२६ जेष्ठ २०८०, शुक्रबार

नक्कली शरणार्थी प्रकरणमा उच्च नेताहरूको भूमिका सन्देहास्पद !

  प्रकाशित मिति
३ जेष्ठ २०८०, बुधबार ०८:४८


नारायणकाजीमाथि अस्वाभाविक दबाब

अन्तर्राष्ट्रिय जगतमा देशको बदनाम गर्ने नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलका सबै उच्च नेताहरूको भूमिका सन्देहास्पद पाइएको छ । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेका छन् । उनले मन्त्री बनेकै दिन सुराकीको नाममा अपारदर्शी ब्यय गर्ने परम्परामा पूर्णविराम लगाइदिएका थिए । सुराकीका नाममा भइरहेको खर्चमा व्यापक भ्रष्टाचार हुँदै आएको जानकारी पाएपछि उनले मन्त्री बनेकै दिन सुराकीसम्बन्धी खर्च ब्यवस्था खारेज गरिदिएका थिए । त्यसलगत्तै श्रेष्ठले उनीभन्दा अगाडिका गृहमन्त्रीले नेपालीको राष्ट्रिय परिचयपत्र प्रमाणीकरण गर्न विदेशीलाई दिएको ठेक्का रद्द गरी उक्त कार्य नेपाल सरकार आफैले गर्ने निर्णय गरे । त्यसपश्चात श्रेष्ठले मिटरब्याज लिने कुपरम्परा अन्त्यका निम्ति विशेष निर्णय लिएका छन् ।

सुशासनको प्रत्याभूति दिलाउने क्रममै श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न ब्यक्तिहरूको पहिचान गरी तिनलाई हदैसम्मको कानूनी कारवाही गर्ने कठोर प्रक्रिया सुरु गरेका छन् । यस प्रकरणमा राज्यका जिम्मेवार ब्यक्तिहरू नै संलग्न पाइएपछि नारायणकाजी श्रेष्ठ थप गम्भीर बनेको र, देशको अन्तर्राष्ट्रिय बदनामी गराउने यस कार्यमा सामेल भएका कसैलाई नछाड्ने दृढताका साथ उनी अघि बढेपछि देशमा धेरै ठूलो तरङ्ग पैदा भएको छ भने शीर्षस्थ नेताहरूको समेत होसहवास नरहने स्थिति उत्पन्न भएको छ । शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीका सूरक्षा सल्लाहकार इन्द्रजित राईलगायत तेह्र जना ब्यक्ति पक्राउ परिसकेका छन् भने अन्य केहीलाई अनुसन्धान र कारवाहीको दायरामा ल्याउने प्रयास भइरहेको छ । हालसम्मको अनुसन्धानका क्रममा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा र पुत्र प्रतीक थापाको पनि संलग्नता भेटिएको छ । पुत्र थापा पक्राउ परेपनि पत्नी नैनकलाको खोजी प्रहरीले गरिरहेको छ ।

त्यस्तै पूर्व गृहसचिवहरू महेश्वर न्यौपाने र प्रेमकुमार राई, पूर्वराजदूतका पति अजयक्रान्ति शाक्य तथा राजेश बज्राचार्य र राजेन्द्र स्थापितलगायतका ब्यक्तिहरू पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएको तथ्य प्रहरीले फेलापारेको छ । उनीहरूलाई कसरी र कहिलेसम्म अनुसन्धान र कारवाहीको दायरामा ल्याउने हो सोको प्रतीक्षा भइरहेको छ । रामबहादुर थापा बादल, दिपेश पुन, मन्जु खाण र आरजु राणाको संलग्नताबारे अहिलेसम्म भएको अनुसन्धानले उनीहरूविरूद्धको प्रमाण फेलापार्न प्रहरीले सकेको छैन । रामबहादुर थापा संलग्न रहेको विश्वास प्रहरीलाई छ, तर त्यसको प्रमाण मिल्न सकेको छैन । मन्जु खाणसमेत यो धन्दामा सामेल भएको विश्वास प्रहरीलाई भएपनि उनको संलग्नताको पुष्टि कतैबाट हुन सकिरहेको छैन । त्यस्तै, आरजु राणा र दिपेश पुनको संलग्नताको पनि कतैबाट कुनै प्रमाण मिलिरहेको छैन । त्यसैले आरजु, मन्जु र दिपेशले यो प्रकरणमा उन्मूक्ति पाउने सम्भावना छ । बाँकी दोषीको हकमा भने एक साताभित्रै अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु भएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार शरणार्थी प्रकरणका दोषीहरूमाथि भ्रष्टाचार, ठगी, राज्यविरूद्धको अपराध, सङ्गठित अपराध, सरकारी पदको दुरुपयोग र कीर्ते गरेको जस्ता अपराधमा मुद्दा चलाइने भएको छ । उच्च तहका मानिने एउटै ब्यक्तिलाई आधि दर्जन आरोपको मुद्दा दर्ता हुन लागेको सम्भवतः यो नै पहिलो घटना हो ।

यसरी नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणका दोषीहरू कसैलाई पनि नछोड्ने भएपछि शीर्ष नेताहरूको छट्पटी निकै बढेको पाइएको छ । धमाधम उच्च तहका ब्यक्तिहरू पक्राउ पर्न थालेपछि प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच अनेकौँ पटक सम्वाद र सम्पर्क भइरहेका छन् । श्रेष्ठको यस्तो कार्यको खुलेर विरोध गर्न उनीहरूले सकिरहेका छैनन् र, समर्थन गर्न त झन् सकेकै छैनन् । जहाँसम्म पुगेको छ यत्तिमै टुङ्ग्याइयोस् भन्ने चाहना शीर्ष नेताहरूमा रहेको पाइएको छ । जनसमर्थन प्राप्त यति ठूलो कदमको जस (यश) एक्ला नारायणकाजीलाई मिलिरहेको तथ्य स्वीकार गर्न पनि शीर्ष नेताहरूलाई मुस्किल परिरहेको देखिन्छ । त्यसैले उनीहरू यो घटना अन्तर्राष्ट्रिय योजना र दबाबमा भएको प्रचार गराएर नारायणकाजीको योगदान तथा भूमिकाको अवमूल्यन गराउने नियोजित प्रयासमा जुटेका छन् । अमेरिकी योजना र दबाबमा शरणार्थी प्रकरण अघि बढेको प्रचार यसरी गरिँदै छ कि होइन भन्नेहरू नै गलत भन्ने स्थिति बनाइएको छ । जबकि यो प्रकरणमा अमेरिका र कुनैपनि मुलुक या अन्य अन्तर्राष्ट्रिय निकायहरूले गृहमन्त्रीमाथि कुनै पनि स्तरको आग्रह या दबाब दिएको बुझिँदैन ।

यस सम्बन्धमा घटना र विचारले स्वयम् नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउँदा उनले हाँस्दै भने- ‘मेरो प्राथमिक कार्य नै देशमा सुशासन र शान्तिसूरक्षाको अनुभूति दिलाउनु हो, मलाई आफूले सामान्य काम नै गरिरहेको छु भन्ने लाग्दैछ । सरकारको एउटा जिम्मेवार सदस्यलाई आफ्नो दायित्व पूरा गर्न कुनै बाह्यशक्तिको सुझाव या दबाब आवश्यक पर्छ भन्ने म ठान्दिनँ र, ममाथि कसैको दबाब पनि छैन । कसैको योजना र दबाबका आधारमा काम गर्ने ब्यक्तिमा म पर्दिनँ र पर्नेछैन । सामान्य पदीय दायित्वअनुसारको काम गर्न पनि कसैको योजना या दबाबको प्रतीक्षा गर्नुपर्छ भन्ने म ठान्दिनँ । यस सम्बन्धमा जुन हल्ला चलाइएको छ त्यो शतप्रतिशत गलत हो ।’


1.503k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको