सौन्दर्यकर्मी चिनु गुरुङ उत्कृष्ट महिला उद्यमीबाट सम्मानित

सौन्दर्यकर्मी चिनु गुरुङ उत्कृष्ट महिला उद्यमीबाट सम्मानित


वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशबाट महिला उद्यमशितलामा अतुलनिय योगदान पुऱ्याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सम्मान गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठमाडौंमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पुऱ्याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखि सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजसम्ममा तीन हजार भन्दा बढी गृहिणी तथा युवायुवतीहरुलाई आवश्यकताअनुसार निःशुल्क र सशुल्क तालिम दिइसकेकी छन् । सौन्दर्यको बजारमा एक हजार भन्दा बढी त अहिले उनैको तालिममार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा बढीले स्वदेश तथा विदेशमा रोजगारी पाएका छन् ।

सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकबाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग ब्युटीपार्लर एण्ड एकेडेमी प्रालिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय बनाएर सञ्चालन गरेकी छन् भने पोखराभित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा बिस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् । उनी नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षका रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् ।

सम्मानपछि मन्तव्य दिँदै गुरुङले भनिन्- ‘सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनुपर्छ । महिलाहरुले अब आफूलाई माग्ने होइन दिने हैसियतमा विकास गर्नु पर्छ ।’ नेपाली बस्तुको उत्पादन गरि आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।