गायक प्रेमध्वजको जन्मजयन्तीमा स्रष्टा सम्मानित हुँदै

गायक प्रेमध्वजको जन्मजयन्तीमा स्रष्टा सम्मानित हुँदै


गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन् ।

‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले यहीँ जेठ २७ गते एक समारोहको आयोजना गर्दै पहिलोपटक सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्न लागेको प्रतिष्ठानका सदस्य प्रसन्नध्वज प्रधानले जानकारी दिनुभयो ।

‘सङ्गीतमा पनि पछाडि हुनेलाई सम्मान गर्ने बुबा (प्रेमध्वज)को सपना थियो । त्यसैको सुरुआत गर्न लागेका हौँ’, उहाँले भन्नुभयो । प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मानद्वारा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिङ तुलाधर र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिने प्रधानले जानकारी दिनुभयो ।

‘यो कार्यक्रम हामी निरन्तर गर्नेछौँ । हाम्रो उद्देश्य नै गीतसङ्गीतका रियल हिरोलाई सम्मान गर्नु हो’, उहाँले भन्नुभयो ।

‘किङ अफ मेलोडी’ उपनामले समेत परिचित स्व गायक प्रधानको नेपाली सङ्गीत क्षेत्रप्रतिको योगदानलाई सदा स्मरण गराउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले साङ्गीतिक क्षेत्रका दिग्गज व्यक्तिलाई सम्मान गर्नाका साथै सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष एवम् संरक्षक किरण प्रधानले जानकारी दिनुभयो ।