युरोपमा नेवारी परम्पराअनुसार पहिलो पटक सामुहिक बेल विवाह

युरोपमा नेवारी परम्पराअनुसार पहिलो पटक सामुहिक बेल विवाह


  • सनत आचार्य, बेल्जियम

बेल्जियममा नेवारी भाषा, कला र संस्कृतिको सम्वर्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्रियाशील सामाजिक संस्था पासा पुँचले युरोपमा पहिलो पटक नेवारी परम्पराअनुसार सामुहिक इही अर्थात् बेल विवाह कार्यक्रम सम्पन्न गरेको छ ।

पासा पुँचका निवर्तमान अध्यक्ष भीम जोशीका अनुसार विवाह कार्यक्रममा बेल्जियम र जर्मनका गरी १० जना कन्याहरुको सहभागिता थियो भने कार्यक्रममा गुरुको रुपमा बेलायतबाट एवेन्द्र बज्राचार्यलाई निम्त्याइएको थियो ।

जोशीले इही नेवार समुदायको सभ्यताको एउटा मुख्य अंग भएकोले यो कार्यक्रम आफुहरुले सामुहिक रुपमा आयोजना गरेको र यसबाट अभिभावकहरुको समय र लगानी समेत बचत भएको जानकारी दिए ।

‘हाम्रै समुदायका कतिपय साथिहरु यसकै लागि नेपाल जानुपर्ने बाध्यता पर्ने गरेकोमा बेल्जियममै कार्यक्रम आयोजना गर्दा यसले प्रवासमा नेवारी सभ्यताको जगेर्ना त गर्यो नै, यसले अभिभावकहरुलाई विभिन्न दृष्टिकोणबाट सहज र सरल पनि तुल्यायो’– जोशीले बताए ।

उनका अनुसार सामुहिक इही युरोपमा पहिलो पटक सामुहिक रुपमा सम्पन्न गर्न पाएकोमा आफुहरु अझ बढि उत्साहित भएको र यसबाट कर्ताका अभिभावकहरू अत्यन्त खुशी भएका छन् ।

संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बेल विवाह हिन्दु र बुद्ध धर्मालम्वीहरुले सामुहिक रुपले एउटै ठाउँमा ल्याएर सम्पन्न गरिने परम्परा भएको उल्लेख गर्दै, बेल भनेको भगवान शिवको प्रतीक भएको हुँदा रजस्वला हुनुपूर्व स–साना बालिकाहरुको भगवानसँग गरिने प्रतीकात्मक विवाह भएकोले परदेशमा पनि नेवार समुदायले यो सभ्यतालाई निरन्तरता दिएको जानकारी दिए ।

पासा पुँचका पूर्वअध्यक्ष तथा सल्लाहकार रजनी प्रधानले इही नेवारी परम्पराअनुसार छोरी प्रथम रजस्वला हुनु भन्दा पहिले बेलसँग विवाह गर्ने परम्परा छ र, लामो समयदेखि युरोपमा बसोवास गर्ने नेवार समुदायमा यो परम्परा अनुसार इही गर्न आवश्यक भएको हुँदा समुदायसँगको सल्लाह र आग्रह अनुसार यो कार्यक्रम सामुहिक रुपमा आयोजना गरेको प्रधानको भनाइ छ । सल्लाहकार प्रधानले आगामी दिनमा आवश्यकता अनुसार यो कार्यक्रमलाई नियमितता प्रदान गरिने जानकारी पनि दिइन् ।

गत सोमबाार आयोजित कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र बेल्जियममा बस्ने नेवार समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।