सद्गुरुको भोजमा पूर्व श्री ५

सद्गुरुको भोजमा पूर्व श्री ५


विश्व विख्यात सद्गुरुको जन्मदिनको अवसरमा गत आइतबार होटल द्वारिकामा अति विशिष्ट भोजको आयोजना गरियो । आइतबार साँझ आयोजित भोजमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई निमन्त्रणा गरिएको थियो । सीमित ब्यक्तिहरूलाई दिइएको भोजमा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र पनि आमन्त्रित हुनुहुन्थ्यो ।

भनिन्छ, राजा ज्ञानेन्द्र पछिल्लो समयमा सद्गुरुबाट अत्यन्तै प्रभावित हुनुहुन्छ । सद्गुरु कैलाश मानसरोवर जाने क्रममा नेपाल आइपुगेको र यहाँ उनले अत्यन्तै कम मानिसलाई मात्र भेट दिनुभएको थियो । नारायणकाजी श्रेष्ठ लामो समयदेखि नै सद्गुरुको सान्निध्यमा हुनुहुन्छ । दुई वर्षअघि श्रेष्ठलाई प्रमुख अतिथि बनाएर पनि भारतमा एक महत्वपूर्ण आध्यात्मिक कार्यक्रमको आयोजना गरिएको थियो ।

सिमित व्यक्तित्वहरू आमन्त्रित भोजमा सद्गुरुले पूर्व श्री ५ लाई आफूसँगै राख्नुभएको थियो । अप्रत्यासित रूपमा जम्काभेट भएपछि वातावरणलाई सहज बनाउन नारायणकाजीले ‘तपाईं त निकै स्फूर्तिलो देखिनुहुन्छ नि’ भनी पूर्व श्री ५ लाई भन्नुहुँदा उहाँले ‘तपाईंहरूले फुर्सदिलो बनाइदिनुभएको छ’ भनी रमाइलो जवाफ दिनुभएको थियो ।