किन र कसरी सरुवा भए प्रहरी अधिकारी ?

किन र कसरी सरुवा भए प्रहरी अधिकारी ?


एआइजीपी श्याम ज्ञवालीलगायतको सरुवाले सबै शीर्ष नेताहरू भ्रष्टाचारमैत्री भएको पुष्टि गरेको छ । पाँच महिनाअगाडि मात्रै उपत्यका प्रहरी प्रमुखको रूपमा जिम्मेवारी लिएका एआइजिपी श्याम ज्ञवाली र अपराध अनुसन्धान महाशाखा प्रमुख मनोज केसी भ्रष्टाचारमैत्री नेताहरूको आँखामा त्यतिबेला परे जब यी दुईको विशेष सहयोगमा मात्र गृहमन्त्रीले भ्रष्टाचारविरूद्धको कारवाही कुशलतापूर्वक सम्पन्न गर्न सकेको जानकारी उनीहरूलाई मिल्यो ।

आइजिपी वसन्त कुँवर सिधा र आफ्नो विश्वासको भएकोले शेरबहादुर देउवा, केपी र प्रचण्ड उनीबाट कुनै काम हुन नसक्ने ठानेर ढुक्क थिए । आइजिपीको जानकारीबिना प्रहरीमा केही हुन नसक्ने ठानेका उनीहरू त्यसबेला झस्किए, जब आइजिपीको जानकारीबिना नै बालकृष्ण खाणलगायतका ब्यक्तिहरू पक्राउ परे । त्यसबेला पनि देउवाले श्यामलाई उपत्यका प्रहरी प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउन निकै जोडबल लगाएका थिए । तर, गृहमन्त्रीको अडानका कारण श्यामलाई त्यहाँबाट हटाउन सकिएको थिएन । तथापि देउवा दम्पतीले बारम्बार प्रचण्डमाथि श्यामलाई हटाउन दबाब दिँदै आएका थिए ।

यसरी दबाब दिने क्रममा आरजु राणाले त श्यामलाई उपत्यका प्रमुखबाट र मनोज केसीलाई अपराध महाशाखाबाट नहटाएसम्म आफूलाई निन्द्रा नलाग्ने भनी प्रचण्डलाई बताउँदै आएकी थिइन् । स्वयम् नारायणकाजी श्रेष्ठले प्रचण्डसमक्ष उभिएर ‘तपाईंलाई पक्राउ गर्ने कुनै प्रमाण फेला नपरेकोले तपाईंलाई प्रहरीले गिरफ्तार गर्नेछैन’ भनी विश्वास दिलाउने कोसिस गरेका थिए । श्रेष्ठले बारम्बार विश्वास दिलाउन खोज्दा पनि देउवा दम्पती कन्भिन्स भएनन् । उनीहरूले एआइजी श्याम ज्ञवाली र एसएसपी मनोज केसीलाई सरुवा गर्नैपर्ने भनेर एकोहोरो ढिपी लगाइरहे ।

अघिल्लो साता त शेरबहादुर देउवा, आरजु राणा र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहितले प्रचण्डलाई भेटी श्याम र मनोजलाई नहटाउने हो भने सरकारमा सँगै जान नसकिने स्पष्ट जानकारी गराए । उनीहरूको कुराले प्रचण्ड झस्किए, तत्काल गृहमन्त्री नारायणकाजीलाई बालुवाटारमा बोलाइयो र, श्याम ज्ञवाली र मनोजको सरुवा गर्न भनियो । नारायणकाजीले उक्त कुरामा असहमति जनाइ त्यहाँबाट फर्किए । त्यसपछि उनीहरू बसेर एआइजीपी श्याम ज्ञवालीलाई कार्य विभागमा पठाइदिने र भोट चपाएको भनेर चर्चामा आएका दीपक थापा नामक एआइजीपीलाई उपत्यका प्रमुख बनाउने कार्य आरजु राणाको प्रस्तावमा सम्पन्न गरियो । श्यामलाई मात्र सरुवा गरेको देखाउँदा अनेक प्रश्न उठ्ला भनेर उनीहरूले सबै एआइजीपीहरूको जिम्मेवारी परिवर्तन गरिदिए ।

प्रहरी इतिहासमै भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको निम्ति इमान्दारीपूर्वक आफ्नो कर्तब्य निर्वाह गरेका कारण सरुवा हुने उच्च प्रहरी अधिकारीमा श्याम ज्ञवाली परेका छन् । मनोज केसीलाई पनि सरुवा गरिएको छ । काठमाडौं परिसर प्रमुख दानबहादुर कार्की भने स्वेच्छाले नै सरुवा भएको बुझिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ हट्ने होइन डट्ने मानसिकतामा रहेकाले भ्रष्टाचारमैत्री नेताहरू अहिले पनि चैनले सुत्नसक्ने अवस्थामा छैनन् । बरू आफै हट्ने तर सुशासन स्थापनाको प्रयासबाट पछि नहट्ने मानसिकतामा नारायणकाजी देखिएका छन् ।