोन भिक्टर लगायत बेल्जियमस्थित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि एवंम् सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया