बहिनीलाई हिराको हार मिल्दा दिदी दङ्ग !

बहिनीलाई हिराको हार मिल्दा दिदी दङ्ग !


file photo

प्रधानमन्त्री प्रचण्डले आफ्ना दुई छोरीहरूलाई राजनीतिमा स्थापित गर्न अनेक प्रयत्न गरिरहनुभएको छ । ठूली छोरी रेणु दाहाललाई दुईपटक भरतपुर महानगरको मेयर बनाएर एउटा हैसियत बनाइदिएपछि सानी छोरी गङ्गालाई आफूसँगै राखेर ‘राजकाज’को काम सिकाउँदै हुनुहुन्छ । क्याबिनेट बाहेकका आफ्नो सहभागिता रहने हरेक निर्णयमा प्रचण्डले छोरी गङ्गालाई सामेल गराउँदै आउनुभएको छ । जेठ १७ देखि २० गतेसम्म भएको भारत भ्रमणमा पनि प्रचण्डले गङ्गालाई साथै राख्नुभएको थियो ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँगको विशेष बैठकमा भारतीय विदेशसचिव विनय मोहन क्वात्रालाई सहभागी गराइएको थियो भने नेपालको तर्फबाट प्रधानमन्त्रीसँगै गङ्गा दाहाल उपस्थित थिइन् । डोभालसँगको सम्वाद ‘सौहार्द्रपूर्ण विवाद’का बीच सम्पन्न भएको बताइन्छ । चीनसँग सैन्यसामाग्री खरिदको विषयलाई लिएर डोभालले चर्को असन्तुष्टि प्रकट गरेको बुझिएको छ । त्यसरी भारतीय सुरक्षा सल्लाहकारसँग गम्भीर वार्तालाप चलिरहँदा साथमा रहेकी गङ्गाले मोबाइल खेलाउने, कपाल मिलाउने र साडी सम्हाल्ने जस्ता ‘महत्वपूर्ण’ क्रियाकलाप गरेर समय गुजारेकी थिइन् । तिनै गङ्गालाई भारतीय एक उच्चाधिकारीका तर्फबाट अत्यन्तै मूल्यवान उपहार मिलेको जानकारी उनकी दिदी रेणुकी एक सहेलीमार्फत घटना र विचारलाई प्राप्त भएको छ ।

प्राप्त जानकारीअनुसार भारतबाट फर्किएपछि आफूलाई प्राप्त उपहारबारे गङ्गाले दिदी रेणुसँग शेयर गरेकी थिइन् । पिता प्रधानमन्त्रीसँगको विशेष भेटवार्तामा सामेल एक उच्च भारतीय अधिकारीले करिब ४५ लाख पर्ने हिराको हार आफूलाई उपहारका रूपमा दिएको जानकारी गङ्गाले दिदी रेणुलाई दिएकी छन् । बहिनीलाई लाखौँ मूल्यपर्ने उपहार मिलेपछि दिदी रेणु पनि दङ्ग परेको बताइन्छ । गङ्गालाई उधृत गर्दै रेणुकी सहेलीले बताएअनुसार बुबा प्रचण्डलाई पनि निकै महँगो उपहार मिलेको छ । तर प्रचण्डलाई के-कस्तो उपहार प्राप्त भएको थियो, सो भने स्पष्ट हुन सकेको छैन ।