गृहमन्त्रीलाई अनुरोध- सीमानामा देशको इज्जत राखौँ

गृहमन्त्रीलाई अनुरोध- सीमानामा देशको इज्जत राखौँ


सीमानामा राज्यको उपस्थितिलाई भौतिक, मानसिक, मनोवैज्ञानिक सम्पूर्ण रूपमा यति मजबुत पारियोस् कि सीमावरिपरि बस्ने/नबस्ने सम्पूर्ण नेपालीलाई मेरो देश भौगोलिक रूपमा बाहेक अरु कुरामा कहीँ-कतै पनि सानो छ भन्ने महसूस नहोस् ।
✍ बबिता बस्नेत

त्यसो त मुलुकको इज्जत जहाँ, जस्तो अवस्थामा पनि राख्नुपर्छ, तर सीमानामा हाम्रो अवस्था निकै नाजुक भएकाले यहाँ सीमानाको मात्रै कुरा गर्न लागिएको हो ।

दुई ठुला मुलुक भारत र चीनसँग हाम्रो देशको सीमाना जोडिएको छ । भारतसँग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न ठाउँमा हाम्रो सीमाना जोडिएको छ । कति ठाउँमा औपचारिक र कति ठाउँमा अनौपचारिक सीमानाबाट ओहोरदोहोर गर्न सकिने अवस्था छ । अङ्ग्रेजी र नेपाली गरेर भारतसँग हाम्रो चार ‘टी’ को सम्बन्ध छ- रोटी, बेटी, इलेक्ट्रिसिटी, कनेक्टिभिटी । नजिकको सम्बन्धमा रहेकाहरूसँग स-साना कुरामा ठाकठुक भएझैँ भारतसँगको हाम्रो सम्बन्धमा पनि बेला-बेलामा सीमानासँग जोडिएका समस्याहरूसँग सम्बन्धित ठाउँका बासिन्दाहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहनुपर्छ । कतिपय समस्या हाम्रा कारणले पनि भएका होलान् । लागुऔषध, नक्कली नोट, चेलीबेटी बेचबिखनलगायतका अपराधिक कारोबार धेरै अघिदेखि रोक्न सकिएको छैन । वर्षा लागेपछि बाँध र भेलका समस्यालाई लिएर पराइ सुरक्षाकर्मीसँग लड्नुपर्ने अवस्थामा रहेका सीमाबासीको संख्या ठुलो छ । समस्या हामीले पनि दिएका छौँ । बिहारमा मदिरा निषेध गरिएको छ । पारीपट्टि रक्सी निषेध गरिएको छ भनेर वारि हामीले रेष्टुरेन्टहरू खोलिदिएका छौँ । पारिबाट मानिसहरू पैदल हिँडेर या गाडी लिएर वारि खानपिन गर्न आउँछन् र उता फर्किन्छन् । हाम्रो सानोतिनो ब्यापारले उनीहरूको उद्देश्यमाथि असर परिरहेकै होला ।

भारतसँग झैँ चीनसँग हाम्रा धेरै सीमानाका छैनन्, तर जति छन् तिनको अवस्था कस्तो छ हामीमध्ये धेरैलाई थाहा छैन । कहिले बन्द हुन्छन्, कहिले खुल्छन् । दुवै देशसँग सामान उता लानेभन्दा यता ल्याउने सम्बन्ध नै छ । चीनसँग उत्तर पहाडी र हिमाली जिल्लाहरू सीमाना जोडिएका छन् । तातोपानी या खासा बजारसँग धेरै नेपालीहरू परिचित भएपनि उपल्लो मुस्ताङ, केरुङलगायत चीनसँग मात्रै जोडिएका १३ जिल्लाका सीमानाका बारेमा धेरै जानकारी हुँदैन । कतिपय नाकामा पुग्ने बाटो पनि छैन । ती सीमानामा हाम्रा सुरक्षाकर्मीहरू कसरी बसिरहेका छन्- खासै चासो पनि छैन ।

सन् २०१३ मा फाउण्डेसन फर डेभलेप्मेन्ट म्यानेजमेन्ट (एफडीएम) ले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘जेण्डर एसिस्मेन्ट’ गरेको थियो । डा. शैलेन्द्र सिग्देलले उक्त अध्ययनको नेतृत्व गर्नका लागि भन्नुहुँदा मैले त्यसलाई आफ्नो सुरक्षा क्षेत्रका बारेमा जान्न पाउने एउटा अवसरको रूपमा लिएकी थिएँ । सशस्त्र प्रहरीको अध्ययनको क्रममा भारतसँग जोडिएका विभिन्न नाका र चीनसँग जोडिएको तातोपानी गइयो । तातोपानी नाकामा हाम्रा प्रहरी सुरक्षाकर्मीलाई बस्ने ठाउँसम्म पनि थिएन । एउटा अति सामान्य होटल सञ्चालन भइरहेको घरको कोठामा कोचिएर बस्नुपर्ने, पालो-पालो सुत्दा पनि ठाउँ नपुग्ने, न खाना राम्रो न बस्ने सुविधा । कतिपय अवस्थामा पाल टाँगेर बस्नुपर्ने ! भोटेकोशीको पुल तरेर उताको सीमाना पुग्नेबित्तिकैको सुविधासम्पन्न ठुलो कार्यालय, आफ्नै कम्पाउण्डमा बन्दुक लिएर टक्क उभिएका सुरक्षाकर्मी, भौतिक संरचनादेखि सुरक्षाकर्मीको आत्मविश्वाससम्मको तुलना नै गर्न नसकिने अवस्था । आत्मविश्वासका लागि भौतिक संरचना, सुविधा, अधिकार, सम्मान धेरै कुरा जोडिनुपर्दोरहेछ भन्ने कुरा मैले जिन्दगीमा पहिलोपल्ट दुई देशको सीमानामा रहेका सुरक्षाकर्मीको अनुहारमा पढ्न पाएकी थिएँ । धेरैजसो सीमामा बस्ने हाम्रा सुरक्षाकर्मीको अवस्था निरीह लागेपछि यो विषयमा धेरै ठाउँ बोलेँ तर सुनुवाइ भएन । सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आफ्नो प्रतिवेदनको प्रस्तुति गर्दैगर्दा सीमामा रहेका महिलाप्रहरीको मात्र नभइ पुरुषप्रहरीको अवस्था पनि सहज नरहेको र तत्काल सुधार गर्नुपर्ने सुझाव दिएपछि तात्कालिन महानिरीक्षक कोषराज वन्तले आफूले पनि यसलाई गम्भीरतापूर्वक लिएको तर गृहमन्त्रालयलाई बुझाउन नसकिएको बताउनुभयो ।

सीमाना देशको इज्जतसँग जोडिएका भूमि हुन् र, सीमानाको सुरक्षाका लागि उभिने सुरक्षाकर्मी राज्य ! हरेक सीमानामा दह्रो, आत्मविश्वासी र सम्मानित राज्यको उपस्थिति जरुरी हुन्छ । ट्वाइलेट जानु पर्ला भनेर पानी नखाइ उभिनुपर्ने अवस्थाबाट हाम्रा सुरक्षाकर्मीहरूले अब मुक्ति पाउनुपर्छ ।

हरेक सीमानामा हाम्रा सुरक्षाकर्मीहरूको आत्मसम्मानित उपस्थिति आवश्यक छ । सुरक्षाकर्मी खडा हुनु भनेको राज्यको उपस्थिति हो । राज्यको अवस्था, मान, इज्जतसँग जनताको सम्मान जोडिएको हुन्छ । त्यसका लागि कम्तिमा आफ्नै सुविधासम्पन्न संरचना हुन आवश्यक छ । धेरै ठाउँमा ट्वाइलेट नभएर यता जाउँ कि उता जाउँ भनी हाम्रा सुरक्षाकर्मीहरूले भौँतारिनुपर्ने अवस्था छ । सुरक्षाकर्मीले मात्र होइन दुई वर्षअघि उपल्लो मुस्ताङस्थित चीनको सीमानामा हेलिकोप्टरमा पुगेका तात्कालिन अर्थमन्त्री जनार्दन शर्माले समेत घारीतिर गएर पिसाब फेर्नुपर्ने अवस्था आएछ । सीमानामा ट्वाइलेटसहितको आफ्नै संरचना भएको भए देशका अर्थमन्त्रीले झोरघारी खोज्दै हिँड्नु पर्ने थिएन । अचम्म त के भने आफैले त्यस्तो अवस्था भोगेपछि पनि सीमानामा आफ्नै भौतिक संरचना निर्माणका लागि कुनै पहल गरिएन, बजेट छुट्याइएन । सीमामा आवश्यक या सीमासम्बन्धी सबै कुरा केन्द्र सरकारले निर्णय गर्नुपर्ने भएकाले प्रदेश सरकारले गर्ने अवस्था रहँदैन, गर्न मिल्दैन । सङ्घीय सरकारले निर्णय गरिसकेपछि भने प्रादेशिक सरकारहरूले त्यसको ब्यवस्थापन गर्न सक्छन् ।

अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका राम्रा कामको प्रशंसा भइरहेको छ । भुटानी शरणार्थी मुद्दामा लिएको अडानदेखि बिना हस्तक्षेप कार्य सम्पादनका आधारमा भएको प्रहरीको सरुवा बढुवासम्म चर्चामा छन् । उहाँले हाम्रा सीमानाको अवस्थाको बारेमा जानकारी लिएर हरेक सीमानामा आफ्नै भौतिक संरचनाका लागि पहल गर्नु जरुरी छ । प्रक्रिया के हो, कसरी, कुन मन्त्रालयसँग संयोजन गरेर गर्नुपर्ने हो गरेर यो कार्यलाई गम्भीरतापूर्वक अगाडि बढाइयोस् । सीमाना देशको इज्जतसँग जोडिएका भूमि हुन् र, सीमानाको सुरक्षाका लागि उभिने सुरक्षाकर्मी राज्य ! हरेक सीमानामा दह्रो, आत्मविश्वासी र सम्मानित राज्यको उपस्थिति जरुरी हुन्छ । ट्वाइलेट जानु पर्ला भनेर पानी नखाइ उभिनुपर्ने अवस्थाबाट हाम्रा सुरक्षाकर्मीहरूले अब मुक्ति पाउनुपर्छ । सीमानामा मात्र नभइ सबैतिर नै भौतिक संरचना मजबुत हुनुपर्छ, तर सीमानामा चाहिँ थप मजबुत हुनुपर्छ । सीमानामा राज्यको उपस्थितिलाई भौतिक, मानसिक, मनोवैज्ञानिक सम्पूर्ण रूपमा यति मजबुत पारियोस् कि सीमावरिपरि बस्ने, नबस्ने सम्पूर्ण नेपालीलाई मेरो देश भौगोलिक रूपमा बाहेक अरु कुरामा कहीँ-कतै पनि सानो छ भन्ने महसूस नहोस् ।