‘डार्लिङ पत्रकारिता’ले चपाइरहेको हाम्रो निष्ठा !

‘डार्लिङ पत्रकारिता’ले चपाइरहेको हाम्रो निष्ठा !


विज्ञापनदातालाई चिढ्याउनु हुँदैन भन्ने मनोदशा, विदेश भ्रमणको ब्यवस्था मिलाइ टिकट काटीदिने नेता वा ब्यापारी, आर्थिकदाता, हुण्डीदाता अनि श्रीमती, रोजगारदाता र साथी चिढ्याउनुहुन्न भन्ने मनोदशाले हामीलाई चोटिलो पत्रकारबाट ‘डार्लिङ पत्रकार’को रूपमा फेर्दै लगेको छ ।
✍ डिल्ली अम्माई

पत्रकारितामा सन्तुलनको मात्रै कुरा प्रमुख हैन, निष्ठा र प्रभावको कुरा पनि महत्वपूर्ण हुन्छ भन्ने मान्यता छ । निष्ठाले सत्यताप्रतिको इमानलाई बुझाउँछ भने प्रभावले लक्ष्य भेदनबाट पार्ने प्रतिक्रियाको कुराबारे सरोकार राख्छ । निष्ठापूर्वक गरिएको लक्ष्य भेदनले समुदायमा सकारात्मक प्रभाव पारेको हुन्छ वा पार्नुपर्छ । फेरि निर्धारित लक्ष्यमा निशाना लगाउनुपूर्व त्यसको लागि चाहिने औजार, सर्जाम र कारणको कुरा पनि सत्य सूचनाको लागि निर्णायक हुन्छ । जस्तो कि, आफ्नै अनुभव सुनाउँछु- वि.सं. २०५३/५४ तिर हो जस्तो लाग्छ, पत्रकारिता सिक्दै गर्दा मलाई दुम्कीबासका काशिराम गुरुले गाईगोरु तस्करीको बाटो, ब्यक्ति र गाई-मालिकहरूको प्रमाण बटुल्ने गृहकार्य दिनुभयो । त्यतिबेला म एक्लै गाईगोरु तस्करीको बाटो पहिचान गर्न दुम्कीबासबाट ठोरीसम्म र, पश्चिममा राजापुर बर्दियासम्म पुगेको थिएँ । गहुँका रोटी झोलामा हालेर तस्करहरूलाई पछ्याएर हिँड्नु ज्यादै जोखिमपूर्ण हुन्थ्यो त्योबेला । अर्कोतिर माओवादीको विद्रोहले निम्त्याएको कठिन परिस्थिति ! गोरु तस्करहरूले थानामा घुस ख्वाउँदै ठोरीबाट भारत निकालेर ट्रकमा राखी गोरुहरू आसाममा मासुको लागि पठाउने रहेछन् । पश्चिम नेपालको बर्दिया राजापुरतिरबाट ल्याइने ती गोरुहरू मासुको लागि आसाम पु¥याइने कुरा मै आफैले पत्ता लगाएको हुँ । यो सबै अनुसन्धानको श्रृङ्खला जोड्दै जाँदा गजबको फिचर समाचार बन्यो । घटना र विचार साप्ताहिकमा त्यो समाचार प्रकाशित भयो । त्यही समाचारको प्रभावले तीन जना सम्बन्धित थानाका घुस लिने थानेदार निलम्वनमा परे भने तस्करहरू पक्राउ परे ।

यस्तै, मैले २०५६ सालमा लेखेको भू-माफियाबारेको अनुसन्धानमुलक समाचारले दुम्कीबास नवलपुरका धेरै जसो भूमाफिया र मतियारहरू प्रहरी–हिरासतमा पुगे । राजनैतिक दबाबको कारण भूमाफियाहरू तारिकमा छुटेको पछि थाहा भयो । म बेल्जियम आउने बेलासम्म उनीहरू तारिखमै थिए । पछि मुद्धा हारेछन् र सार्वजनिक जमिनका लालपुर्जा कानुनीरूपमै अस्वीकृत भएछन् ।

अढाई-तीन दशकअघि पत्रकारिता यसरी हुन्थ्यो । अहिले त्यस्तो जोखिम मोलेर गरिने अनुसन्धानमुलक पत्रकारिता कमजोर हुँदै गएको देखिन्छ । पहिले पत्रिकामा लेखेको कुरा राज्यले सुन्थ्यो र प्रतिक्रिया पनि तुरुन्तै देख्न सुन्न पाइन्थ्यो । अहिलेको पत्रकारिता कमलो मनको छ, पत्रकारिताले जुन तरिकाले निसाना दाग्नुपर्थ्यो, अहिले निशानाको बिन्दु सामलतामालबिनाको मधुरो छ । कैंचीले रुख काट्छ र ? अहँ, काट्दैन ! रुख काट्न बन्चरो चाहिन्छ, बन्चरो मात्र भएर पनि हुँदैन, निसाना र चोट दिन सक्ने ताकत हुनुपर्छ बन्चरेसँग । रुखमा हिर्काउँदाको र रुख ढल्ने बेलाको आवाजले बनपाखा हल्लिनुपर्छ । खै ! अहिले त हाम्रा पत्रकारिताको त्योखाले दम हराउँदै गएको पो देखिन्छ त ।

अचेल हाम्रा समाचारको प्रभावकारिताले न सरकार हल्लिन्छ न त अन्य कुनै निकायले नै सुनेर ठोस वा प्रभावकारी प्रतिक्रिया दिन्छन् । यसरी किन हाम्रा पत्रकारिताको स्वास सुक्दै गइरहेको होला । हिजो मजस्ता सिकारु पत्रकारको एउटा समाचारको प्रभावले दिने प्रतिक्रिया पनि निर्णायक हुन्थ्यो, तर आजभोलि त्यस्ता समाचारको उत्खननमा हामी पत्रकारहरू नै गम्भीर छैनौँ । यो कमजोर अवस्थाको निर्माणकर्ता अरु कोही नभएर हामी आफैं हौँ । समस्या बाहिर हैन, हामीभित्रै छ ।

मलाई लाग्छ, अनुसन्धान गर्नुपर्ने पत्रकारितामा टार्गेट र मिसन हुनैपर्छ, चाहे त्यो राजनैतिक क्षेत्रमा होस् वा अपराधमुलक समाचार उत्पादनको क्षेत्रमा । तर अहिलेको ‘ब्यवसायिक पत्रकारिता’ले जागिर र पैसामा आफ्नो दम र समाचारको प्राण सेन्सर गर्दै लागेको जस्तो लाग्ने ! निगाहको जागिर, माथिको हुकुम, समाचारको मोलमोलाइबाट अंगभंग भएको समाचारले शब्द थुपार्ने बाहेक केको चोट दिने ? अपवादबाहेक अहिले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको चित्र यही हो भन्दा हामी आफैलाई लाज लाग्छ ।

अहिले पढेका पत्रकार धेरै छन् । महासंघभित्र पत्रकारहरूको ठुलो जुलुस छ । जुनसुकै जिल्लामा भन्नुस् पत्रकार उल्यख्य छन् । त्योबेला नवलपुरमा घटना र विचारमा काम गर्ने टीकाराम गैह्रे र म मात्र थियौँ भने थानेश्वरजी, कृष्ण दाइ, शिवजी.. त्यस्तै औंलामा गन्न सकिने पत्रकार थियौँ होला जिल्लामा । अरु केही मैले नभेटेका पत्रकार पनि हुन सक्छन् । प्रिन्ट होस् वा भोकल मिडिया हाउस, समाचारको प्रभाव उल्लेख्य हुन्थ्यो । समाचार विश्वासपूर्वक सुनिन्थ्यो, पढिन्थ्यो । समाचारसँग सम्बन्धित ब्यक्ति वा निकायको निद हराम हुन्थ्यो । अनुसन्धानमा यथेष्ट प्रमाण जुटाइन्थ्यो । हाम्रा गुरुहरूले त्यसरी नै पत्रकारिता गर्न सिकाएका थिए । पुरुषोत्तमदाइ, देवदाइ, जयजीहरूले खोजेर प्रमाणसहित समाचार पठाउन भन्थे । हामीले त्यसरी नै पत्रकारिता गर्न सिक्यौँ । तर अहिले त्यो पत्रकारितामा हुनैपर्ने उर्जा हामी धेरैमा छैन ।

अचेल पैसामा लेख्ने, इन्ट्रेष्ट र सोखको लागि पत्रकारिता गर्नेहरूले मिडियाको बिस्तारलाई क्षमताको विकास सम्झन्छन्, प्रभाव सम्झन्छन् र गदगद हुन्छन् । मलाई त्यस्तो लाग्दैन, किनकि समाचारको प्रभाव नै त्यसको प्राण हो । रसबिनाको उखु, स्वादबिनाको भोजन र दमबिनाको पत्रकारिता जमेको पानी जस्तै हो । हरियो लेउ लागेको पोखरीको पानी जस्तै । करेन्टबिनाको पानीले फोहर बगाउन सक्दैन । शब्दको पोखरीले मात्र समाजलाई के आवाज दिन्छ र ? सामाजिक फोहर वा राज्यको अपारदर्शितामाथि प्रहार गर्न सक्छ कसरी ?

खासमा, अहिलेको नेपाली आप्रवासीको पत्रकारिता क्षेत्र पनि असाध्यै जम्दै गएको छ । केवल कार्यक्रमका भाषण र विज्ञापनको लागि मात्र बनाइन्छ समाचार । को कहाँ पुग्यो, उता यस्तो कार्यक्रम भयो, उद्घाटन वा भाषणमा यो भनियो, त्यो भनियो, बस त्यत्ति देखिन्छ समाचारमा । विज्ञापन जस्ता समाचारले भरिएका छन् हाम्रा अनलाइनहरू । समाचारको शरीर छ गुदी वा दम भने बेपत्ता !

सरकारी समाचारपत्रहरूको अवस्था पनि त्यस्तै छ । सरकारी पत्रकारितामा आलोचनात्मक चेत र खोज हराउनु दुःखद कुरा हो । त्यसले पत्रकारिताको मुटु खाँदै छ । जागिर खाने र जोगाउने निहुँमा पत्रकारिता क्षेत्र बोधो बन्दै छ, समाचारको प्रहारबिन्दु छैन । प्रहार गर्दा सरकारबाट जागिर निलिदिने अघोषित भयले हामी बरु सुतिदिन्छौँ । हाम्रो सुताइसँगै हाम्रो निष्ठा सुतिरहेको आफैंलाई हेक्का हुँदैन । त्यस्तै, निजी क्षेत्रका पत्रकार पनि कसैगरि बाँच्नु छ, माथि पहुँच हुनेगरी बाँचेर कमाउनु छ । धेरै गाह्रो छ यो क्षेत्रमा पेशा धान्न ।

मुख्य कुरा त, पत्रकार खुद आम्दानीमा नलोभिनुपर्ने हो । दुखम्सु-खम् पत्रकार भएरै बाँच्ने कोशिश गर्नुपर्ने हो । समाचार उत्पादनमा एकचित्त भएर लाग्ने, तथ्य नबङ्ग्याइ समाचार उत्पादन गर्ने र बिजुलीको करेन्टजस्तै सबैतिर झड्का दिने समाचार बनाउनुपर्ने हो । तर दल र प्रभावशाली ब्याक्तिको चिप्लोमा टाँसिएर समाचारको भ्रममा दाश बन्न/बनाउन कस्सिएको छ हाम्रो पत्रकारिता । अझ डरलाग्दो कुरा गुप्तचरीका लागि पनि पत्रकारिता प्रयोग गरिएको छ भन्ने सुनिन्छ ।

पत्रकारिता गर्ने खुबी अभावको कुरा एक ठाउँमा होला, त्यसको अलावा अल्छीपन पनि हाम्रो समस्या हो । कुर्ची-पत्रकारिता भर्भराउन थालेको छ अचेल । अझ आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको रूपमा रहेको च्याट जीपीटीको आगमनले पत्रकारलाई कति अल्छी बनाउने हो- सहजै अनुमान गर्न सकिन्छ ।

अहिले प्रविधिले पत्रकारितालाई गुणात्मक रुपान्तरण गर्न सघाएको तर्क पनि धेरै सुनिन्छ । हो, यसको प्रयोग एक मेहनती पत्रकारको लागि सहयोगी हुन सक्छ । पत्रकारिताको रुपान्तरणमा प्रविधि सहयोगी हुन सक्छ । तर खोज र फिल्डमा गरिने चोटिलो पत्रकारिताको आवश्यकतालाई एउटा निर्मित औजारले पूरा गर्छ भनेर सोच्नु केवल मुर्खता हो ।

पत्रकारिताको गुणवत्ता-वृद्धि पत्रकारको मेहनतमा निर्भर हुन्छ । यसकारण अहिले प्रविधिले छलाङ हान्दैमा, पत्रकारिताले पनि उछलकुद लगाउँछ भनेर सोच्नु अल्छीहरूको कुरा हो । वरिष्ठ पत्रकार भैरव रिसालले एक अन्तर्वार्तामा भनेका थिए, ‘प्रविधिको प्रयोगले बाठोले फाइदा लिन्छ, अरुले लिन सक्दैन । ठूला मिडियामा भएकै मानिस पनि अनलाइनमा गए । त्यसकारण पछिल्लो कालखण्डमा पत्रकारिता क्षेत्र व्यापक भएको होइन, बिथोलिएको हो । निष्ठा र विश्वास हराउँदै गएको हो । पक्कै पनि प्रविधिले प्राविधिकरूपले सजिलो त बनाएको छ, तर खास पत्रकारिताको ज्यान जोगाउन सकेन । ’

सन्तुलित पत्रकारिताको प्रमुख आधार भनेको पेशागत दृढता नै हो । समस्याको रूपमा, आर्थिकको कुरा पनि आउँछ । धम्की वा प्रलोभनको कुरा पनि आउँछ । दृढ र स्वाभिमान पत्रकार बरु भोकै बस्छन् तर बिक्दैनन् । हुन त पत्रकारका लागि आर्थिक समस्या हुन्छन्, परिवार पाल्नुपर्ने दायित्व पनि हुन्छ । यसमा राज्य वा सरकारले ब्यवस्थानमा सहयोगी भूमिका खेल्नुपर्छ । त्यस्तै, मिडियाहाउसका मालिकले आफ्ना सम्वाददाताको जीवन र परिवारको आवश्यकताप्रति गम्भीर भएर सोच्नुपर्छ । सम्बन्धित निकाय उदासिन हुँदा सूचनाजीवी भोकै बस्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो भइराखेको पनि छ । त्यसैले युनेस्कोले पत्रकारको समस्यालाई ध्यान देओस् भनेर बेलाबेलामा घच्घच्याइरहन्छ । त्यस्तै पत्रकारका युनियनहरूले पनि मिडियाहाउस, पत्रकार र उसको परिवारबारे नजिकबाट नियालिरहेका हुन्छन्, सरकारलाई दबाब पनि दिइरहेका हुन्छन् । आईएलओले पत्रकारको आर्थिक समस्यालाई सरकार वा सम्बन्धित निकायको समस्या मान्नुको मूल कारण यही हो ।

पत्रकारिता मर्यादित र अत्यन्त सम्वेदनशील पेशा भएकोले पत्रकार प्रत्येक क्षण चनाखो रहनु पर्दछ । समुदायबाट आउने जस्तासुकै प्रतिक्रियाले पनि उ हल्लिनु हुँदैन । खराब मानिसको सातो उडाउने र असल मानिसको आशा जगाउने आफैमा यो एक जिम्मेवार र सुन्दर पेशा हो । तर समुदायमा यही विश्वासको समस्याले सबैभन्दा अप्ठ्यारो स्थितिको सामना गरिरहेको छ । यसलाई पत्रकारले हेक्का राख्दै अघि बढ्नुको विकल्प छैन । त्यसैले भनिएको होला पत्रकारले अवसरलाई टपक्क टिप्न र चुनौतीको सामना गर्न जान्नु पर्दछ । त्यो कला पत्रकारसँग हुनैपर्छ, अन्यथा पेशा धर्मराउन थाल्दछ ।

पत्रकार अरुको कमाइ हेरेर लोभिनु आफ्नो करिअरको लागि मात्र नभएर समुदायको लागि समेत घातक हो । आफ्ना सहकर्मीहरूको मोटर, कार र तामझाम हेरेर वा अरुका श्रीमतीहरूको रवाफ देखेर अनैतिक तरिकाले आयआर्जनमा लाग्न थालियो भने यो पेशाले पत्रकारलाई धिक्कार्छ । तर अहिलेको अवस्था किन पनि चुनौतीपूर्ण छ भने पत्रकारभित्रै माफिया, सूचना-तस्कर र दलालहरू देखिनथालेका चर्चा छ्याप्छ्याप्ती चलेका छन् । केही पत्रकारहरू त ‘हामी सँधै खुला ठाउँमा चिसो पानीले नुहाउने ?’ भन्दै निष्ठामा बस्न अस्विकार गरिरहेका भेटिन्छन् । मर्यादामा बस्न नसक्दा नै आज पत्रकारप्रति समाजको हेर्ने दृष्टिकोण बेग्लै बन्दै गइरहेको छ । हिजो जुन विश्वास, इज्जत र सम्मान पत्रकारहरूलाई थियो, समुदायले जसरी पत्रकारलाई भरोसायोग्य ‘वाचडग’को रूपमा हेर्थे, आज त्यसको अबस्था खस्कँदो छ ।

नेपालको वर्तमान बस्तुगत अवस्था र अब जिम्मेवारीकै कुरा गरौँ । अहिले नेपालको राष्ट्रिय अस्मितामाथि सबैतिरबाट प्रहार भइरहेको छ । नेपालको जाजरकोटलगायत धेरै ठाउँ अर्थात् खम्पा विद्रोहको रुटमा अमेरिकी सेनाका बेस क्याम्पको लागि सर्वे गर्ने काम भइरहेको खबर बाहिरिएको छ । अमेरिकीहरूले आफ्नै निर्देशनमा पूर्वमा नेपालीलाई भुटानी शरणार्थी बनाएको हल्ला चलाएर पश्चिम नेपालका चिनियाँ नाका कब्जा गर्दै गरेका हल्लाहरू बाहिर आएका छन् । थाहा भएकै कुरा हो कि, जनताको ध्यान अन्यत्र मोड्न शक्ति-राष्ट्रहरूले त्यसो गर्ने गर्दछन् ।

यो विषय अझै मूलधारका भनिने मिडियामा आएको छैन । पश्चिमा मिसिनरीद्वारा नेपालमा धर्मान्तरण गरी धार्मिक युद्ध गराउने जुन प्रपञ्च रचिएको छ त्यसप्रति राज्य मुकदर्शक छ । यस्ता राष्ट्रिय स्वाधीनताका मुद्धाहरूमा पत्रकार बिक्नु वा चिप्लिनु हुँदैन । तर राज्यसँगै पत्रकारहरू पनि बेइमान देखिएका छन् । कतिपय पात्र बिकेका कुरा पनि सुनिन थालेका छन् । देशमा यस्तो अवस्था आउनु भनेको राज्य र समुदाय सबैको दुर्भाग्य हो ।

यो अवस्थामा हामी पत्रकार नै मौन बस्यौँ भने नेपाल विदेशीहरूको क्रिडास्थल बन्न सक्छ । सूचना समयमा नदिँदा जनता सूचनाविहीन बन्दछन् र देशविरोधि क्रियाकालापको विरुद्ध प्रतिरोध-संघर्ष उठ्न पाउँदैन । नक्कली भुटानी शरणार्थी मामलामा राजनीति गर्ने नेता जसले आफ्नै जनता ठग्न नागरिकलाई अनागरिक बनाइ बेच्न तल्लिन भए, यो लाजलाग्दो र अत्यन्त निन्दनीय विषय हो । पुराना नेताहरू जस्तो कि बीपी, पुष्पलाल, गणेशमान, किशुनजी, मोहनविक्रम, बैद्य त यस्तो फटाहा कहिल्यै भएनन् । केआई सिङ, विश्वेश्वर, पुष्पलाल, टंकप्रसादजस्ता नेताहरूले जनतालाई कहिल्यै ढाँटेनन् । त्योबेला पत्रकारितामा पनि मर्यादा, इमान, जवान सबै थियो । भनिन्छ, ‘त्यतिबेला उनीहरूलाई भेट्न पत्रकार आयो भनेपछि तुरुन्त भेट्न सक्थे । चिया पनि नेताहरूले खाने बेलामा दिन्थे नत्र दिँदैन थिए ।’ तर अहिले अवस्था बदलिएको छ । नेताहरूले पत्रकारलाई दशैँ खर्चको जोहो गरिदिनुपर्छ । नेताको विरुद्ध आएको समाचार किनीदिनु पर्छ । महिला पत्रकार आफ्नै सहकर्मीबाट असुरक्षित भएका रिपोर्टहरू बाहिर आएका छन् । सम्पादकलाई मालिकको प्रेसर छ भने सम्वाददाताहरू मालिक र सम्पादकबाट धुलाम्य बनाइएका छन् । प्रविधि उकालो लाग्यो तर पत्रकारको चरित्र ओरालोलाग्दो दुःखद अवस्था छ ।

अन्त्यमा, हामीमा केही कुराले हाम्रो निष्ठामा प्वाल पार्दै छ । त्यो हाम्रो मानो वैज्ञानिक समस्या नै हो । विज्ञापनदातालाई चिढ्याउनु हुँदैन भन्ने मनोदशा, विदेश भ्रमणको ब्यवस्था मिलाइ टिकट काटीदिने नेता वा ब्यापारी, आर्थिकदाता, हुण्डीदाता अनि श्रीमती, रोजगारदाता र साथी चिढ्याउनुहुन्न भन्ने मनोदशाले हामीलाई चोटिलो पत्रकारबाट डार्लिङ पत्रकारको रूपमा फेर्दै लगेको छ । तिनै कारणहरूले हो हाम्रो निष्ठा चुहिने बनाएको । अब हाम्रो निष्ठामा परेको प्वाल टाल्नुको विकल्पमा बहस गरेर समय खेर फाल्नु हुँदैन । हामी सबै पत्रकारहरूले प्रण गरौँ, मुलुकको पत्रकारिता क्षेत्र सम्मानित र विश्वासयोग्य भएर बाँच्न सकोस् । हाम्रा कारणले निष्ठावान पत्रकार र निष्पक्ष पत्रकारितामा आँच आउनु हुँदैन । राम्रा र निष्ठावान पत्रकारहरू स्वाभिमानपूर्वक बाँच्न पाउनुपर्छ । समुदाय र पत्रकारबीच रहेको विश्वासको डोरी चुँडिएको दिन देश मात्र नभएर अधिरचना समेत सकिन्छ । विज्ञापन दिएन भने रिसमा काल्पनिक आरोप बनाएर उक्त ब्यक्तिलाई हान्ने तर विज्ञापन दिएमा खुशी हुँदै चाप्लुसीमा लेख्ने जुन ठुला-साना मिडियामाथि आरोप छ त्यो आरोपलाई असत्य सावित गर्नतिर लागौँ । सूचना वा समाचार आम्दानिसँग जोडेर कहिल्यै निष्ठा बिगार्नु हुँदैन । यस्ता आरोपित रोग यदि सत्य सावित भए भने पत्रकारिता क्षेत्रमा प्रलय आउने छ । हामी आफैंले हेक्का राखौँ । संसारभरिको पत्रकारिता फलोस्, फुलोस्… !