ओलु विश्वविद्यालयबाट विद्यावारिधि गरेर रुकुमका सुवोध गौतम बने वैज्ञानिक

ओलु विश्वविद्यालयबाट विद्यावारिधि गरेर रुकुमका सुवोध गौतम बने वैज्ञानिक


  • विशेष सम्वाददाता, फिनल्याण्ड

सुदूरपश्चिम नेपालको अति विकट जिल्ला रुकुमको चौरजहारीमा जन्मेका सुवोध गौतमले फिनल्यान्डको ओलु विश्वविद्यालयबाट ‘अक्सिग्लुतारेट’ रोगसम्बन्धी विषयमा विद्यावारिधि गरेर वैज्ञानिक भएका छन् । ‘अत्यन्तै दुर्लभ विषयमा एक नेपाली वैज्ञानिक बनेका छन् । यो नेपाल र नेपालीकै लागि अत्यन्त गौरवको विषय हो’- सम्मान कार्यक्रममा पुगेका पत्रकार ओम शर्माले आफ्नो खुशी यसरी ब्यक्त गरे ।

गौतमले पाँच वर्षसम्म उक्त विश्वविद्यालयकी प्राध्यापक मिल्लिहार्जु, रुड बान्क र माट्स पाउल्सनको समुहमा रहेर गरेको ‘जैविक गतिविधिमा इन्जाइमको विविध भूमिकाले प्राणवायुमा पार्ने असर र त्यसबाट मस्तिष्कको रक्त प्रवाहमा हुने अवरोध– ‘ब्लड ब्रैन ब्यारियर बीबीबी’ बारेमा गरेको गहन खोजको सफलतापछि विद्यावारिधिको उपाधि पाएका हुन् ।

गौतमले ‘डिजिज एसोसियटेड रोल्स अफ टु अक्सोग्लुटरेट डिपेन्डेन्ट डाइअक्सिजेनेसेस ट्रान्समेम्बरेन पि फोर एच एन्ड लिसिल हाइड्रिक्सिलेस थ्री’ विषयमा लेखेका महत्वपूर्ण तीन विधाका अनुसन्धनात्मक लेख विश्वप्रसिद्ध वैज्ञानिक जर्नलहरूमा प्रकाशित भइसकेका छन् । विश्वविद्यालयको छनौट समितिले छानेको जर्मनीका ड्रेसदेन विश्वविद्यालयका प्राध्यापक डा. बेन बिलक्सले गौतमको अनुसन्धानपत्रमा गरेको प्रत्यक्ष प्रश्नोत्तर र सार्वजनिक सुनुवाइपछि विश्वविद्यालयले उनलाई उक्त उपाधि प्रदान गरेको हो । विश्वविद्यालयको लिना पालोट्ति सभाहलमा भएको सार्वजनिक सुनुवाइमा अनुसन्धानमा संलग्न ब्यक्तिहरू, प्राध्यापकहरू र विद्यार्थीहरू प्रत्यक्ष सहभागी थिए भने भर्चुअल माध्यमबाट पनि गौतमको अनुसन्धानका बारेमा चासो राख्नेहरू जोडिएका थिए ।

कोरियाको चुङनाम राष्ट्रिय विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका गौतम हाल ओलु विश्वविद्यालयमै अनुसन्धान क्षेत्रमा काम गरिरहेका छन् ।

स्मरण रहोस्, ओलु विश्वविद्यालय (फिनिश : Oulun yliopisto) फिनल्याण्डको सबैभन्दा ठूलो विश्वविद्यालय हो, जुन ओलु शहरमा अवस्थित छ । यो जुलाई ८, १९५८ मा स्थापित भएको थियो । विश्वविद्यालयमा लगभग १३ हजार विद्यार्थी र दुई हजार नौ सय कर्मचारीहरू छन् । विश्वभरबाट २१ अन्तर्राष्ट्रिय मास्टर कार्यक्रमसमेत उक्त विश्वविद्यालयमा प्रस्तावित छन् ।

ओलु विश्वविद्यालय अझै पनि विश्वव्यापी विश्वविद्यालयहरूको शीर्ष तीन प्रतिशतभित्र पर्दछ र फिनल्याण्डमा अध्ययन गर्न तथा काम गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय विकल्प हो । ओलु विश्वविद्यालय उच्च शिक्षा गर्न चाहने घरेलु आवेदकहरू र अन्तर्राष्ट्रिय अनुसन्धान तहका विद्यार्थीहरूको लागि एक लोकप्रिय विश्वविद्यालय हो ।