दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु


photo: rss

नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल-भारतमैत्री धर्मशाला तिलगङ्गामा सुरु भएको हो ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुने नेपाल योग खेलकुद सङ्घ भक्तपुरका उपाध्यक्ष चन्द्रमणि ढुङ्गानाले जानकारी दिए । उनका अनुसार उक्त योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्लादेश गरी तीन देशका खेलाडी सहभागी भएका छन् ।

सो प्रतियोगितामा सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने भनिए पनि विभिन्न कारणले अन्य देशका खेलाडी सहभागी हुन नसकेको आयोजकले जनाएको छ । उक्त स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । जसअनुसार आठदेखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष ढुङ्गानाले बताए । उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् भने नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको जनाइएको छ ।