बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा पारस खड्का निर्वाचित


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् । सङ्घको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् । पारसले २३ मत प्राप्त गर्दा उमेशलाई १४ मत आसिल भएको थियो ।

पारस काठमाडौं जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुन् ।

यस्तै, २३ मत प्राप्त गरेका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गरेका थिए । यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित भए । उनले पनि २३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रज्वल सापकोटालाई १४ मत हासिल भयो ।कोषाध्यक्षमा सञ्जय बस्नेत सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित भएका छन् । महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।

मतदानमा ६ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रिय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।