‘नेपालमा साइकल’को कथा

‘नेपालमा साइकल’को कथा


सन्दर्भ : विश्व साइकल दिवस

इतिहास
✍ सुनिल उलक
साइकलको नेपाल प्रवेश

साइकल आविष्कारको करिव सय वर्ष पुग्न लाग्दा सन् १९१० मा भारतमा रहेको अङ्ग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्र्याएको थियो । यी साइकलहरू विभिन्न प्रयोजनको लागि भित्र्याइएको थियो । भारत भित्रिएको यिनै साइकलमध्ये केही नेपाल पनि भित्रिएको अनुमान छ । त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा-नातिहरूको लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ ।

श्री ३ वीर शम्शेरका वैैज्ञानिक छोरा गेहेन्द्र शम्शेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै वैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशम्शेर भने नेपालमा साइकल चढ्ने पहिलो ब्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौ : उहिले र अहिले’ मा शूरशम्शेर नै साइकल भित्राउने ब्यक्ति रहेको अनुमान गरेका छन् । उनको अनुमानमा सन् १९०३ लेखिएको छ । तर भारतमा अंग्रेज सरकारको समयमा पहिलो खेपमा ३५ हजार थान साइकल भित्र्याएको नै सन् १९१० मा भएको हुँदा सोही समय नै नेपालमा पनि साइकल भित्रिएको सहजै अनुमान गर्न सक्छौँ । यसपछि भारतीय ब्यापारी सुधीर कुमार सेनले भारतमा साइकलको ब्यबसायको शुरुवात नै गरेका थिए । उनले बेलायतको प्रख्यात साइकल रेलै साइकल (Raleigh cycle) सँग मिलेर सेन रैले साइकल उत्पादन समेत गरेका थिए ।

सन् १९१० अर्थात् वि.सं. १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्र्याउने शूरशम्शेर सौखिन राणा सन्ततिमा पर्दथे । श्री ३ वीर शम्शेरले आफ्ना छोरा गेहेन्द्रशम्शेरको लागि बनाइदिएको काठमाडौंको सबैभन्दा बढी सुविधासम्पन्न दरबार सेतो दरबार छोरा गेहेन्द्रको युवाकालमा नै देहान्त भएपछि यो दरबार शूरशम्शेरको हकमा आएको थियो । सौखिन शूरशम्शेरले त्यतिबेला नै मूक चलचित्र (silent movie) को ठूलो संग्रह सेतो दरबारमा राखेका थिए । साथै उनी अत्तरका सौखिन थिए, जसले गर्दा उनको विभिन्न किसिमका अत्तरहरूको संग्रह पनि थियो । बाजे धीरशम्शेर लखनउमा आक्रमणमा जाने समय नवावको दरबारबाट लिएर आएका विभिन्न अत्तरहरू पनि उनको संग्रहमा राखिएको थियो । तर वि.सं. १९९० को बैशाखमा सेतो दरबारमा भएको भयानक आगलागीमा सेतो दरबार मात्र होइन उनको संग्रहमा रहेको कतिपय महत्वपूर्ण बस्तुहरू पनि जलेर नष्ट भए । भनिन्छ- उनको संग्रहका अत्तरहरूको संग्रहमा आगलागी हुँदा त्यसको बास्नाले काठमाडौं शहर नै सुगन्धित भएको थियो ।

यसरी शूरशम्शेरको समय केवल सौखिन राणाहरूबीच मात्र सीमित रहन पुगेको साइकल यसको केही समयपछि नै विश्वयुद्धको चपेटामा विश्वका प्रमुख राष्ट्रहरू पुगेपछि नेपाल पनि अछुतो रहन सकेन । नेपालका तत्कालिन महाराजा श्री ३ चन्द्रशम्शेरले पनि अंग्रेजको सहायतार्थ नेपाली युवाहरूलाई गोर्खाली सैनिकको रूपमा युद्धमा होमिन बाध्य बनाए । साथै नेपाली सेनालाई पनि छोरा बबरशम्शेरको नेतृत्वमा प्रथम विश्वयुद्धमा पठाए । युद्धको कारण २ लाख नेपालीहरू होमिए भने करिव २० हजारले जीवन गुमाए । करिव–करिव त्यति नै संख्यामा अंगभंग भएर स्वदेश फर्किए ।

यसरी युद्धले नेपाली युवाको मृत्यु भए तापनि फर्किएका नेपाली लाहुरेले भने तत्कालिन समयमा नै करिव १५ करोड रुपैयाँबराबरको भारतीय कम्पनी तथा विभिन्न जिन्सी भित्र्याएका थिए । यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजा आदि थिए । यसको साथै कतै कतै आफूले युद्धमा प्रयोग गरेको साइकल पनि लिएर आएको उल्लेख गरेको भेटिन्छ ।

प्रथम विश्वयुद्धमा सैनिक प्रयोजनको लागि विशेष प्रकारको आर्मी साइकलको पनि उत्पादन शुरुवात भएको थियो । साइकलमा नै बन्दुक राख्न मिल्ने गरि बनाइएका साइकलहरूमा सैनिकहरू लाम लागेर हिँड्दथे । छिटो पुग्न सकिने र सहजै आक्रमणको लागि तैयार हुन सक्ने हुँदा पनि साइकल युनिट नै खडा गरिएको थियो । ५० देखि १०० माइलसम्मको दूरीमा दैनिक हिँड्न सकिने हुँदा पनि साइकल युनिटको महत्व प्रथम विश्वयुद्धमा अत्यधिक भएको थियो ।

प्रथम विश्वयुद्धको समाप्तिपछि स्वदेश फर्किएका केही गोर्खाली सैनिकहरूले वि.सं. १९७५–७७ तिर नेपालमा साइकल भित्र्याएको अनुमान गरिएको थियो । वि.सं. १९८१ मा आइपुग्दा भने राशनब्यापारी अष्टनारायणले असन कमलाक्षीको आफ्नै घरमा आफ्नो बुबाको नाम जोडेर पञ्चनारायण-अष्टनारायण साइकल पसल नै खोले । अष्टनारायण कामको सिलसिलामा कलकत्ता पुग्दा उनले बजारमा देखिएको साइकल किनेर नेपालमा पनि बिक्री गर्ने अठोट गरे । उनले कलकत्ताबाट ६ वटा बेलायती हर्क्युलस साइकल किने । कलकत्ताबाट रक्सौलसम्म तथा रक्सौलबाट अमलेखगञ्जसम्म रेलमा ती साइकल आइपुगे । अमलेखगञ्जबाट लरीमा भिमफेदी ल्याएर त्यहाँबाट बोकेर काठमाडां ल्याइयो । खर्चसर्च जोडेर एउटा साइकलको १०० रुपैयाँ पुग्न गयो । त्यतिबेला एउटा ठूलै अफिसरको तलव बल्ल महिनाको १०० हुन्थ्यो । हत्तपत्त कसैको साइकल किन्ने आँट आउँदैनथ्यो । त्यसैले ६ वटा साइकल बिक्न निकै लामो समय लाग्यो । करिव १ वर्षमा साइकल सबै बिकेपछि फेरि कलकत्ताबाट नै साइकल ल्याइयो । यसपटक भने रोपवे बनिसकेको हुँदा भिमफेदीदेखि भरियालाई बोकाउनु परेन । यसरी फिलिप्स, रेलै, हर्कुलस साइकल ल्याएर बेच्न थालेका थिए ।

खानेकुराको ब्यापार गर्न पञ्चनारायणको परिवारमा छोरा अष्टनारायणले साइकल बेच्न थाल्दा निकै गाली पनि खाएका थिए । तर पछि भने अष्टनारायणका छोरा तीर्थनारायणले पनि साइकल ब्यवसायलाई नै निरन्तरता दिए । तीर्थनारायणपछि त्रिरत्न मानन्धरले पनि ब्यवसायलाई निरन्तरता दिए । तीर्थनारायणका छोरा त्रिरत्नको समयमा भने साइकल आम मानिसको लागि आवश्यक भइसकेको थियो । बाबुलाई साइकल ब्यवसायमा होमिएका त्रिरत्न त मेकानिकल इञ्जिनियरिङ अध्ययन गर्न पोलाण्ड नै पुगे । बाजेको समयदेखिको नाममा भने केही छोटो बनाएर पञ्च-अष्टनारायण साइकल पसल राखे । निकै ठूलो सपना बोकेर साइकल ब्यापारमा होमिएका त्रिरत्नको अचानक २०४० सालमा मोटरसाइकल दुर्घटनामा देहान्त भयो, जसले गर्दा ब्यवसायमा ब्यवधान आयो । छोराहरू सानै भएको हुँदा काकाहरूसहितको संयुक्त परिवारले नै ब्यबसाय धानिरहँदा पनि निरन्तरता नहुने हो कि भन्नेसम्म पुग्यो । तर अहिले त्रिरत्नका कान्छा छोरा तिरेकले युवाहरूको रोजाइसँग भिज्दै PANC Cycle नामबाट ब्यवसायलाई अझ बढी बिस्तार गरेका छन् ।

अन्ततः तीर्थनारायणका नाति तिरेकले साइकल ब्यवसायलाई निरन्तरता दिइरहेका छन् । पञ्चनारायण अष्टनारायण साइकल पसल यो लामो नामलाई छोट्याए र, शुरुका अंग्रेजी अक्षर PANC लाई मिलाएर PANC Bike नाम राखे । नयाँ पुस्ताका नयाँ सोचसँगै अब भने तैयारी साइकल मात्र होइन आफूलाई मन पर्ने सामग्री राखेर नयाँ साइकल पनि बनाउने गरिन्छ ।

प्रस्तुत तस्बिरमा अष्टनारायणको साइकल पसल देख्न सकिन्छ । २०३२ सालको कार्तिकमा नेवारी नयाँ वर्ष न्हू दयाँ भिन्तुना निस्कने तैयारीमा साइकल चालकहरू देख्न सकिन्छ । साथै इनसेटमा माथि बायाँतर्फ प्रथम विश्वयुद्धमा सहभागी साइकल युनिटका जवानहरू देख्न सकिन्छ ।