हज यात्रीको पहिलो टोली मक्का मदिना प्रस्थान गर्दै

हज यात्रीको पहिलो टोली मक्का मदिना प्रस्थान गर्दै


साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सय ६८ जनालाई राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ । विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृहमन्त्रालयले जनाएको छ । हजयात्रीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन् । नेपालमा मुस्लिमको जनसङ्ख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवं गृह मन्त्रालयका उपसचिव विश्व कुइँकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हज यात्रीको छनोट हुने गर्दछ ।