२६ जेष्ठ २०८०, शुक्रबार

दबाबरहित चलचित्र ‘डाकिनी’

  प्रकाशित मिति
१० जेष्ठ २०८०, बुधबार ०५:४५


चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त बजेट बढ्ने डर, न बजार मूल्याङ्कन । कुनै दबाब नहुँदा चलचित्र कस्तो बन्ला ? यसको उदाहरण हो- ‘डाकिनी’ ।

बौद्धधर्मका गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ‘डाकिनी’ प्रदर्शनका लागि नेपालमा हुनुहुन्छ । विश्वभरका चलचित्रप्रेमी दर्शकमाझ उहाँ निर्देशित ‘द कप’, ‘ट्राभल्स एण्ड म्याजिसियन्स’, ‘हिमा हिमाः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’लगायतका चलचित्र लोकप्रिय छन् ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’मार्फत विश्वभर प्रदर्शन भएको चलचित्रमा बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवीको खोजीको कथा खोजिने चलचित्रमा बौद्धग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । नेपालमा यो सीमित चलचित्र भवनमा मात्र प्रदर्शन गरिएको छ ।

नेपालका निर्माता षट्कोण आर्टसको निम्तोमा नेपाल आइपुग्नुभएका निर्देशक नोर्बुले सरल चलचित्रको बारेमा आफ्ना विचार राख्नुभयो । ‘हामीले हेर्ने चलचित्रमा हलिउड शैली हुन्छ । त्यो पनि परम्परागत । त्यहाँ सबै किसिमको भाव मिसाइएको हुन्छ’, उहाँले भन्नुभयो, ‘हामीलाई त्यस्ता चलचित्र हेर्ने बानी परिसकेको छ । त्यसैले अभिनेता वा नकारात्मक भूमिका गर्नेको बारेमा हाम्रो विचार पहिले निर्माण हुन्छ । हामीलाई त्यो भाष्य शैलीमा हलिउड र बलिउडका चलचित्र प्रशस्तै प्रस्तुत गरिसकेका छन् ।’

आफू निर्देशित चलचित्र हेर्नु अगाडि नै केही खास घटनाक्रम नहुने नोर्बुले बताउनुभयो । ‘मेरो चलचित्रमा ठूला घटनाक्रम हुँदैनन् । त्यो हेर्दा तपाईँलाई आफ्नै कथा महसुस हुनुपर्छ । यसलाई मैले वास्तविकतासँग नजिक राखेर निर्माण गर्ने कोसिस गरेको छु’, उहाँले भन्नुभयो ।

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सके मात्र फरकपन महसुस हुने नोर्बुँको भनाइको तात्पर्य थियो । नेपाली र तिब्बती भाषामा रहेको चलचित्र लगभग रु १० करोडमा तयार भएको हो । यो चलचित्र बजारको निर्देशनबिना तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको निर्मातामध्येका एक दिपेश खत्रीले जानकारी दिनुभयो ।

‘चलचित्र निर्माणको समयमा बजारको चिन्ता थिएन । त्यसैले स्वतन्त्र रहेर काम गर्न पायौँ । कुनै दबाबलाई महसुस नगरी निर्माण भयो । अहिले प्रदर्शन पनि सीमित चलचित्र भवनमा सीमित शोमा मात्र छ’, निर्माता खत्रीले भन्नुभयो ।

काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के-के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ ।

  • rss


99
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्