सुनको चिहान

सुनको चिहान


✍ नरोत्तम श्रेष्ठ

रातको बाह्र बजेको सन्नाटा
बादलभित्र चट्याङको
गडयाङगुडुङको पट्यारलाग्दो सन्त्रास
हुरीले बोटबिरुवा बत्ताएको
अत्यासलाग्दो वातावरण,
लास नबोकेरै घाट दौडिरहेका
मलामीका तँछाडमछाड लस्कर,
त्यही सन्नाटामा
सुटुक्क आफूलाई समाहित गर्दै
चिताको आगो ताप्न
चिहानतिर लम्किरहेका पदचापहरू,
चिहानको छेउ- मेरो दृष्टि
असरल्ल पहेँलो कात्रोमा बेरिएका
बेवारिसी लासको झुन्ड,

कैयौँ दिन अन्नपानी नदिइ
सुनको तपक कोचीकोची
सुनपानीमै चुर्लुम्म डुबाइ
बीभत्स हत्या गरिएका
असाधारण लास,
नराम्रोसँग धड्किरहेको मुटु,

लासको कात्रो हटाउन
बिस्तारै बिस्तारै
सक्रिय हत्केलाहरू,
भयङ्कर… अति भयङ्कर…
भूतको दुनियाँमा
एघार हजार भोल्टको करेन्ट
दर्दनाक झड्का,

कति मलाम गइयो
तर अहिलेसम्म
अदृश्य कात्रोको गोजी,
मेरो कौतूहलको प्रश्नचिन्ह
गोजी गोजी भएको कात्रो
पत्रैपत्रले बेरिएको
अनौठो लास,
पहिचान गर्न लालायित
भयाक्रान्त नजर,
सुनकै मान्छे, सुनकै खेल, सुनकै भर…
खुल्दै गए पत्रहरू
तर खुल्न सकेन रहस्यको पर्दा,
अलंकृत ती लासहरू
कुनै पहेंला कोटले-
कुनै पहेंला दौरासुरुवालले
कुनै पहेंला पदक अनि आभूषणले ।

(कवि ‘हाम्रो मातृभूमिका लागि नेपाली’का केन्द्रीय परिषद् सदस्य एवम् उपाध्यक्ष हुन् ।)