प्रधानमन्त्री बन्ने र, प्रधानमन्त्री बन्नका लागि पार्टी सभापति बन्ने मूल लक्ष्य लिएर राजनीतिमा होमिएका गगन थापाले पुनः डा. शेखर कोइरालाको उपयोग गर्ने रणनीति अवलम्बन गरेका छन् ।
एक समय कृष्ण सिटौलालाई नेता (सभापति) थापेर महामन्त्रीको उम्मेदवार बनेका गगन सिटौलाकै कोटाबाट मन्त्रीसमेत बनाइएका थिए । सिटौलाबाट लिन सकिने र पाउन सकिने जति पाइसकेपछि गगन शेखर कोइरालातिर सरे । शेखरलाई सभापति थापेर महामन्त्रीमा चुनाव जितिसकेपछि गगन सबैलाई लल्कार्दै अघिबढेका थिए । महामन्त्री बनेपछि निजले शेरबहादुरविरूद्धको अभियान चलाउँदै आएका छन् र, यसक्रममा डा. शेखरलाई समेत ‘बाइपास’ गरेर अघि बढ्ने प्रयास यिनले गर्दै आएका थिए ।
काङ्ग्रेस संसदीय दलका नेताको निर्वाचनमा यिनले शेखर कोइरालाबाट केही हुन नसक्ने भन्दै आफैलाई देउवाविरूद्ध लड्ने हैसियतका ब्यक्तिका रूपमा प्रस्तुत गरेका थिए । उम्मेदवार बन्नुपर्ने थियो शेखरले, तर अति जिद्दी गर्दै धम्क्याउने र फकाउने गरेपछि कोइरालाले गगनलाई दलको नेतामा चुनाव लड्न मैदान खाली गरिदिएका थिए, यो कोइरालाको इच्छा नभइ बाध्यता थियो ।
उक्त निर्वाचनमा नराम्रोसँग पराजित भएपछि गगनले देउवाविरूद्ध योजनाबद्ध अभियान सुरु गरेका हुन् । गत निर्वाचनमा अन्तरघात गरेको विषयलाई लिएर पार्टीमा उजुरी परेको र, कारवाहीमा परिने भएपछि थापाले पूर्ण खड्कामार्फत देउवासँगको तनाव शिथिल तुल्याएका थिए । त्यसपछि उनी शेखरविरूद्ध पनि जुटेका थिए । केही साताअघि सम्पन्न काङ्ग्रेस केन्द्रिय समितिको खुला बैठकमा आफू रक्षात्मक स्थितिमा पुगेपछि गगन पुनः शेखरसँग मिलेर काम गर्ने रणनीतिमा जुटेका छन् । शेखरसँग नमिलिकन पार्टी सभापति र प्रधानमन्त्री बन्ने सम्भावना नदेखिएकोले गगन थापा शेरबहादुर देउवालाई परास्त गर्ने प्रयोजनका लागि शेखरलाई उपयोग गर्ने चालबाजी चल्दैछन् ।
विगतमा जे भएपनि अब आगामी महाधिवेशनमा सभापति बन्न सघाउने भन्दै गगनले शेखरलाई चक्मा दिएका छन् । शेखरसँग मिलेर देउवालाई पछार्ने र देउवालाई परास्त गरेपछि शेखरलाई पनि चित पारिदिने रणनीतिक चालबाजीमा गगन रहेको बुझिन्छ । कोइराला गगनबाट कुन हदसम्म प्रयोग हुने हुन सो भने प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया