बेल्जियमको ब्रुजमा इनास साँस्कृतिक साँझ सम्पन्न

बेल्जियमको ब्रुजमा इनास साँस्कृतिक साँझ सम्पन्न


  • सनत आचार्य, ब्रुज

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियमले ‘इनास साँस्कृतिक साँझ’ सम्पन्न गरेको छ ।

बेल्जियमको पर्यटकीय नगरी ब्रुजमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रारम्भमा इनासद्वारा नृत्य प्रशिक्षण लिइरहेका साना नानीहरु एलिना, निस्मा, डियाना र मिसिताद्वारा टुकुर टुकुर ट्वाक्क भन्ने गीतको बोलमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिका लागि दर्शकले ताली दिएर स्वागत गरे ।

त्यसैगरी लहनाले जुरायो कि भन्ने गीतको बोलमा आसु, इनासा र एन्जेलको प्रस्तुतीले साँस्कृतिक साँझलाई थप रोचक र दर्शकहरुको सक्रियता बढाएको थियो ।

त्यसपछि कार्यक्रमका मुख्य आकर्षक गायक एडविन नेम्वाङले खैरो खैरो कपाल तिम्रो गीतबाट आफ्नो प्रस्तुतिलाई अगाडि बढाए । उनले गाएका मस्की मस्की हिँडेर जानेले, गोर्खालीको छोरो हुँ म जस्ता कर्णप्रिय गीतहरुले दर्शक दीर्घामा बसेका दर्शकहरुलाई स्टेज अगाडी नाच्न बाध्य बनाएको थियो ।

पछिल्लो समयमा एडविन नेम्वाङ बेल्जियमका आसपासका देशहरुमा निकै चर्चित छन् । सानै उमेर देखि गीत-संगित क्षेत्रमा रुचि राख्ने एडविन विद्यार्थी जीवनमै भारतका केही व्याण्डहरुसँग नजिक भएर गीत गाउन शुरु गरेका थिए । गायन क्षेत्रको उत्साह र सफलताका कारण उनले सन् २०१२ मा भारतको सिलोङ्मा ‘द भिजन व्याण्ड’ को स्थापना गरेर उक्त क्षेत्रमा आफ्ना गीतहरु प्रस्तुत गर्दै हिँडे ।

त्यसपछि भने भारतमा मात्र नभइ २०१५ मा काठमाण्डूमा ‘द फ्रित ब्याण्ड’को स्थापना गरेर एल्वम समेत निकाले ।

उनी सन् २०१४ मा दक्षिणी भारतमा सम्पन्न सुर संगम गायन प्रतियोगितामा टप टेनमा पर्न सफल भए । उनको गायन यात्रा नेपाल र भारतमा मात्र सीमित रहेन, पछिल्लो समयमा उनी जर्मन, नेदरल्याण्ड र बेल्जियममा समेत लोकप्रिय छन् भने भर्खरै इनास यूरोपद्वारा जर्मनमा आयोजित गायन प्रतियोगीतामा उनी तेस्रो भएका थिए । उनै नेम्वाङद्वारा प्रस्तुत गरिएका दर्जनौँ गीतहरुले साँस्कृतिक साँझलाई रोचक बनाएको थियो ।

आफ्नो प्रस्तुतिपश्चात गायक नेम्वाङ्गले युरोपमा छरिएर रहेका कलाकारहरुको पहिचान गरी गीत-संगीतका क्षेत्रमा उनीहरुलाई प्रयोग गरे नेपालबाट कलाकारहरु मगाउनु नपर्ने र युरोपमा रहेका कलाकारहरुले पनि आफ्नो सामर्थ्य र कला देखाउन सक्ने तर्क गरे ।

इनास यूरोपका उपाध्यक्ष अर्जुन काफ्लेले कलाकार राष्ट्रका गहना भएकोले उनीहरुलाई आफ्नो प्रस्तुतिका लागि अवसर दिन आवश्यक रहेको बताए ।

इनास बेल्जियमकी अध्यक्ष विनिता कँडेलले इनास गीत संगितको क्षेत्रमा सक्रिय संस्था भएकोले आफुहरुले दोश्रो र तेश्रो पुस्तालाई यसप्रति आकर्षित गर्न शुरुमा नृत्य प्रशिक्षण दिएको र उक्त प्रशिक्षणमा नेपाली गीतको भाव र शब्द बुझाउन भाषासमेत आवश्यक देखिएकोले आफुहरुले ब्रुज क्षेत्रमा नेपाली नृत्यका साथै भाषा समेत पढाउन थालेको जानकारी दिइन् ।

अध्यक्ष कँडेलले पछिल्लो समयमा ब्रुज क्षेत्रमा नेपाली बालबालिकाहरुको नेपाली भाषा र नृत्यतर्फको क्रेज ह्वात्तै बढ्दा नृत्य प्रशिक्षण र भाषा कक्षामा थोरबहुत आर्थिक समस्या रहेको पनि बबताइन् ।

उनले यो कार्यक्रम ससाना बालबालिकाहरुको सिकाइ र आत्म विश्वासलाई अभिभावक समक्ष पस्कनु र संसारभरी छरिएर रहेका कलाकारहरुको एक आपसमा परिचित गराउने उदेश्यले पनि यो कार्यक्रम आयोजना गरेको जानकारी दिइन् ।

कार्यक्रममा नेपालबाट आएका ज्योतिषी बहङ्गम तिमल्सेनाले कला र नेपाली धर्मका विषयमा प्रवचन दिँदै नेपाल र नेपाली धर्म कलाको खानी भएकोले परदेशमा पनि यसको संरक्षणका लागि संघसंस्थाहरुले खेलेको भूमिकाको प्रशंसासहित यसलाई निरन्तरता दिनुपर्ने बताए ।

युवाहरुलाई सम्मान

उक्त साँस्कृतिक साँझमा इनास बेल्जियमले दुई जना युवाहरुले गरेको कामको उच्च मूल्याङ्गकन गर्दै ब्रुजमा नेपाली समुदायबाट पहिलो चिकित्सक (डाक्टर) बन्न सफल डाक्टर सौजन भारती र प्रवासी नेपाली समुदायबाट कानून विषयमा स्नातकोत्तर गरेर नेपाली र बेल्जिक समुदायलाई कानूनी परामर्श तथा सेवा प्रदान गर्दै आएकी जैनव दीनलाई सम्मान गरिएको थियो । यस्तै इनास बेल्जियमद्वारा गायक एडबिन नेम्वाङ पनि सम्मानित भएका थिए ।