प्रतिभाशाली कविका सशक्त कविता

प्रतिभाशाली कविका सशक्त कविता


✍ रामविक्रम थापा

नेपाली कविताका पाठकमाझ कवि राजेश ढुंगाना (झापा) कुनै नौलो नाम होइन । विगत करिव चार दशकदेखि गरिमा, मधुपर्क, कविता, समष्टि, अभिव्यक्ति, बगर, भानु आदि जस्ता चर्चित साहित्यिक पत्रपत्रिकाहरूमा कवि राजेशका कविताको स्वाद पाठकहरूले पाइसकेका छन् । फुटकर प्रकाशनबाटै आफ्नो कविताको सत्ता स्थापित गरिसकेका कवि राजेश ढुंगानाको पहिलो पुस्तकाकार कृतिका रूपमा सद्य प्रकाशित कविता सङ्ग्रह हो- ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ । ६ हरफे मसिना मुक्तके कवितादेखि ५ पृष्ठसम्मको आयाममा फैलिएका ५५ थान सुकिला कविता सङ्ग्रहित यस कविता सङ्ग्रहमा अधिक कविताहरू लघु आयामका भएर पनि धारिला र मनाकर्षक छन् । सटीक, सार्थक, स्थापित र ओजपूर्ण यी काव्यावाजहरूले मानवचेतना र मनमस्तिष्कलाई आन्दोलित बनाएर बेगिलो तरङ्ग पैदा गरिदिन्छन् । पत्रकार राजेश ढुंगानाको काव्यसाधनाले सिद्धि प्राप्त गरी नेपाली साहित्यलाई परिपक्व कविता प्रदान गर्न सफल भएको अनुभूत हुन्छ ।

‘मान्छे’बाट शुभारम्भ भएर ‘आधुनिक ताजमहल’ शीर्षकको कवितामा पुगेर अन्त्य हुने यो कविता सङ्ग्रहमा जिन्दगी, मन, सत्य-असत्य सम्भावना, परिचय, किन ?, आइमाई र मुटु, कानो, अर्थ, पाप र धर्म, गौतम बुद्ध, मन्त्रीज्यूलाई प्रश्न जस्ता लघु आयामका चोटिला र मर्मस्पर्शी कविताहरू पढ्न पाइन्छ । मेरो वर्तमान, मुस्कुराएको आँसु, भूटान, टेकनाथ र जिग्मे, आफ्नै मृत्युको समाचार, मुक्तताको गीत, आँसु, मुटु र मान्छे, रक्सी, आफ्नै मृत्युको पर्खाइमा, सुकिला मान्छेको सामूहिक मृत्यु जस्ता लामा कविताहरू खारिएका, माझिएका र सफाचट पारिएका छन् ।

आजको मान्छेको समसामयिक यथार्थ बोल्ने यी कविताहरूले वर्तमान विकृति र विसङ्गतिप्रति धारिलो प्रहार गरेका छन् । सरलताभित्र पनि प्रभावकारी विम्ब र उत्कृष्ट काव्यशिल्पले उच्च भावका अब्बल कविताहरूको सिर्जना हुन सक्छ भन्ने कुरालाई कवि भूपीले जस्तै राजेश ढुंगानाले पनि प्रमाणित गरिदिएका छन् । उन्मुक्ति र स्वतन्त्रताप्रेमी कविको आजका नेता र वर्तमान राजनीतिप्रति मोहभङ्ग र वितृष्णा छ ।

‘मेरो वर्तमान’ कवितामा कवि लेख्छन्-
अहिले पनि
मेरो वर्तमानको बस्तीमा रात परेको छ
खलनायक पसेको छ ।

धेरैले अक्षर र शब्दको दुरूपयोग गर्दै कविताको नाममा के-के लेखे, र अझै लेखिरहेछन् । राजेशलाई यो आरोप लगाउने ठाउँ छैन । यिनका कविताहरू जीवन्त, सशक्त, सन्देशमूलक र जीवनवादी भएर नै स्वनामधन्य साहित्यकार डा. ध्रुवचन्द्र गौतमले भूमिकामा सम्मति जनाउँदै कविलाई शुभकामना दिनुभएको छ । कलाका अतिरिक्त कविको अनुभव, अनुभूति, दृष्टिकोण, चिन्तन-मनन र मन्थनले पनि कविताको आलोक निर्भर हुने गर्छ । फराकिलो सोचाइका कवि ढुंगानाको आफ्नै दृष्टिकोणले वैयक्तिक जीवनदर्शन भएकाले पनि कविताहरू यति उदात्त र उज्याला देखिएका हुन् । कविको मनको गहिराइबाट सिर्जित यी कविताहरू पाठकको मनको गहिराइमै पुगेर तोडिलो स्पर्श गर्न सक्षम छन् ।

अपूर्ण, अपरिभाषित र रहस्यमय मान्छे स्वयम्मा सिङ्गो ब्रह्माण्ड भएको वकालत गर्ने कवि जीवनप्रति आशावादी छन् र जीवन एवम् मान्छेलाई नै आफ्ना कवितामा उपस्थित गराउँछन् । मान्छेको मान्छेभन्दा ठूलो अर्को शत्रु नभएकाले नै मान्छेले मान्छे मारिरहेको छ भन्दै पृथ्वी कुनै दिन निर्जन बस्तीमा रूपान्तरण हुने परिकल्पना गर्छन् । प्रत्येक कविताको पुछारमा सिर्जना–मिति र प्रकाशित भएको पत्रिकाको विवरण उल्लेख गरिएको भए समयका हिसाबले पाठकलाई कविताको अर्थबोध गर्न सहज हुने थियो । कविता विधाको पठनीय र सङ्ग्रहणीय कृति सुकिला मान्छेको सामूहिक मृत्युलाई मुकुन्द ढुंगानाले प्रकाशित गरेका हुन् ।