राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट १५ दिन सञ्चालन हुने

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट १५ दिन सञ्चालन हुने


काठमाडौंमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ को सबै तयारी पूरा भएको छ । यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी ६ सय नौ जना कलाकारका ६ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन समारोहका बाहेक सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।

यसपटकको प्रदर्शनी जेठ १५ गतेबाट ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा हुनेछ । गत वर्षको प्रदर्शनीमा भने तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृतिमात्रै प्रदर्शनीका लागि छनोट भएका थिए । यसपालि भने झण्डै दोब्बर कलाकृति समावेश गरिने भएको छ ।

प्रतिष्ठानले नियमित पुरस्कार तथा सम्मानसहित यस वर्षबाट कला प्रवर्द्धन सम्मान तथा प्रदर्शनीको सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गर्न लागेको छ । विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको छ ।

प्रदर्शनीको कार्यकारी समितिका संयोजक प्रतिष्ठानका उपकुलपति लालकाजी लामाका अनुसार यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुन लागेको छ । यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने छ भने विभिन्न तहमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी आठ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । प्रदर्शनीको उद्घाटनका क्रममा दुई पत्रकारसहित चित्रकला विधामा राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूसमेत प्रदान गरिनेछ ।