‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि त्यसैको शृङ्खलाको रूपमा नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’ चलचित्र निर्माणको घोषणा गरेको हो ।
‘जात्रा’ शृङ्खलामा यस अगाडिका कलाकारहरूसँगै यसपटक हरिवंश आचार्य पनि जोडिएका छन् । ‘महाजात्रा’ भएकोले हास्य अभिनेताको रूपमा सुविख्यात आचार्यलाई फिल्ममा जोडिएको जानकारी दिँदै निर्माता रवीन्द्रसिंह बानियाँले अघिल्लो शृङ्खलाको सफलताले आफूहरूमा अझै दायित्व थपिएको प्रतिक्रिया दिए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रको छायाङ्कन दशैँलगत्तै हुने र आगामी चैत ९ मा फिल्म प्रदर्शनमा ल्याइने निर्देशक भट्टराईको भनाइ छ । नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले प्रदर्शन मिति पहिले नै तय गरिएको उनले बताए । छायाङ्कनअगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी पनि उनले दिए ।
‘जात्रा’ चलचित्रमार्फत निर्देशन यात्रा प्रारम्भ गरेकोले यो शृङ्खला आफ्नो लागि खास रहेको निर्देशक भट्टराईले खुलासा गरे भने ‘महाजात्रा’को निर्माणचाहिँ दीपेश खत्रीले गर्नेछन् ।
प्रतिक्रिया