महिलाको नाममा भू-स्वामित्व बढ्दै

महिलाको नाममा भू-स्वामित्व बढ्दै


मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ ।

महिलालाई अचल सम्पत्तिको मालिक बनाइ जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू-स्वामित्व बढ्न थालेको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकलरूपमा भू-स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय ५० महिलाको भने श्रीमान्बीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिए ।

बाइस हजार छ सय ५४ महिला रहेको रसुवामा क्रमिकरूपले महिलाको नाममा भू-स्वामित्व बढ्दै गएको छ । महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।

छब्बीस जातजाति रहेको रसुवाको कूल जनसङ्ख्या ४६ हजार छ सय तथा ८९ रहेको छ । तीमध्ये ३२ हजार एक सय २७ तामाङ समुदायको बाहुल्यता रहेको तयाङ्कले देखाएको छ । यस्तै ६९ दशमलव ६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार एक सय ३१ परिवारले आवास निर्माण गरेको बताइएको छ ।

रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा नौ सय ७३ महिला एवं एक हजार तीन सय २९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवा र नुवाकोट हेर्ने तथ्याङ्क कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको हो ।