शालिन सोविताको साहसी कदम

शालिन सोविताको साहसी कदम


गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाडौं-२ बाट रास्वपाको प्रतिनिधित्व गर्दै प्रत्यक्षतर्फ निर्वाचित प्रतिभाशाली एवम् सुन्दरी सांसद सोविता गौतमले सुटुक्क गरेको विवाह यतिबेला चर्चाको सन्दर्भ बनेको छ । चर्चित युवा सांसदले किन सुटुक्क बिहे गरिन् भन्ने खुल्दुलीले मात्र नभइ उनले रोजेको दुलाहा पात्रको कारण यो सन्दर्भले चर्चा पाएको हो ।

हुन पनि राजनीतिमा उच्च सम्भावना बोकेकी २८ वर्षीया सोविताले पहिले नै विवाह भइ दुई सन्तानसमेत पैदा गरिसकेका पात्रसँग वैवाहिक सम्बन्ध किन जोडिन् होला ? त्यसमाथि सोविताको विद्वताको अघिल्तिर स्कुलेशिक्षा पनि पूरा नगरेको भनिएका रामु उर्फ गृहेन्द्र घिमिरेको वैवाहिक जीवनमा कतै यो कुराले नै भविष्यमा अड्चन पैदा गर्ने त होइन ? यस्ता खालका जिज्ञासालाई सोविताका प्रशंसकहरूले चर्चा गर्ने गरेका छन् ।

एकथरिले गृहेन्द्रको विगत कोट्याउँदै ‘चोरीका गाडी किनबेचको धन्दा गर्ने पात्रसँग सोविताले लगनगाँठो कस्न नहुने थियो’ भन्दै प्रवचन दिने गरेका छन् भने कोहीचाहिँ ‘प्रचण्डलाई मामा साइनो लगाएर धन बटुल्न सफल गृहेन्द्रको पैसाकै कारण सोविता उनप्रति आकर्षित भएकी हुन सक्ने अनुमान लगाएका छन् । तर फगत पैसाकै लागिचाहिँ सोविताजस्ती अब्बल सुन्दरीले गृहेन्द्रसँग लगनगाँठो कसिन होला भनी पत्याइहाल्न सकिन्न । लामै समयदेखि दुईबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ । यतिबेला जापानमा रहेका सोविता गृहेन्द्र जोडी कुनै निम्तोमा गएका भएपनि हनिमुनको रूपमा जापानयात्रालाई उपयोग गर्न पाएकोमा प्रशंसकहरूले खुशी व्यक्त गरेका छन् । तर आफ्नो पार्टी तथा पार्टीका नेताहरुलाई समेत जानकारी नदिइ घरमा नारायणपूजा लगाएको अवसर पारेर उनले सुटुक्क किन बरमाला पहिऱ्याइन्, बुझ्न सकिएको छैन ।

सार्वजनिक सेलिब्रेटी सोविता गौतमले विवाह गरेको तस्बिर सार्वजनिक भएपछि जे-जे चर्चा चले पनि विवाह गर्नु मानिसको स्वतन्त्रताभित्रै पर्दछ । यस विषयमा अनावश्यक चासो राख्नु र बढाइचढाइ चर्चा गर्नु उपयुक्त होइन । तर, सार्वजनिक व्यक्ति, सांसद पद धारण गरेको व्यक्ति र जनताले धेरै आशा गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुको नाताले सोवितासँग लगनगाँठो कसिएको रामु उर्फ गृहेन्द्रको विगतको धन्दाका कारण एक प्रकारले विवादमै परेकी छन् सोविता । कोसँग विवाह गर्ने भन्ने कुरा नितान्त उनको व्यक्तिगत कुरा भएपनि हाल देशका प्रधानमन्त्री रहेका प्रचण्डका ‘नक्कली भान्जा’ नाता देखाएर भइरहेको चर्चाको कारण पनि विषयले विवाद निम्त्याएको हो ।

प्रचण्डसँग कसरी यति नजिक हुन सके भन्ने कुरा नखुले पनि गृहेन्द्र खासमा प्रचण्डको असली भान्जा नभएको तथ्य त खुलिसकेकै छ । उनी ललितपुरको ग्वार्खोबाट भित्र लुभु-ढुंगिन आसपासका घिमिरे भएको बताइन्छ । काठमाडौंको नयाँबानेश्वरमा घर भएका प्रचण्डकी कान्छी बहिनीको नाम भजाउँदै प्रचण्डसँगको नक्कली भान्जाको नाता बनाएर दुरुपयोग गर्दै आएको कतिपयले दाबी गरेका छन् । अमेरिकासमेत बसेर फर्किएका घिमिरेको घर चितवन मंगलपुरमा रहेको छ ।कुनैबेला प्रचण्डपुत्र प्रकाशसँग पनि यिनले हिमचिम बढाएका थिए भनी चिन्नेजान्नेहरू बताउँछन् ।

खासमा गृहेन्द्र घिमिरे अमेरिबाट भागेर नेपाल आएको दाबी गरिएको छ । घिमिरेले ग्रिष्मा ब्रोडकास्टिङ नामक कम्पनी चलाएका छन् । ग्रिष्मा ब्रोडकास्टिङ नामक एजेन्सीमार्फत एनसेलसँगको सहकार्यमा काम गरेका उनी अमेरिकाबाट नेपाल फर्केपछि अपनाएको नयाँ पेशा यही नै भएको बताइन्छ । शालिन सोविताको साहसी कदम

जे होस्, रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा सोविताको नाम आउँछ । शालिन सोविताको साहसी कदमको रूपमा यो सन्दर्भलाई लिइएको छ । यस्ती होनहार युवानेतृको राजनीतिक भविष्यमाथि कुनै विवादित पात्रका कारण कालो बादल नमडारियोस्, तमाम प्रशंसकहरूको कामना यही छ ।