एमालेमा खेल्दै प्रचण्ड

एमालेमा खेल्दै प्रचण्ड


केपी मात्र होइन एमालेका कुनै पनि नेतालाई दुखाएर आफ्नो भूमिका खोज्ने सोच नदेखिएकोले विद्या भण्डारीले बाममोर्चाको नेतृत्व लिने अग्रसरता दर्शाउनुहुने सम्भावना देखिन्न । तथापि, प्रचण्डले बिष्णु पौडेलमार्फत विद्यालाई अघिसार्ने खेल खेल्न छोड्नुभएको छैन ।

प्रधानमन्त्री प्रचण्ड एमालेमा आन्तरिक अन्तरविरोध चर्काउन र आफ्ना निम्ति अनुकुल परिस्थिति निर्माण गर्न लागिपर्नुभएको छ । उहाँ नेकपा पुनर्स्थापित गरेर त्यसको नेतृत्व लिने ताकमा रहनुभएको बुझिन्छ । केपी शर्मा ओलीलाई किनारा लगाएपछि मात्र आफ्नो सपना साकार हुने भएकोले प्रचण्ड बृहत बाममोर्चा बनाएर अघि बढ्ने र, केपीको भूमिकालाई दरकिनार गरिदिने योजनामा रहनुभएको छ । एमालेभित्र विष्णु पौडेललाई आफ्नो अनुकुल ठान्नुहुने प्रचण्ड पछिल्लो समयमा विद्या भण्डारीलाई समेत उपयोग गर्ने प्रयास गर्दै हुनुहुन्छ । उहाँ विद्या भण्डारीको नेतृत्वमा बाममोर्चा बनाउने योजनामा रहनुभएको छ ।

केपी ओलीपछि एमालेको नेतृत्व कसले लिने भन्ने विषयमा एमालेभित्र एकप्रकारको अन्यौल कायम छ । केपीको कार्यशैली र ब्यवहारबाट केपीकै हितैषीहरू हैरान भएका छन्, तर केपीलाई सम्मानित ढङ्गले बिदाइ गरेको अवस्थामा नेतृत्व कसलाई हस्तान्तरण गर्नु उपयुक्त हुन्छ भन्नेमा एमालेभित्र मतैक्य देखिन्न । केपीले आफ्नो सबैभन्दा निकटमा शङ्कर पोखरेल र बिष्णु रिमाललाई राख्नुभएको छ, उहाँ हरेक निर्णय यिनै दुई जनासँगको परामर्शमा गर्ने गर्नुहुन्छ भन्ने विश्वास केपीका अन्य हितैषीहरूमा रहेको छ । पोखरेल र रिमाल पार्टीका युवापुस्ता र दोस्रो पुस्ताका सिनियर नेताहरूमाझ अलोकप्रिय छन् । उनीहरू केपीपछिको नेता आफैंलाई ठान्छन्, तर उनीहरूलाई नेता स्वीकार गर्न एमालेको कुनै पनि पुस्ता तयार देखिँदैनन् । ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, महेश बस्नेत र हिक्मत कार्कीलाई केपीको निकटतम नेताका रूपमा लिइन्छ । उनीहरू पोखरेल र रिमाललाई नेता मान्दैनन् र, पोखरेल र रिमाल पनि अरु कसैलाई नेता मान्ने मानसिकतामा छैनन् । एकले अर्कोलाई अस्वीकार गर्ने स्थिति भएकै कारण केपी आफ्नो उत्तराधिकारीको विषयलाई लिएर चिन्तित रहँदै आउनुभएको छ । प्रचण्डसँगको गठबन्धन कायम गर्न सकेको भए केपी दुई वर्षपछि प्रधानमन्त्री बन्ने र पार्टीको विशेष महाधिवेशन गराएर विद्या भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिँदै आफू संसदीय दलको नेता एवम् पार्टीको सम्मानित जिम्मेवारीमा रहने सोचमा रहनुभएको थियो । महिनादिन नपुग्दै गठबन्धन भत्किएपछि केपीको योजना बदलिएको महसूस निकटवर्तिहरूले गरेका छन् ।

केपीले शङ्कर लगायतलाई उत्तराधिकारी बनाउने सङ्केत देखिएपछि दोस्रो पुस्ताका नेताहरूमा छट्पटी बढेको छ । यीमध्येका बिष्णु पौडेल प्रचण्डको निकट रहेर काम गर्दैरहेको बताइन्छ । पौडेलले विद्या भण्डारीसँग पनि नियमित सम्पर्क र सम्बन्ध बढाएको जानकारहरूको भनाइ छ । विद्या भण्डारीसँग पौडेलको निकटतालाई उपयोग गर्दै प्रचण्डले केपीविरूद्ध विद्यालाई उपयोग गर्ने योजना बनाएको बुझिएको छ । विद्याको नेतृत्वमा बामपन्थीहरूको बृहत मोर्चा बनाउने र केपीलाई ओझेल पार्ने योजना प्रचण्डको छ ।

तर विद्या भण्डारी एमालेको नेतृत्व लिनकै लागि भनेर कुनै किसिमको चलखेल गर्ने मानसिकतामा हुनुहुन्न । केपी मात्र होइन एमालेका कुनै पनि नेतालाई दुखाएर आफ्नो भूमिका खोज्ने सोच नदेखिएकोले विद्या भण्डारीले बाममोर्चाको नेतृत्व लिने अग्रसरता दर्शाउनुहुने सम्भावना देखिन्न । तथापि, प्रचण्डले बिष्णु पौडेलमार्फत विद्यालाई अघिसार्ने खेल खेल्न छोड्नुभएको छैन । विद्यालाई मोर्चाको अध्यक्ष बनाउँदै अन्ततः नेकपा ब्युँताउने र पुनः कम्युनिष्ट आन्दोलनको एकलौटी नेतृत्व हाशील गर्ने रणनीतिक योजनामा प्रचण्ड रहनुभएको छ । प्रचण्डको यस्तो प्रयास सफल हुने अवस्था नरहेपनि केपी र विद्याबीच असमझदारी तथा अविश्वास बढाउने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन । एमालेमा केपीपछि विद्या भण्डारीबाहेक अरू कसैले सर्वमान्य नेतृत्व दिनसक्ने ठानिएको छैन । भण्डारी आफ्नो इच्छाले भन्दा पनि बाध्यताले एमालेको नेतृत्व लिनुपर्ने अवस्थातर्फ धकेलिँदै हुनुहुन्छ । त्यसैले केपीको विकल्पका रूपमा विद्यालाई उपयोग गर्ने प्रचण्डको रणनीतिक योजना सफल हुने सम्भावना अहिलेसम्म देखिएको छैन ।