शरणार्थी प्रकरण र मापसे चेकिङ !

शरणार्थी प्रकरण र मापसे चेकिङ !


कुनै समय बीपीजत्तिकै दुःखकष्ट भोगेका बीपीजत्तिकै त्याग तपस्या बोकेका हाम्रो नजरमा भुटाने बीपी ठानिएका रिजाल किन, कसरी यति तल झरे ? यसको जवाफ पाउन सकेको छैन ! रिजाल समातिएर झापाबाट काठमाडौं पुऱ्याउँदाको पीडा, छुटेर आउँदाको भयानक खुशी अनि अहिले मानव बेचबिखनको कुख्यात काण्डमा मुछिएपछिको अर्को पीडा थपिँदा दिमाग कक्टेल हुनपुगेको छ ।
✍ ज्ञानमणि भुर्तेल

राजेश ढुंगानाले कुनै समय काङ्ग्रेसका एउटा त्यागी नेतालाई बालुवाटार परिसरमा हप्काउँदै बोलेको शब्द- तपाईंलाई त नरिबल ठानेको थिएँ, सुपारी निस्किनु भो ! कुरा प्रष्ट थियो- पञ्चायतकालको उनको त्याग-तपस्या क्रमशः नगदेबालीमा परिणत हुँदैथियो । उनले पञ्चायतइतर मञ्चमा कमाएको ख्याती धुमिल हुँदैथियो ।

टेकनाथ रिजाल !
भुटानी मानवअधिकारवादी नेता ! भुटानका बीपी भन्ने उपनाम समेत पाएका !

०४५ सालको जेठ-असारको समय हुनुपर्छ, छिमेकी तुलसी काफ्लेको घरमा कुनै अपरिचित पाहुना देख्दा खास अनौठो लागेन । तुलसी सरको घरमा आसामतिरबाट आउने पाहुनाको लर्को नै हुन्थ्यो । तिनैमध्ये कोही सोच्यौँ हामीले ! त्यस समय क्याम्पसमोडको हाम्रो घरमा तलका चार कोठा क्याम्पसेविद्यार्थीका लागि भाडा लाइन्थ्यो ! तुलसी सरले एउटा कोठा कसैका लागि माग्दा दाजुले स्वीकृति दिनुभो ! तुलसी सरले भनेपछि को ? कसका लागि ? सोध्नु आवश्यक ठानिएन !

केही दिनपछि तुलसी सरले रिजालका बारेमा सम्पुर्ण कैरन गर्दै गोप्य राख्नुपर्ने आदेश दिनुभो, जसलाई हामीले पालना ग¥यौँ । तर हामीलाई जुन कुरा लुकाउनु भनिएको थियो रिजाल आफैं सबैलाई बताउँदै हिँड्न थालेपछि त्यसलाई हामीले उहाँको सरलता बुझ्यौँ !

तुलसी सरबाट उहाँका बारेमा धेरथोर बुझिसकेका हामीले रिजाल हाम्रो घरमै आएपछि उहाँ र नेपालीभाषी भुटानेमाथिको थिचोमिचो र भुटाने–राजनीतिबारे अझ प्रष्ट हुँदैगयौँ । उहाँ बताउँदै जानुहुन्थ्यो, हामी सुन्दै जान्थ्यौँ ! अनि कृष्णप्रसाद कोइरालादेखि बीपीसम्म मुलुकबाट खेदिएको इतिहास स्मरण गर्दै हामीले बीपी जयन्तीमा रुख रोप्दादेखि नगर सफाइका नाममा झाडु लिएर निस्किँदासमेत पञ्चायती प्रहार खेप्नुपरेको घटना सम्झिन्थ्यौँ !

केही समयपछि भद्रपुर छोडेर बिर्तामोड बस्ने रिजालको भाव बुझेपछि दाजुले ‘यसबारे भाउजुसँग सल्लाह गर्नुभो त दाइ ?’ भन्दा ‘भाउजूलाई यस्ता कुरा किन सोध्नु ?’ भन्ने जवाफलाई हामीले उहाँको मनमौजी ताल बुझ्यौँ ! बिर्तामोड अझ असुरक्षित हुने र उता नजानु बरु म गिरिजा प्रसाद कोइरालासँग भेट गराउने वातावरण बनाउँछु भनी गरिएको आग्रह लत्याउँदै बिर्तामोड बस्न आएर पानपसल चियापसल जतासुकै ‘म त फलानो हुँ’ भन्दै हिँड्न थालेपछि जे खतरा सोचेको थियोे त्यै भो- बिर्तामोडबाट काठमाडौं… काठमाडौबाट थिम्पु ! जीवनमा दुखित हुनुपर्ने घटनामध्ये रिजालको भुटान सुपुर्दगी पनि एक थियो हाम्रालागि । तर दुखित हुनुसिवाय अरु उपाय पनि थिएन हामीसँग ।

रिजाल उता थुनिनुभो, यता हामी बहुदल ल्याउन चिच्यायौँ ! रिजाल बारेको सोधिखोजी जारी नै रह्यो तर खासै भरपर्दो जानकारी हुन्थेन । उडन्ते खबरमै चित्त बुझाइन्थ्यो । जेलमा हुनुहुन्छ भन्ने चैँ प्रष्ट थियो ।

ठ्याक्कै तिथिमिति याद भएन ! दाजुले माइतीघर चोकको मेरो पसलमा फोन गरेर आदेश दिनुभो- पसल बन्द गरेर तयार बस् । तेरो लागि एउटा सरप्राइज छ ! के सरप्राइज ? भन्ने मेरो जिज्ञासामा तयार भएर बस न भन्दै ताला लाइदिनुभो दाजुले । केहिबेरमा ट्याक्सी आएर पसल अघि रोकियो ! म ट्याक्सीभित्र छिरेपछि मेरो सरप्राइज त्यहीँभित्र थियो- टेकनाथ रिजाल ! झम्टेर अँगालो मार्न पुगेँ म । निकै बेर एकाअर्कालाई च्यापेर भावुक भयौँ । कुपोन्डोलआसपास कुनै रेस्टुरेन्टभित्र बसेर निकैबेर एकाअर्काका रसाएका आँखा हेरेर बिताइयो ।

रिजालका बारेमा यी र यस्तै धेरै कुरा ‘निर्वासन’ नामक पुस्तकमा उल्लेख गर्नुभएको छ । यता नेपालमा बहुदल आइसकेपछि राजनैतिक माहोल अलिक सहज भइसकेको र उता रिजालसमेत जेलबाट छुटेर शरणार्थी जीवन बिताउन यतै पसेपछि फेरि हामीसँग जोडिन पुग्नुभो ! उहाँको बसोबास/सुरक्षा प्रबन्धदेखि नेपाल सरकारबाट हालसम्म प्राप्त भत्ताका लागि दाजुले अथक प्रयत्न गर्नुभो ! जो अहिले मासिक एक लाखको हाराहारीमा पुगेको छ । यसमा गिरिजाप्रसाद कोइरालाको प्रमुख भूमिका रह्यो । बीचमा रिजालले आफ्नो जेलजीवनबारे लेख्ने इच्छा जाहेर गरेपछि दाजु दिनरात नभनी लागिपर्नुभो ! निकै मेहनतपछिको परिणाम पछि जन्मेको पुस्तकले ‘निर्वासन’ नाम पायो !

खोला तरेपछि लौरो बिर्सिनु मानवीय दुर्गुणभित्रै पर्छ । रिजालको केही आर्थिक गतिविधिमाथि शङ्का लागेपछि दाजुले उहाँसँगको सामीप्यता घटाउँदै लानुभो । दाजुको निधनपछि त रिजालले ‘कुनै समय भरत भुर्तेलले आफ्नो लागि काँधमात्रै हैन सम्पुर्ण शरीर नै थापेको थियोे’ भन्ने चट्टक्कै बिर्सिनुभो ! भरत भुर्तेलको परिवार छोरीहरू कहाँ ? कसरी ? कता छन् ? सामान्य सोधपुछसमेत हराएर गयो । रिजालसँगको यस्तो गाढा नाता केही समयअघिसम्म बिर्तामोडको सडकमा भेट हुँदा- ‘भरतजीको निधनले यति पीडा भयो कि उहाँको परिवारसँग भेट्ने हिम्मत नै भएन’ भन्दै भावुक हुनुमै सीमित भयो ।

पछिल्लो चरणमा रिजाल शरणार्थी प्रकरणमा मुछिएपछि मेरो मन-मस्तिष्क सबैले हार खायो । गडबडीको हल्का आभास भए तापनि यो हदसम्मको अपराध त मेरो कल्पनाबाहिर थियो ! बहुदल आगमनपछि अझ गणतन्त्र नामको गाँडतन्त्र थपिएपछि हाम्रा नेता निकम्मापनको चुचुरोमा विराजमान थिए नै । गतिछाडापनको दौडमा रेकर्ड नै राखिसकेका छन् । नालायक सावित भइसकेकाछन् । तर कुनै समय बीपीजत्तिकै दुःखकष्ट भोगेका बीपीजत्तिकै त्याग तपस्या बोकेका हाम्रो नजरमा भुटाने बीपी ठानिएका रिजाल किन ? कसरी यति तल झरे ? यसको जवाफ पाउन सकेको छैन ! रिजाल समातिएर झापाबाट काठमाडौं पुऱ्याउँदाको पीडा, छुटेर आउँदाको भयानक खुशी अनि अहिले मानव बेचबिखनको कुख्यात काण्डमा मुछिएपछिको अर्को पीडा थपिँदा दिमाग कक्टेल हुनपुगेको छ ।

हो, रिजाल कहीँ न कहीँ कुनै न कुनै रूपमा चुकेकै छन् ! खाण/राण/बाण अनेकौँ नामधारी ‘टोले जड्याहाँ’का लहैलहैमा लागेर पूरै बोतल बोकेर तन्काउन बसेका ओली देउवा दाहाल जस्ता ‘राष्ट्रिय जँड्याहा’सँग बसेर चियर्स गरेकैछन् ! दुई-चार पेग तन्काएकै छन् । पूरै बोतल तन्काउने जँड्याहा ट्राफिकको नजरमा नपर्नु र दुई पेग तन्काउने मापसेमा पर्नु त हाम्रो नियति नै हो । दुई पेगको लालचले रिजाललाई मापसे फन्दामा पुऱ्याएकै हो ।

खोज्दै जाने हो भने अहिले पनि झापामा रिजाललाई मामा भन्दै हिँड्ने भान्जाभान्जी, काका नाता लाउँदै हिँड्ने भतिजा-भतिजी बग्रेल्ती भेटिन्छन्, जो पहिले आत्मा बेचेर अमेरिका जान खुट्टा उचालेर बसेका थिए अहिले आफ्नै कपाल समातेर बसेका छन् ।

खैर छोडौँ !

सुतेका मान्छे काटेर सत्तामा पुगेपछि उनैलाई माला लाएर स्वागतगान गाउने हामीजस्ता निकम्मा गाइने बस्ने मुलुकमा यो शरणार्थी प्रकरण नौलो लागेता पनि अनौठो चैँ पक्कै हैन । ठूलो पनि पक्कै हैन ।

तर,
आफ्नै मुलुकमा आफ्नै नेता नामका ‘ब्वाँसा’बाट बेलाबेला बेचिँदै ठगिँदै बलात्कृत हुँदै रहेकोमा विदेशीभूमिबाट आएर हाम्रै शरणमा रही हामीलाई नै बेच्न सक्ने तागत चैँ कसले प्रदान गऱ्यो ? अनि टिभी पत्रकारकै सामुन्ने हाम्रै मुलुकवासीउपर जाइलाग्ने हिम्मत कताबाट प्राप्त भो ? यिनै हाम्रै निकम्मा नेताको आशीर्वादबाट हैन र ?

यी र यस्तै प्रकरण सुन्दा हेर्दा भोग्दा राजेश ढुंगानाको ‘तपाईंलाई त नरिबल ठानेको थिएँ, सुपारी निस्किनुभो’ कथन गलत छ त ?