इतिहास मेट्ने दुष्चक्र

इतिहास मेट्ने दुष्चक्र


जतिसुकै पुरानो भए पनि हाम्रो निम्ति पृथ्वी त्याज्य हुन सक्दैन र देश पनि । ज्यान पुरानो भयो भन्दैमा यसको विकल्प नभएजस्तै मानिसको जीवनमा कम्तीमा तीन कुराको विकल्प खोजिनुलाई स्वाभाविक मानिँदैन- पृथ्वी, देश र प्रजातन्त्र मानवजीवनसँग यसरी जोडिएका तत्त्व हुन् जसको विकल्पबारे सामान्यतया मानिस सोच्ने गर्दैनन् । वैज्ञानिकहरूले पृथ्वीजस्तै प्राणीयोग्य ग्रहको खोजी गर्नुलाई सामान्य मानिसको सोचका रूपमा बुझनुहुँदैन, त्यस्तै कतिपय व्यक्तिविशेषले सहज जीवनका निम्ति विशेष अवस्थामा देशको विकल्प खोज्ने गरेका भए पनि आमजनता देशको विकल्प खोज्दैनन् र देशको विकल्प पनि देशबाहेक अर्को केही हुने गर्दैन । सामाजिक जीवनबाट विरक्तिएर एकान्तबास खोज्ने केही वैरागीहरूले जीवनको होइन, जीवनशैलीको विकल्प पाए पनि उनीहरू कुनै न कुनै रूपले समाजसँग आश्रति रहिरहेका हुन्छन् । प्रजातन्त्र पनि एउटा यस्तो साधन या अवधारणा हो जसको विकल्प प्रजातन्त्रलाई मात्र ठानिन्छ । प्रजातन्त्रका राजनीतिक प्रणालीगत विभिन्न ‘मोडालिटी’ अस्तित्वमा देखिएका भए पनि सारमा प्रजातन्त्रको विकल्प खोजिँदैन, खोजे पनि भेटिँदैन र भेटिए पनि त्यो अत्यन्त क्षणिक एवम् अस्वीकार्य हुन्छ । विश्व राजनीतिक इतिहासमा प्रजातान्त्रिक अवधारणाको विकास हुनुअघि प्राचीनकालमा प्लेटोले आदर्श राज्यको जुन परिकल्पना गरेका थिए त्यसलाई प्रजातन्त्रको एउटा सुन्दर मोडल मान्न सकिन्छ । महाभारतमा राजधर्मको बयान जसरी गरिएको छ त्यसले पनि प्रजातन्त्रको एउटा रूपको सजीव चित्रण गरेको छ भन्न सकिन्छ । प्रजातन्त्रलाई विकल्पहीन ठानिएकै कारण यो अवधारणा जतिसुकै पुरानो भए पनि त्यसको विकल्प होइन, परिमार्जन मात्र खोजिएको हो । परिमार्जनको खोजी क्रममै क्रान्तिपूर्व फ्रान्समा मन्टेस्क्युले शक्ति पृथकीकरणको अवधारणा ल्याएपछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई स्वतन्त्र राखिनुपर्ने मान्यता स्थापित भएको हो । कसैको दास बन्न नचाहने ब्रिटिसहरूले प्रजातान्त्रिक प्रणालीको परिकल्पनालाई जसरी व्यवहारमा उतारे त्यसले ब्रिटेनलाई प्रजातन्त्रको जननी मुलुकका रूपमा स्थापित मात्र गराएन, विश्वमै प्रजातान्त्रिक सोचको विकासमा पनि ठूलो योगदान पुर्‍यायो । सत्रौँ शताब्दीमै ब्रिटेनले प्रजातन्त्रको अभ्यास गर्न थालेको थियो र आज करिब चार शताब्दी बितिसक्दा पनि ब्रिटेनले स्थापित गरेको प्रजातान्त्रिक मूल्य-मान्यतालाई पुरानो भएकै कारण नाजायज ठानिएको छैन । सबैको हितमा हुने, परिवर्तनलाई आत्मसात् गर्ने विचार, दर्शन र सिद्धान्त जतिसुकै पुरानो भए पनि त्यसलाई अप्रासङ्गिक र नाजायज ठानिँदैन । हरेक प्रकारका मानवीय स्वतन्त्रतालाई आत्मसात् गर्ने भएकै कारण प्रजातान्त्रिक मूल्य र मान्यता मानव समाजका लागि अजम्बरी हुन पुगेका छन् । जतिसुकै पुरानो भए पनि प्रजातन्त्रको विकल्प मानिसले नखोज्नुको कारण त्यसले आत्मसात् गरेको सर्वजन हिताय सर्वजन सुखायको मान्यता नै हो । प्रजातान्त्रिक विचारभन्दा साम्यवादी विचार नयाँ हो, तर त्यसले सर्वजन हितायको नारा दिए पनि निश्चित वर्ग र दलको एकलौटी शासनलाई अवलम्बन गर्ने हुँदा एक कालखण्डमा धुमधाम फैलिएको साम्यवादी शासनप्रणाली चिरस्थायी हुन सकेन । रसियादेखि रुमेनियासम्मका साम्यवादी शासन पद्धति विस्थापित हुनुको कारण त्यसले अङ्गीकार गरेको गैरप्रजातान्त्रिक अवधारणा नै हो भन्न पर्याप्त आधार छन् ।
नेपालमा प्रजातान्त्रिक अवधारणाको विकास सात दशकअघि मात्र भएको हो र विक्रम सम्वत् २००७ सालमा एक सय चार वर्ष लामो राणाशासनको अन्त्य गर्न प्रजातान्त्रिक आन्दोलनले निर्णायक भूमिका निर्वाह गरेको थियो । जहानियाँ शासनको कब्जाबाट देशलाई मुक्त गर्न सात दशकअघिको पुस्ताले जुन लडाइँ लड्यो त्यसलाई कहिल्यै कसैले ‘डिलिट’ गर्न सक्दैन, ‘डिलिट’ गर्न सकिन्छ भन्ने कसैले सोचेका छन् भने त्यो एउटा भ्रमबाहेक केही हुने छैन । यस्तै भ्रमित सोच यसपटक माओवादीले प्रस्तुत गरेका छन् । माओवादी नेतृत्वको सरकारले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास मेट्न फागुन ७ गते मनाइने गरेको प्रजातन्त्र दिवसको उपेक्षा गर्‍यो र कुनै औपचारिक कार्यक्रमको आयोजना गरेन । नेपालको नयाँ पुस्ताले फागुन ७ को महत्त्वलाई राम्ररी आत्मसात् गर्न नसकेको भए पनि ऐतिहासिक सर्न्दर्भमा उक्त दिनको महत्त्व कसैले घटाएर घट्ने प्रकारको छैन । गंगालाल, शुक्रराज, धर्मभक्त र दशरथ चन्दहरूले आफ्नो व्यक्तिगत जीवन रोज्ने कि प्रजातन्त्र भन्ने प्रश्नमा खुसीसाथ प्रजातन्त्र प्राप्तिका लागि देहत्याग गर्ने प्रतिबद्धता दर्शाएका हुन् । २००७ सालपछि पनि मुलुकमा धेरै मानिस सहिद भए, तर यसरी सहिद भएकाहरूलाई जीवन रोज्ने कि प्रजातन्त्र भन्ने अवसर प्राप्त भएको थिएन । यदि त्यसरी ‘जीवन कि प्रजातन्त्र’ रोज्ने भन्ने अवसर दिइएको भए नेपालमा सहिदहरूको यति ठूलो ‘जुलुस’ सायदै खडा हुन सक्थ्यो । जुलुसमा सहभागी हुन जाँदा ‘र्‍याण्डम्ली’ छाडिएका गोली लागेर कतिपय मानिस सहिद भएका थिए भने कति झ्यालमा बसेर रमिता हेर्ने क्रममा र कतिचाहिँ तरकारी किन्न जाँदा गोली लागेर मारिएकालाई पनि हामीले सहिदको दर्जा दिएका छौँ । बिनासंविधान, बिनाकानुन र बिना कुनै राज्य प्रणालीको राणा शासनविरुद्ध नेपालमा पहिलोपल्ट सुरु भएको प्रजातान्त्रिक आन्दोलन थियो र विधिको शासनका निम्ति सुरु भएको प्रथम आन्दोलनको सफलता प्राप्त भएको दिनलाई स्मरण गर्दै नेपाली जनताले फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा मनाउने गरेका हुन् । त्यस्तो ऐतिहासिक दिवसलाई उपेक्षा गरेर बाबुराम भट्टराईहरूले चार अमर सहिदको अपमान मात्र गरेनन्, इतिहास मेट्ने दुस्साहस पनि यिनले गरेका हुन् । बाबुआमा पुराना भए भन्दै डोकोमा हालेर फाल्ने मूर्ख पुत्रको भूमिका निर्वाह गर्दै बाबुरामहरूले फागुन ७ को ऐतिहासिक पर्वलाई जसरी उपेक्षा गरे, यसले आज यिनले रचेको इतिहासलाई भोलिको पुस्ताले किन स्वीकार गर्ने भन्ने प्रश्न उठाएको छ ।
नयाँ इतिहास रच्नु भनेको कविता रच्नुजस्तो होइन र नयाँ कविताको जन्म हुँदैमा पुरानो कविता विस्थापित हुने पनि होइन । तर, कम्युनिस्टहरू नयाँ इतिहास रच्ने नाममा पुरानो इतिहास नामेट पार्न चाहन्छन् । यस्तो घटना नेपालमा मात्र भएको होइन, रसियामा लेनिन र स्टालिनले पनि यस्तै भूमिका निर्वाह गरेका थिए र चीनमा माओ त्से तुङले चलाएको कथित सांस्कृतिक क्रान्ति पनि पूर्वस्थापित ऐतिहासिक चिनोहरू सम्पूर्ण रूपले नामेट तुल्याउने आकाङ्क्षाबाट प्रेरित थियो । तर, आजको चाइनाले इतिहासको महत्त्व राम्ररी बुझेको छ, फर्विडेनसिटी, राजाका चिहान र समरप्यालेस मात्र होइन १५औँ शताब्दीमा कुनै राजा झुण्डिएर मरेको एउटा रूखको समेत चीनले संरक्षण गरिरहेको छ । सन् १९४९ मा माओवादीले चीनको राज्यसत्ता कब्जा गरेको भए पनि त्यहाँ सन् १९११ मा सम्पन्न क्रान्तिलाई उत्तिकै सम्मानजनक ढङ्गले हेर्ने र आत्मसात् गर्ने गरिन्छ । डा. सनयात सेनलाई भुलेर चीनको इतिहास बुझ्न नसकिएझैं नेपालमा पनि २००७ सालको क्रान्तिलाई ओझेलमा पारेर नेपालको इतिहास पढ्न-बुझन सकिँदैन ।
माओवादीहरूको हातमा सम्पूर्ण सत्ता गयो भने नोटमा प्रचण्डको तस्बिर, माओ र प्रचण्डको जन्मदिन राष्ट्रिय पर्व, फागुन १ गते सार्वजनिक बिदा आदि हुनसक्ने परिकल्पना बुजु्रक समुदायले गरिरहेका छन् । कुनै एउटा दलविशेषले हिंसात्मक आन्दोलन सुरु गरेको फागुन १ गतेलाई सर्वाधिक महत्त्व दिँदै देशको विभिन्न ठाउँमा भव्य समारोहहरूको आयोजना गरिनु र प्रधानमन्त्री स्वयम्ले त्यस्तो कार्यक्रममा उत्साहजनक सहभागिता जनाउनु तर फागुन ७ गते भने कुनै पनि औपचारिक कार्यक्रम नगरिनुले बाबुरामहरू नेपालको प्रजातान्त्रिक आन्दोलनप्रति कस्तो धारणा राख्छन् भन्ने कुराको स्पष्ट सङ्केत दिएको छ । बाध्यात्मक कारणले सरकारद्वारा प्रजातन्त्र दिवस नमनाइएकोमा आत्मालोचना गरिए पनि माओवादीले आफ्नो स्थिति सुदृढ हुँदा प्रजातन्त्र दिवसलगायत पूर्व स्थापित मान्यताहरू नामेट तुल्याउन प्रयास गर्ने सम्भावना भने मेटिएको छैन ।
माओवादीले ऐतिहासिक चिनो र राष्ट्रको मौलिक पहिचानलाई मेट्ने प्रयास गरेको यो पहिलो घटना भने होइन । ०६३ मा लोकतन्त्र स्थापना हुनेबित्तिकै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ढालेर उनीहरूले नेपालको इतिहासप्रति पहिलो धावा बोलेका हुन् । माओवादीकै अग्रसरतामा पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवससमेत खारेज गरिएको छ । त्यसपछि असी प्रतिशतभन्दा बढी जनताले आफ्नो मौलिक धर्मको रूपमा स्वीकार गरेको सनातनी हिन्दूधर्म र विश्वको एक मात्र हिन्दू राष्ट्रको पहिचानमाथि उनीहरूले निसाना साधे र देशलाई धर्मनिरपेक्ष घोषणा गरे । नेपालको इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको शाहवंशीय राजसंस्थालाई विस्थापित गरी नेपालको अर्को मौलिक पहिचान मेट्न पनि माओवादीले मुख्य भूमिका निर्वाह गरेकै हुन् । नेपालको एउटा विशेषता जातीय एवम् क्षेत्रीय सद्भावको हो, जातीय र क्षेत्रीय राज्यको अवधारणा अघि सारेर माओवादीले देशको एकतामा सङ्गीन चुनौती थप्ने कार्य पनि गरिरहेकै छन् । त्यस्तै नेपालको मौलिक सम्वत्को रूपमा रहेको विक्रम सम्वत्लाई विस्थापित गर्न पनि उनीहरू प्रयासरत छन् । देशलाई एक सूत्रमा उन्ने धागोको रूपमा रहेको नेपाली भाषालाई कमजोर र रुग्ण बनाउन पनि तिनले डलर खेतीलाई प्रोत्साहन गरिरहेका छन् । नेपालको ऐतिहासिक राष्ट्रिय झण्डा बदल्न र नेपालको नामसमेत परिवर्तन गर्न माओवादीले गरेको प्रयास कसैले भुलेका छैनन् ।
माओवादीले यसरी देशको मौलिक पहिचानसँग जोडिएका ऐतिहासिक चिनोहरू मेट्न प्रयास गर्नुको मूल कारण उनीहरू अरू सबैको अस्तित्व र भूमिकाप्रति असहिष्णु र पूर्वाग्रही भएकोले हो भन्ने सजिलै बुझन सकिन्छ । यतिबेला माओवादीले हिंसात्मक युद्धको कारबाही सिद्धान्ततः स्थगित गरे पनि दस्तावेज र तिनका मानसिकतामा उक्त प्रवृत्ति जीवित नै रहिआएको छ । उनीहरू राज्य संयन्त्र र विधानलाई कथित क्रान्तिका पक्षमा उपयोग गर्दै बढ्न कृतसङ्कल्पित छन् । सीधा युद्ध लडेर प्राप्त हुन मुस्किल पर्ने ‘उपलब्धि’ हासिल गर्न उनीहरू राज्यसत्ताको भरपूर उपयोग गर्दै छन् । आफ्ना निहित मूल्य-मान्यतालाई किस्ताबन्दीमा स्थापित गर्दै जाने र कथित जनवादी संस्कृतिलाई मनोवैज्ञानिक रूपमा स्वीकार गराउँदै लैजाने चालबाजीअन्तर्गत माओवादीले अनेक निर्णय लिने गरेको छ । पूर्वस्थापित मान्यता र इतिहास मेट्दै त्यसको विकल्पमा कम्युनिस्ट मान्यता र आचरणलाई स्थापित गर्ने माओवादी प्रयत्नलाई समयमै बुझ्न र त्यसलाई चिर्न नसक्ने हो भने देशमा अल्पकालकै लागि भए पनि भयावह स्थिति सिर्जना हुन सक्छ भन्नेतर्फ सम्पूर्ण देशवासीहरू सचेत रहन आवश्यक छ । पुरानो इतिहास मेटी आफ्नोअनुकूलको इतिहास रच्ने र क्रमशः देशलाई एकदलीय अधिनायकवादमा आधारित कथित जनवादी राज्यसत्ता निर्माणमा निर्लिप्त रहने उनीहरूको नियत ‘फागुन ७’ प्रकरणमा पोखिएको हो । त्यसैले प्रजातन्त्रको विकल्प खोज्ने यस घटनालाई सामान्य रूपमा बुझ्नु नेपाली जनताको गम्भीर भूल हुनेछ । अरूको इतिहास मेट्नेको आफ्नै इतिहास पनि जोगिने छैन भन्ने सत्य बुझ्न बाँकी रहेका माओवादीलाई छेकवार लगाउन नेपालका स्वाभिमानी जनता र प्रजातन्त्रपक्षीय दलहरूले सक्ने हुन् या होइनन् प्रतीक्षाको विषय बनेको छ । तर, स्थापित मूल्य-मान्यता र इतिहास कुनै व्यक्ति या समूहविशेषको लहडमा मेटिँदैन भन्ने कुराको विश्वमा अनगिन्ती उदाहरण छन् । रसियामा बहत्तर वर्षसम्म धर्मका विरुद्ध शिक्षा दिइयो, माक्र्स, ऐंगेल्स र लेनिनहरूलाई देवतासरह पूजा गर्न सिकाइयो, तर बहत्तर वर्षपछि कम्युनिस्ट शासन ढल्दा लाखौँ मानिस गिर्जाघरहरूमा जम्मा हुन पुगेका थिए । यसले कम्युनिस्टले चाहेकै भरमा स्थापित मान्यता र इतिहास मेटिँदैन भन्ने स्पष्ट गरेको छ । तथापि जनतामा सचेतनता भइदिएन भने केही कालकै लागि भए पनि देशले दुःख पाउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान आवश्यक छ ।