भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको उपप्रधानमन्त्री श्रेष्ठको दाबी

भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको उपप्रधानमन्त्री श्रेष्ठको दाबी


गौर हत्याकाण्डका पीडित पक्षसँग भएको सम्झौताअनुसार अनुसन्धान जारी रहेको प्रष्टोक्ति

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारवाही गर्न कुनै ताकत र तगारोले नछेक्ने, कारवाही गरेरै छाड्ने दृढता दर्शाउनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सरिक हुन वीरगञ्ज पुग्नुभएका मन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न सरकार भ्रष्टाचारी र दलालहरूविरुद्ध निर्मम भएर लागेको बताउनुभयो ।

प्रेस सेण्टर, नेपाल (पर्सा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक परिवर्तनलाई जनताको भएपनि जनताको आजको अपेक्षा र राष्ट्रको आवश्यकतालाई मेल खाने स्तरको काम नभएको समृद्धिको प्रकृयालाई तीब्र पारेर फड्को मार्ने र आम जनताले जीवन नै यसले फेरिदियो र नयाँ जीवन पायौँ भन्ने अनुभूति गर्नुपर्छ भन्ने निष्कर्षसहित काम भइरहेको दाबी गर्नुभयो । उहाँले सुशासन अनिवार्य शर्त भएकोले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, अपराधमा प्रभावकारी नियन्त्रण ठगी लगायतका अपराध गतिविधि नियन्त्रण गर्ने र संलग्न दोषी र अपराधीहरुलई कारवाहीको प्रकृयाबाट देशमा शुसासन स्थापित गर्ने र सुशासनलाई आधार बनाउदै समृद्धिलाई तीब्र बनाउने मान्यताको आधारमा काम गरिरहेको जिकिर गर्नुभयो ।

सुराकी खर्चको नाममा मन्त्री एवम् सचिवले लिइरहेको व्यवस्थालाई खारेज गर्दै सामन्तवादको निकृष्ट अवशेषको रुपमा रहेको मिटरब्याजीलाई आयोग गठन, कानून निर्माण र जिल्ला प्रशासन कार्यालहरुबाट काम शुरु भएपछि धेरै पीडितहरुलाई न्याय दिलाउनुको साथै मेलमिलापको समेत विधि अपनाइएको जानकारी उहाँले दिनुभयो । प्रहरी संगठनभित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई समेत सम्बोधन गरिएको र कमसेकम, सरुवा गर्दा बढुवा गर्दा र पदस्थापन गर्दा मापदण्डको आधारमा गर्ने प्रकृया शुरु गरेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

संगठित अपराधको रुपमा विभिन्न ढंगबाट नक्कली सरणार्थी बनाई विदेश पठाउने काममा संलग्नहरुलाई पनि कारवाही गर्न सफल भएको र देशमा भएका जुनसुकै अपराधका घटनाको अनुसन्धानलाई निष्कर्षमा पुऱ्याउन जरैसम्म पुगेर अपराधीहरुलाई छाविनको कठघरमा ल्याउने उहाँको भनाइ थियो । अहिले भइरहेको सुन तस्करी प्रकरणको सीआईबीले छानविन गरिरहेको र सकिएपछि उच्चस्तरीय छानविन आयोग गठन हुने उल्लेख गर्दै उहाँले देशमा देखिएका गम्भीर खालका तस्करी, संगठित अपराधको पुनरावृत्ति नहोस् भन्नका लागि अहिले सरकार सचेत भएर अनुसन्धानलाई अगाडि बढाएको बताउनुभयो ।

सहकारी संस्थाहरुमा देखिएका समस्याहरुको बारेमा सरकारले गहिलो अनुसन्धान गरिरहेकोले त्यसलाई पनि समाधान गर्ने बताउनुभयो । गौर हत्याकाण्डको विषयमा गृहमन्त्री श्रेष्ठले पीडित पक्षसँग भएको सम्झौता अनुसार त्यसको अनुसन्धानलाई जारी नै राखिएको गृहमन्त्री श्रेष्ठको भनाइ थियो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनपछि जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन गर्नुभयो ।

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=2249009108622791