एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बदलेर प्रचण्डसँग बदला लिने प्रयास गरिरहनु भएकोमा अब बदलाको भावनाबाट ग्रस्त अन्य केही नेताहरू पनि गठबन्धन बदलेर आत्मसन्तुष्टि लिने गृहकार्यमा जुटेका छन् । केपी आफै प्रधानमन्त्री बन्नसक्ने सम्भावना न्यून रहेको र, उपेन्द्र यादवलगायत अन्य ब्यक्तिहरूको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि नदेखिएकोले काङ्ग्रेस नेता डा. शेखर कोइरालालाई प्रधानमन्त्री बन्नेगरी नयाँ गठबन्धन बनाउने आन्तरिक अभ्यास केही सातायता चल्दै आएको छ । अहिले नै गठबन्धन नभत्काउँदा प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकोले शेखर कोइराला विद्यमान गठबन्धन भत्काउने निष्कर्षमा पुग्नुभएको बुझिएको छ ।
देउवा प्रधानमन्त्री बनेको अवस्थामा उनले आगामी महाधिवेशनमा पनि आफूलाई सभापति बन्न नदिने ठहर शेखर कोइरालाको छ । केही साताअघि सम्पन्न काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा आफ्नो रुग्ण स्थितिको बोध भएपछि महामन्त्री रहेका गगन थापा पनि शेखरलाई बोकेर हिँड्न तयार भएका छन् । यसअघि थापा र कोइरालााबीच पनि मनोमालिन्यको स्थिति बन्यो । थापाले प्रचण्डलाई हटाएर काङ्ग्रेस नेतृत्वमै सरकार गठनको वातावरण बनाउन पार्टीभित्र जनमत सिर्जना गर्दैछन् । देउवाविरूद्ध पार्टीभित्र चर्को दबाब पैदा गरेर काङ्ग्रेसलाई वर्तमान गठबन्धनबाट बाहिर ल्याउने र, त्यसपछि एमालेसहित एमालेका दुई स्याटलाइट पार्टीहरू (राप्रपा र रास्वपा) लगायतलाई समेटेर नयाँ गठबन्धनको सरकार निर्माण गर्ने योजना बनेको छ । काङ्ग्रेसको नेतृत्वमा सरकार गठन गर्ने कुराले आम काङ्ग्रेस कार्यकर्तालाई आकर्षित गर्ने विश्वास शेखर-गगनको टिमले गरेको छ । यसो गर्दा कदाचित काङ्ग्रेस विभाजन हुने स्थिति आयो भने त्यसनिम्ति पनि तयार रहने मानसिकता गगनहरूले बनाएको बुझिएको छ ।
अदृष्य शक्तिको आडमा बन्दै गरेको यस्तो योजना कार्यान्वयन गर्न केपी ओली, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन, गगन थापा र शेखर कोइरालालगायत सक्रिय रहेको पाइएको छ । यसबीचमा केपी ओलीसँग शेखर र गगनले पटक-पटक बैठक गरिसकेका छन् । काङ्ग्रेसलाई गठबन्धनबाट बाहिर ल्याउन सक्दा केपी-शेखर-गगनको यस्तो सपना पूरा हुन सक्नेछ । पार्टी विभाजन गराएर बाहिरिन भने शेखर र गगनका निम्ति सहज हुने देखिएको छैन । संसदीय दलमा चालिस प्रतिशत पुग्ने सम्भावना भएपनि पार्टी केन्द्रिय समितिमा कोइराला पक्षले चालिस प्रतिशत पुऱ्याउन सक्ने अवस्था अहिलेसम्म छैन ।
परिकल्पना गरिएको नयाँ गठबन्धनमा कति सांसद ?
परिकल्पना गरिएको नयाँ सत्ता-गठबन्धनमा विभाजित या सिङ्गो काङ्ग्रेस, एमाले, राप्रपा, रास्वपा र जसपाको संलग्नता रहने बुझिएको छ । काङ्ग्रेस विभाजित भएमा शेखर-गगनको पक्षमा कम्तिमा ३५ सांसद रहने विश्वास सम्बद्ध पक्षले गरेको छ । एमालेको ७६, राप्रपाको १४, रास्वपाको २१ र जसपाको १२ गरि कम्तिमा १५८ सांसद नयाँ गठबन्धनमा सामेल हुने बताइएको छ । त्यसमा अन्य केही सांसद पनि थपिने विश्वास उनिहरूले गरेका छन् । काङ्ग्रेसलाई विभाजन नगरिकन सिङ्गै पार्टीलाई एमालेसँगको गठबन्धनमा लैजाने सफलता शेखर कोइरालालाई मिल्यो भने काङ्ग्रेसमा देउवा युगको अन्त्य हुने ठानिएको छ । तर काङ्ग्रेसलाई विभाजन गर्न त्यति सहज नहुने आम धारणा रहेको छ ।
प्रतिक्रिया