घरेलु कामदार खुला गर्न सरकार सकारात्मक, खाडीका चार देशमा भने अझै बन्देज

घरेलु कामदार खुला गर्न सरकार सकारात्मक, खाडीका चार देशमा भने अझै बन्देज

घ.वि. सम्वाददाता
26
Shares

खाडीका साउदी, कुवेत, बहराइन र ओमान बाहेक अन्य मुलुकहरूमा घरेलु कामदार खुला गर्न सरकार सकारात्मक देखिएको छ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकबाट सरकार मलेसिया तथा खाडीका कतार र संयुक्त अरब इमिरेट्स (युएई)मा घरेलु कामदार खुला गर्ने विषयमा सकारात्मक देखिएको हो।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, श्रमसचिव गृहसचिव, परराष्ट्रसचिव तथा विभिन्न गन्तव्य मुलुकस्थित नेपाली नियोगका राजदूत, महावाणिज्यदूत र सम्बन्धित मन्त्रालयका सहसचिवहरू छलफलमा सहभागी हुनुहुन्थ्यो।

अहिले घरेलु कामदार बन्देज लगाइए पनि जाने क्रम नरोकिएको र विभिन्न अवैध प्रकृया र बाटो प्रयोग गरेर जाँदा जोखिम बढेकोले गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कामदारको सुरक्षा ग्यारेन्टी हुने मुलुकमा घरेलु कामदार पठाउन सकिने छलफल भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले बताउनुभयो।

उहाँले साउदी, कुवेत, बहराइन र ओमानमा घरेलु कामदारलाई निकै जोखिम रहेका कारण यी मुलुकमा तत्काल घरेलु कामदारका लागि बाटो खुला गर्न नसकिने बताउनुभयो।

यी मुलुकमा महिलामैत्री कानुन नभएकाले घरेलु काममा जाने अधिकांश महिला नै हुने हुँदा पनि यी मुलुकमा जोखिम देखिएको उहाँले थप्नुभयो।

श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालकाअनुसार मलेसिया, युएई र कतारमा पनि सोझै कामदार पठाइहाल्ने पक्षमा भने सरकार छैन।

यी मुलुकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार श्रमिकको हकहित तथा सुरक्षा ग्यारेन्टी हुनेगरी दुई पक्षीय समझदारी गरेर पठाउन सकिने विषयमा सरकार सकारात्मक देखिएको हो।आवश्यकता हेरेर सुरक्षित मुलुकमा खुला गरौं भन्ने आफुहरुको प्रस्ताव प्रस्ताव रहेको उहाँले बताउनुभयो।

नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डन लगायत हुन्। घरेलु कामदारका रूपमा पुरूषभन्दा धेरै महिला जाने गर्छन्।