पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने


कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने जानकारी दिए । ‘प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ’, उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने धारणा राखे । अहिले कर्णालीका मौलिक कथाले पर्दामा स्थान पाइरहेका उल्लेख गर्दै उनले कर्णालीका कथालाई पर्दासम्म ल्याउन आफ्नो सहयोग र सहकार्य रहने आश्वासान दिए ।

आगामी बजेटमा नेपाली चलचित्रलाई समावेश गर्न सम्बन्धित निकायसँग छलफलसमेत गरेको जानकारी दिँदै उनले भने, ‘बजेटमा सम्बोधन नभएको गुनासो उठिरहँदा यस क्षेत्रलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन । मैले अर्थमन्त्रीज्यूसँग भेटेर पनि यसबारे जानकारी गराएको छु । छिट्टै केही सम्बोधन हुनेमा आशावादी छु ।’

पत्रकार सम्मेलनमा पूर्वरा‍ज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्तलगायत उपस्थित थिए ।