डडेल्धुराको प्रसिद्ध जोगेनी जाँत सम्पन्न

डडेल्धुराको प्रसिद्ध जोगेनी जाँत सम्पन्न


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराको प्रसिद्ध जोगेनी जाँत सम्पन्न भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका-२ रुपालमा प्रत्येक तीन वर्षमा एकपटक लाग्ने जोगेनी जाँत बिहीबार सम्पन्न भएको हो ।

दलित पुजारी रहने जाँतका रुपमा चिनिएको जोगेनी जाँतमा भस्सो खेली हातमा तरवार समेत प्रर्दशन गरिदै आएको छ । यो मेला परापूर्वकालदेखि नै मनाइँदै आएको छ । सो जाँत हेर्न र रमाईलो गर्न विभिन्न क्षेत्रबाट भक्तजनहरु आउने गर्दछन् ।

जोगेनी जाँतको कथा बाइसे-चौबिसे राज्यकालसँग जोडिने जानकारहरु बताउँछन् । भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतका अनुसार तत्कालिन राजा नागी मल्लको शासन कालमा त्यहाँका स्थानीय जाखमा बस्ने सुनी जातीका दलित समुदायहरु महाकालीमा माछा मारेर गुजारा गर्थे र ठुलो माछा परेपछि दरवारमा पुऱ्याउने चलन रहेको थियो ।

माछा हरु दरवारमा पुर्याउन लाग्दा ढुङ्गामा परिणत भएछन् र आज पनी जाँत हुने ठाउँमा ३ सय ६४ ढुङ्गा छन । ती सबै ढुङ्गामा भोग लगाउने प्रचलन छ । माछा ढुङ्गामा परिणत हुँदा निकै बेथिति भयो र त्यसपछि बेथिति शान्त पार्न पनि यो मेला आयोजना गरिएको हो ।

उक्त जाँतमा सुनी, तिरुवा र सार्की जातीले पुजारी र पुजा ब्यवस्थापनको काम गर्दै आएका छन । रजश्वला भएका महिला तथा क्रयापुत्रीहरु समेत यो जाँतमा आउन सक्छन । प्रत्येक तीन वर्षमा हुने जोगेनी जाँतमा अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिने गरेका छन् भने उक्त जात्रामा जातीय भेदभाव हुँदैन । दलित पूजारी हुने यस मेलामा भुतको पुजा गर्ने गरिन्छ । यसलाई भूतको जाँत पनि भन्ने गरिएको कतिपय जानकारहरुको भनाइ छ । जात्राको दिन तोकिएपछि गाँउबाट सार्की थरका र तिरुवा थरका परिवारले पोखलो उठाउने काम गर्दछन् । उक्त जात्राको दिन बिहानै सबै गाउँलेहरू खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन् ।

जाँतको बिशेषता भनेकै दिनभर भोस्सो खेल्ने मात्र हो । अर्थात हातमा ढाल, तरवार प्रदर्शन गर्नु यसको विशेष अर्थ महाकालीमा पुगेका वीरहरुलाई अल्झयाउनु हो । जोगेनीको मन्दिर भने त्यस क्षेत्रमा छैन, तथापि जोगेनीलाई देवीका रुपमा लिने गरिएको छ ।