दोस्रो विश्व केनसीनकान कराते प्रतियोगितामा तुल्सीरामलाई दोस्रो उपाधि

दोस्रो विश्व केनसीनकान कराते प्रतियोगितामा तुल्सीरामलाई दोस्रो उपाधि


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

टोकियोमा सम्पन्न दोस्रो विश्व केनसीनकान कराते प्रतियोगितामा बनेपाका तुल्सीराम श्रेष्ठले उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो उपाधि हात पारेका छन् ।

७५ केजी तौलतर्फ समुहबिजेता बन्दै फाइनल प्रवेश गरेका तुल्सीराम जापानी खेलाडी कामाता सिनसंग पराजित भए । केनसीनकान करातेमा ७ डान रहेका तुल्सीरामले क्वाटर र सेमीफाइनलमा दुई जापानी खेलाडीलाई पराजित गरि फाइनल प्रवेश गरेका थिए । उनले उपाधीसँगै ट्रफी हात पारेका छन् ।

यस्तै, सोही प्रतियोगितामा सहभागी हुन जापान आएका खेलाडीहरु ४ डान हरिगोपाल मानन्धर ७० किलो तौल समुह, ३ डानद्वय दिपु अधिकारी ७० किलो तौल समुह र सुरेश श्रेष्ठ खुल्ला समुह सेमिफाइनलबाट बाहिरिएका थिए । पहिलो खेलमा जापानी खेलाडीलाई पराजित गरेपनि अर्को राउण्डमा जापानी खेलाडीसँग पराजित बन्न पुगे।

पाँच वर्षअघि नेपालमा सुरू भएको नेपाल केनसीनकान करातेका चर्चित खेलाडीहरू दोस्रो डव्लुएमको मार्सल आर्टस विश्व च्याम्पियनसिप तथा दोस्रो जेकेकेएफ जापान कोसीकी कराते अल जापान च्याम्पियनसिपमा सहभागि हुन आएका टोकियो आइपुगेका थिए । विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपालसहित जापान, अमेरिका, इरान, पोल्याण्ड लगायतका मुलुकका खेलाडी सहभागी भएका थिए।

प्रतियोगितामा नेपालका तर्फबाट सुरेश श्रेष्ठले अतिथि सम्मान पाएका थिए भने नेपाल शाखाप्रमुख समेत रहेका रहदेव पोतेले खेलको नियमहरू जानकारी गराएका थिए । यस्तै, नेपालकै तर्फबाट हरिगोपाल श्रेष्ठद्वारा काता प्रदर्शन गरिएको प्रतियोगितामा सहभागी नेपाल केसिसीकान करातेका अध्यक्ष कपिलदेव थापाले जानकारी दिए । टोकियो योयोगी पार्क हलमा भएको खेलमा नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न चर्चित नेपाली किकबक्सर मोहन ड्रागन, एन्फा जापानका प्रमुख शिव खडका लगायत दर्जन बढी नेपालीहरू पुगेका थिए ।