…करूणाले पनि स्थान पाउनुपर्छ !

…करूणाले पनि स्थान पाउनुपर्छ !


रेशम रिहा भए । अब प्रतिशोधलाई सबैले बिर्सनुस् र, रेशमले पनि जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून् । यसको लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ ।
✍ जेपी आनन्द

कैद मिनाह र आममाफी ‘बक्सिनु’ र ‘दिइनु’को हाम्रो लामो इतिहास छ । अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने ? यही द्विविधासँगै हिँडेको छ यो इतिहास ।

संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रान्तिकारी कहलिएका छन् । जो असफल भए ती अपराधी भए । तिनलाई उन्मुत्ति दिइनुहुन्न भनिन्छ । एमालेका रत्न वान्तवा पञ्चायत कालमा अपराधीसरह मारिए । उनीसँगै लागेकाहरूले पछि माफी पाए, अहिले राज्य भएका छन् । गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाउपर राज्यविरूद्धको अपराध, विमान अपहरणको मुद्दा थियो । विमान अपहरणको मुद्दा चक्र बास्तोलासमेतका उपर भारतमा पनि थियो । चक्र बास्तोलालाई ०४८ तिर भारतका लागि राजदूतमा नियुक्त गरिएपछि सोही मुद्दाका कारण भारत सरकारले एग्रीमो पठाएन । गणेशमान सिंहलाई भारतका राष्ट्रपतिले नेपालका दक्षिण एशियाका गान्धी भनेका थिए । काङ्ग्रेसकै चक्र बास्तोला त्यतिन्जेल फौजदारी अपराधका अभियुक्त थिए भारतमा ।

राजा वीरेन्द्रबाट नेकाका संस्थापक नेता सुवर्ण शमसेर जबरालगायत सयौँलाई आममाफी दिइएको थियो । सुवर्णजीले नेपाली काङ्ग्रेसको नेतृत्व गर्दै वि.सं. ०१८ सालमा राजाका विरूद्ध सशस्त्र विद्रोह चलाएका थिए । कयौँ सेना पुलिसको हत्या भयो । चितौनमा सेनाले पनि दर्जनौँ काङ्ग्रेसीलाई ज्युँदै पुरेर मारेका थिए । ती अदना मानिसहरू थिएनन् । बखान सिंह गुरूङका छोराहरू मारिए, पुरिए । जगतजंग प्रकाश कुनै बेनामी मानिस थिएनन् । महान् व्यक्तित्व बालकृष्ण समका ज्वाइँ, छोरी रश्मीका पति थिए । सेनाले यिनलाई हत्या गरेर खाल्डो खनी पुरेका थिए ।

रामराजाप्रसाद सिंहलाई मुलुकको सर्वोच्च नागरिक पदक दिइयो । पदकको नाम मलाई याद भएन । कुनै समय उनले, पञ्चायतको शासनमा, ०४२ तिर राष्ट्रिय पञ्चायतको भवनमा, राजपरिवार संलग्न रहेको होटेल अन्नपुर्णमा कयौँ बम बिष्फोट गराएका थिए । कयौं मानिसको ज्यान गयो । त्यस विषयमा मेरा समकक्षी साथीहरू साकेतचन्द्र मिश्र, हरि भुजेल झोलहरू आजपर्यन्त बेपत्ता छन् । डा. लक्ष्मीनारायण झालाई थुनामा नै मारियो, सँगै यातना भोगेका जनकपुरका युगलकिशोर कर्ण आज पनि कहालीलाग्दो संस्मरण सुनाउँछन् । गणेश साहजी अहिले माओवादी पार्टीका एक बौद्धिक नेताको रूपमा त्यस घटनालाई याद गर्दा हुन् ।

यस बम काण्डका कारण रामराजाप्रसाद सिंहलाई मृत्युदण्ड सुनाइयो । सर्वोच्च अदालतले सदर गऱ्यो । रामराजाप्रसाद सिंह, उनका भाइ लक्षमणप्रसाद सिंहलाई मृत्यदण्डका साथ सर्वस्व हरण गरियो । करौडौँ करोडको सप्तरी र सिरहाका जग्गाहरू सरकारले कब्जा गऱ्यो ।

मुलुकमा संसदीय प्रजातन्त्र आयो, कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पनि आममाफी दिइएन । बरू नेपालमै जेल बस्छु तर मुलुक फर्कन्छु भनी अड्डी लिँदा पनि भारतका तत्कालिन प्रम चन्द्रशेखरले फर्कन प्रतिबन्ध लगाए । फलतः मुलुकमा बहुदल पुनःस्थापित भएपनि रामराजाप्रसाद सिंह पहिलो आम निर्वाचनमा सहभागी हुन पाएनन् । त्यस निर्वाचनमा रामराजा सिंहको पार्टीले भाग लिएको भए मधेस क्षेत्रमा नेपाली काङ्ग्रेसलाई नोक्सान पुग्ने थियो- गुह्य जानकारी राख्नेहरू यसैलाई कारण बताउँछन् ।

सिके प्रसाईं नेपाली काङ्ग्रेसका अद्वितीय प्रकारका नेता थिए, भूविक्रम नेम्बाङका झैँ । अनेकन् फौजदारी अभियोगका कारण भारतमा निर्वासित थिए । राजाबाट आममाफी पाएर मात्र नेपाल फर्किन पाए । सोचौँ, यदि सिके प्रसाईं, रामबाबु प्रसाईं, भूविक्रम नेम्बाङ, मच्छेन्द्र केरूङ, गोपाल राई, तुर्सा हेमरम जस्ता ठूला नेताहरू जो-कुनै समय विभिन्न फौजदारी अभियोगमा आरोपित रहेर भारतमा निर्वासित रहनुपरेको थियो- यदि आममाफी नदिइएको भए के हुन्थ्यो ? अहिले चरण प्रसाईंजी याद गर्दैनन् । तर, नेकाका ठूला नेता रामबाबु प्रसाईंउपर त गौहत्याकै मुद्दा चलाइएको थियो । रामबाबुले अदालतमै मुद्दा कबुलेका थिए । अदालतले त सजायँ नै तोकेको थियो । यदि राजनीतिमा माफी-मिनाहाको कुरा नहुने भए यतिन्जेलसम्म मुलुकका प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनका सयौँ रामबाबु प्रसाईं तथा मोहनचन्द्र अधिकारीहरूको राजनीतिको उहिल्यै भ्रुण हत्या भइसकेको हुन्थ्यो ।

जन्मकैदको सजायमा जेल रहेका बालकृष्ण ढुंगेल यसअघि कैद मिनाहामा रिहा भए । एमालेले यसलाई मन पराएन, लगत्तै उनी एमालेमा प्रवेश गरे त्यहाँका नेता भए । फेरि एमालेले कहिले पनि कैद मिनाहाको आलोचना गरेन । राजाको शासनमा दरबारका खिचलोका कारण कयौँका उपर गम्भीर फौजदारी अभियोगमा मुद्दा चलाइयो । थुनियो, जेल परे, अदालतले, सैनिक अदालतले सजायलाई अनुमोदन गऱ्यो । यसैमध्येका पूर्व प्रहरी आईजिपी डिबी लामाले बहुदल आएपछि माफी पाए । अरूहरूले पनि माफी पाए । डिबी लामा त सांसद पनि भए । कति लामो कथा कथुँ हजुरहरू !

रेशम चौधरी संलग्न रहेको भनिएको टिकापुर बारदातका बारेमा सत्यतथ्य आउनै बाँकी छ, आउला । मैले जाने-बुझेसम्म त्यस घटनापछि ‘स्ट्रीट ट्रायल’को आधारमा प्रहरीले अनुसन्धान गऱ्यो । प्रहरी स्वयम् त्यस बारदातको एक पक्ष हो । प्रतिशोधी पक्ष । मुद्दा दायर भयो, सर्वोच्च अदालतसम्मले रेशमलाई दोषी करार गऱ्यो । अहिले सरकारले कैद मिनाहाका साथ माफी दियो । समाज तरङ्गित भएको छ ।

भारतका पूर्व प्रम राजीव गांधीको हत्या भयो । यो सामयिक संसारकै ठूलो र जघन्य आतंकवादी घटना थियो । कयौँका उपर अपराध सावित भयो । मृत्यूदण्डसम्मको सजाय दिइयो । सोनिया गांधीले मृत्यूदण्ड नदिनोस् भनेर आग्रह गरिन् । हालै जेलमा गएर पिताका हत्याराहरूलाई छोरी प्रियंका गांधीले भेट गरिन् र, रिहा गरिदिनोस् भनिन् । समाजमा, मानिसहरूमा दण्डभावनाको प्रचुरता भएर मात्र हुन्न, करूणाले पनि स्थान पाउनु पर्दछ ।

रेशम रिहा भए । अब प्रतिशोधलाई सबैले बिर्सनुस् र, रेशमले पनि जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून् । यसको लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ । मुलुकका सामु अरू धेरै कुराहरू न्याय तथा निसाफका लागि पर्खिबसेको छ । अब सक्नुहुन्छ भने त्यतातिर लाग्नुस् हजूर ।

(जेपी आनन्दको फेसबुक वालबाट)