पोखरामा तिब्बती शरणार्थी व्यवस्थापनको इतिहास

पोखरामा तिब्बती शरणार्थी व्यवस्थापनको इतिहास


विश्वमा शरणार्थी बन्नु नपरोस् भनेर हरेक देशका जनता आफ्नो जन्म राज्यसँग लडिरहेको समय हामी ५०-६० लाख खर्चेर नक्कली शरणार्थी बन्ने धुनमा लागेको देख्दा अनौठो लागिरहेको छ ।
✍ सुनिल उलक

विश्वभर शरणार्थीका समस्या निकै जटिल छ । आफ्नो राज्य गुमाएर अन्यत्र भाग्न बाध्य हुनु नै शरणार्थी हुनु हो । तर यसरी राज्य गुमाएपछि नयाँ ठाउँमा पुग्दा जुन किसिमको सामाजिक तथा ब्यवहारिक कठिनाइहरू भोग्नु पर्दछ, त्यसको पीडा शरणार्थीहरूलाई मात्र थाहा हुन्छ । देश गुमाउनुको पीडा जस्तो पीडा केही पनि हुँदैन । बाबुआमा गुमाउनु भन्दा ठूलो पीडा भनेको देश गुमाउनु हो । आफ्नो राष्ट्रियता गुमाउनु हो । आफ्नो अस्तित्व गुमाउनु हो ।

१७औँ शताब्दीको शुरुवातमा फ्रान्समा ह्यूजेनाटहरूको विद्रोहको शुरुवात हुन्छ । विद्रोहीहरू राज्य सत्तासम्म पनि पुग्दछन् । तर १७औँ शताब्दीको अन्तमा आइपुग्दा ह्यूजेनाटहरूको हारको श्रृङ्खला शुरु हुन्छ र यिनीहरूमाथि दमनको शुरुवात हुन्छ । अन्ततः ह्यूजेनाटहरू शरणार्थीका रूपमा बेलायतमा पुग्छन् । यूरोपको इतिहासले यसरी पहिलो शरणार्थीका इतिहास देखाए पनि चौधौँ शताब्दीमा नेपालमा मिथिला राज्यका राजा हरिसिंहदेव मुसलमान शासकको आक्रमणपछि राज्यविहीन भइ शरणार्थीका रूपमा ससुरालीथलो भक्तपुर पुगेका थिए । उनका साथ असङ्ख्य जनताहरू पनि भक्तपुरमा नै शरणार्थीका रूपमा शरण लिन पुगेका थिए । आज यी शरणार्थीहरू विभिन्न नेवारका थरका रूपमा नेपालभर फैलिएर बसोबास गर्दछन् । कर्नाटकी आनुवंशिक बोकेका यी नेवारहरूको समुह ठूलो सङ्ख्यामा छन् ।

शरणार्थी बनेर राज्य त्याग्नुपर्ने बाध्यतका पछाडि भने विविध कारणहरू हुने गर्दछन् । यदि शरणार्थी बन्नुका पछाडि राजनैतिक कारण हुन्छ भने यसमा हताहतका सङ्ख्या पनि बढी हुने गर्दछ । हाम्रै छिमेकी राज्य भारतमा ४७को स्वतन्त्रासँगै भारत र पाकिस्तानको विभाजन गराइदिँदा पाकिस्तानभित्र रहेका अल्पसंख्यक हिन्दू र भारतमा रहेका अल्पसंख्यक मुसलमानहरूमाथि आमहत्याको समस्या बल्झेको थियो । लाखौँ जनता एक राज्यबाट अर्को राज्यमा जान बाध्य भएका थिए ।

यस्तै तिब्बतीहरूको पनि आफ्नो राज्य थियो । आफ्नो राजाको रुपमा दलाइ लामा थियो । ल्हासा राजधानी रहेको बलियो राज्य थियो । कहिले लडाइँ र कहिले मित्रता गर्दै नेपालसँग सम्बन्ध थियो । चीनमा सत्ता परिवर्तन पछि बिस्तारै तिब्बतमाथि पनि आँखा लगाउन थालेको तत्कालिन चीन सरकारले अन्ततः फागुन २७, २०१५ मा चिनियाँ सेनाका जनरल याङ चेङग्वुले चिनियाँ नृत्य अवलोकनको लागि तिब्बती अधिकारीहरू तथा दलाइ लामालाई निम्तो पठाए । तर शर्त राखिएको थियो सैनिकहरू उपस्थित हुन पाउने छैन तथा दलाइ लामाको सुरक्षार्थ आउने सैनिकहरू पनि हतियारविहीन रूपमा आउनुपर्नेछ ।

यो निमन्त्रणपछि तिब्बती जनतामा एउटा डर पैदा भयो । अब दलाइ लामाको जीवनमाथि खतरा शुरु भएको छ । यस नृत्य प्रदर्शनमा तिब्बती अधिकारी तथा उच्च अधिकारीहरू गएनन् । एक सप्ताहपछि उच्च अधिकारीहरूसँगको सल्लाहपछि दलाइ लामाले देश छोड्नै निर्णय गरे । चैत्र ४ गते बिहानको दश बज्न केही मिनट बाँकी हुँदा दलाइ लामाले सदाको लागि आफ्नो पोटाला दरबार त्याग्दै केही खम्पाहरूको सुरक्षा घेरामा क्यूछु (ल्हासा) नदी तरे । यसरी यात्रा थालेका दलाइ लामाको टोलीले २ हप्तापछि चैत्र १८ गते पूर्वी भारत अरुणाञ्चलको बोमडिला पुगे ।‍ भारतीय सुरक्षा घेरामा सुरक्षित रहेका दलाइ लामा तथा उनका साथ आएका शुभचिन्तक अनुयायी तथा तिब्बती नागरिकहरूलाई भारतले शरणार्थीको रूपमा स्विकार्न तैयार भयो । यसको करिव एक महिनापछि २०१६ बैशाख ७ गते उत्तरप्रदेशको मसुरी पु¥याइयो । दलाइ लामाको त्यहाँ भारतीय प्रधानमन्त्री नेहरूसँग भेटघाटपछि अन्य ब्यवस्थाको टुङ्गो लगाइयो ।

तिब्बत छोड्ने र भारतमा शरण लिनेहरूको क्रम बढ्दै गयो । अन्ततः एक वर्षपछि २०१६ फागुन २७ मा दलाइ लामा तथा उनका अनुयायीहरू हिमाञ्चल प्रदेशको धर्मशालातर्फ लागे । जसरी भारततर्फ तिब्बती शरणार्थीहरूको घुइँचो लाग्यो । त्यसरी नेपालको उत्तरी सिमादेखि नजिक पर्ने तिब्बती राज्यहरूबाट नेपालमा पनि तिब्बती शरणार्थीहरूको प्रवेश पनि तीव्र्र रूपमा बढ्न थाल्यो । यसरी प्रवेश गर्ने शरणार्थीहरूलाई रेडक्रस, स्विस सरकार तथा नेपाल सरकारको संयुक्त प्रयासमा विभिन्न स्थानमा ब्यवस्थापन गराइयो । पोखरामा पनि हेमजा क्षेत्रमा तथा छोरेपाटन क्षेत्रमा तिब्बती शरणार्थीहरूको बसोबासको ब्यवस्थापन गराइएको थियो ।

यहाँ तस्बिरमा यही हेमजा क्षेत्रमा बसोबास गर्ने तिब्बती शरणार्थीहरूका बच्चाहरूलाई खाना खुवाउँदै गरेको देख्न सकिन्छ । राज्य गुमाएको कथा यी बच्चाहरूलाई केही थाहा छैन, पीडा त यिनका अविभावकहरूले झेले । महिनौँ हिँडेर नेपाल प्रवेश गरे । चीनका सैनिकले हत्या गरिदिने त्रास थियो सबैमा । त्यसैले राज्य नै त्यागेर हिँडेका थिए । तस्बिरमा भएका बच्चाहरू आज सबै ६० वर्ष कटिसकेका होलान् । कतिले आफ्नो त्यो कष्टको समयको अनुहार पनि बिर्सिसके होलान् । यहाँ तस्बिर राख्नुको अर्थ उनीहरूको दयनियताको प्रदर्शन गर्नु होइन । उनीहरूको जीवनको एउटा पाटो केलाउन खोज्नु हो । आज पोखरामा बस्ने धेरै तिब्बती शरणार्थीहरूसँग पङ्क्तिकारको राम्रो सम्बन्ध छ । तर मसँग भएका तस्बिर देखाउँदै को–को हुनुहुन्छ भनेर सोध्न सक्दिनँ । किनकि, उनीहरूले एउटा सङ्कटको त्यो क्षण पार गरेर आज एक प्रकारको सुखको दिनमा जीवन बाँचिरहेका छन् ।

आज नेपालको राजनीतिमा नक्कली भुटानी शरणार्थीका कुरा उठिरहेका छन् । विश्वमा शरणार्थी बन्नु नपरोस् भनेर हरेक देशका जनता आफ्नो जन्म राज्यसँग लडिरहेको समय हामी ५०-६० लाख खर्चेर नक्कली शरणार्थी बन्ने धुनमा लागेको देख्दा अनौठो लागिरहेको छ । पैसाका लागि आफ्नै श्रीमती तथा छोरीलाई समेत कोठीमा बेच्ने, पैसाका लागि जन्मदिने बाबुआमा तथा आफूले जन्माएका छोराछोरी समेत मार्न तैयार हामी नेपाली पैसा र अमेरिकाको ऐशआरामका लागि नक्कली भुटानी शरणार्थी बन्नसमेत तैयार नेपाली जनताको मानसिकता बुझेका राजनीतिका कुख्यात खेलाडीहरूले ४०-५० लाख लिएर नक्कली भुटानी शरणार्थी बनाउन मद्दत गर्न पुगेको देखिन्छ । अमेरिकी सरकारको सहयोगमा भुटानी शरणार्थीहरूलाई अमेरिका लगिएको हुँदा अमेरिकी सरकारको दबाबमा नेपाल सरकारले यसको छानविन ब्यापक बनाएको हो । यसमा दोषी प्रमाणित भएकाहरूलाई राज्यले सजायँ दिन सक्छ भन्नेमा विश्वस्त त हुन सकिँदैन । तर पीडितहरूलाई भने न्याय दिइनु पर्दछ । उनिहरूले बुझाएका लाखौँ रुपैयाँ ब्याजसहित उपर गर्न भने सरकार तत्पर रहनु पर्दछ ।