तमोर-मेवा जलविद्युत आयोजनाले गऱ्यो खरिद-बिक्री दर सार्वजनिक

तमोर-मेवा जलविद्युत आयोजनाले गऱ्यो खरिद-बिक्री दर सार्वजनिक

घ.वि. सम्वाददाता
117
Shares

  • बसुन्धरा गौतम

स्पार्क हाईड्रोईलेक्ट्रिक कम्पनी १२८ द्धारा प्रबर्द्धित तमोर मेवा जलविद्युत आयोजनाले आफ्नो खरिदबिक्रिदर सार्वजनिक गरेको छ । आज विद्युत नियमन आयोगको प्रधान कार्यालय सानो गौचरण काठमाडौँमा आयोजित सार्वजनिक सुनुवाईमा सो जानकारी दिईएको हो ।

आयोजनाले पेश गरेको दर नै नेपाल विद्युत प्राधिकरणबाट सहमति जुटेपछि आज औपचारिक रुपमा सार्वजनिक गरिएको आयोजनाका प्रमुख भानेन्द्र कुमार लिम्बुले बताउनुभयो । साथै उहाँले खरिदबिक्रिदर हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षयाममा ४ रुपैयाँ ८० पैसा कायम गरिएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले अस्वभाविक रुपमा खर्च गरि विद्युतको मूल्य बढ्ने गरि लागत बढाएर प्रस्तुत गरेको थाहा पाएमा कारबाही गर्ने बताउनुभयो। उहाँले आयोगले उपभोक्ता हितको सुरक्षामा समेत ध्यान दिने भएकाले गलत विवरण पेश नगर्न समेत आग्रह गर्नुभयो।

विद्युत प्राधिकरणले कम लागतमा खरिद गरेमात्र उपभोक्तालाई पनि कम मुल्यमा बिक्रि गर्न सक्ने भएकाले अस्वभाविक खर्चमार्फत लागत नबढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै उहाँले सय मेगावाट भन्दा बढी मेगावाटका जलविद्युत आयोजनाहरुमा मात्र सार्वजनीक सुनुवाई गर्नुपर्छ भनेर आयोगले मार्गनिर्देशन बनाएको बताउनुभयो। त्यो भन्दा कम क्षमताका आयोजनाको पनि सार्वजनीक सुनुवाई हुनुपर्ने भनेर माग आएपनि त्यसले आयोजनामा ढिलासुस्ती हुने हुँदा त्यस्तो नगरिएको उहाँको भनाई छ।

यस्तै, कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना र प्राधिकरणका तर्फबाट भएको सहमतिअनुसार काम अद्दि बढ्ने बताउनुभयो। साथै उहाँले अब आयोजनाको कामलाई ढिलासुस्ती नगरी काम गर्न समेत आग्रह गर्नुभयो।

आयोजनाको कुल लागत २४ अरब ३२ करोड रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड पर्न आएको छ। आयोजना ताप्लेजुङमा अवस्थित रहेको छ भने कम्पनीको कुल पुँजी १ अर्ब १० करोड, जारी पुजीँ १ अर्ब १० करोड र चुक्ता पुँजी३४ करोड ३३ लाख ६८ हजार रुपैयाँ रहेको छ।

कार्यक्रममा आयोजनाका म्यानेजीङ डाइरेक्टर सुदिप कुमार चौधरी, नवराज राउत, किरन कुमार श्रेष्ठ, इश्वर बहादु अधिकारी, स्मृती लिम्बु र बलदेव चौधरी लगायतका सञ्चालक सदस्य, पत्रकार, स्थानियबासी र लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।