२६ जेष्ठ २०८०, शुक्रबार

‘आरम्भदेखि नै युद्धमा भिडे पनि प्रचण्डलाई शान्ति-सम्झौतापछि मात्र देखेकी हुँ’

  प्रकाशित मिति
१८ चैत्र २०७९, शनिबार ०२:४८


  • पुष्पा घर्ती बिष्ट (माओवादी नेतृ)
जाजरकोट डाँडागाउँमा जन्मिएर युवावस्थादेखि नै राजनीतिक क्रियाकलापमा संलग्न पुष्पा घर्ती बिष्ट नेकपा (माओवादी केन्द्र) को केन्द्रीय नेतृ हुन् । तत्कालिन अवस्थामा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा आरम्भदेखि नै होमिएर जनमुक्ति सेनाको बटालियन कमिसारको जिम्मेवारीसमेत सम्हालेकी पुष्पा एक जुझारु व्यक्तित्वका रूपमा पार्टीपङ्क्तिमा परिचित छिन् । युद्धको अन्त्य तथा शान्तिसम्झौता हुँदै संविधानसभाबाट संविधान बनेर मुलुक सङ्घीय प्रणालीमा गएपछि बनेको कर्णाली प्रदेशको उपसभामुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी उनी हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिरहेकी छन् । प्रस्तुत छ, पुष्पा घर्ती बिष्टसँग गरिएको कुराकानीका केही अंश :

० राजनीतिमा आउन प्रेरित केले गऱ्यो तपाईंलाई ?
– म हुर्किंदै गरेको समाज, त्यहाँको संस्कार/संस्कृति, रीति–थितिले नै मलाई राजनीतिक क्रियाकलापतर्फ डोऱ्याएको हो । खासगरी छोरीहरूप्रति गरिने व्यवहारले प्रमुख भूमिका खेलेको छ । मैले थाहा पाउँदासम्म हाम्रो समाजमा मुखियाप्रथा थियो । मुखियाको घरमा गएर काम गरिदिनुपर्ने, छोरीहरू एकदम हेपिनुपर्ने परिवेश थियो । अझ गम्भीर कुरा त त्यहाँ महिलालाई लतार्ने चलन थियो, अर्थात् मनलागेको महिलालाई तानेर/लतारेर जबर्जस्ती लगेपछि उसैसँग बस्नुपर्ने/विवाह गर्नुपर्ने कुरीति थियो । त्यस्तो तानीविवाहसँग मलाई अत्यन्त डर लाग्थ्यो । कतै त्यस्तो कुप्रथाको शिकार म बन्ने त होइन भन्ने डर हरदम लागिरहन्थ्यो । त्यसको त्रासले म जात्रामात्रा पनि जाँदिनथेँ । हाम्रो समाजमा छुवाछुत तथा जातीय भेदभावले पनि निकै जरा गाडेको थियो । यो ठिक होइन भन्ने लाग्थ्यो र माओवादी पार्टीले त्यस्तो कुसंस्कारको विरोध गर्ने गरेको कारण म स्वतः त्यसतर्फ आकर्षित भएँ ।

० आरम्भमा पार्टी-सङ्गठनमा आवद्ध हुँदाको सन्दर्भमा केही बताइदिनुस् न !
– पार्टी भूमिगत अवस्थामा रहेकोले खुल्ला रूपले साङ्गठनिक गतिविधि गर्नका लागि पार्टीले ‘संयुक्त जनमोर्चा’ नामक वैधानिक मोर्चा बनाएको थियो । सो क्रममा हाम्रो जिल्लाका नेताहरू कालीबहादुर मल्ल, शक्तिबहादुर बस्नेतहरूले ‘जनमुक्ति सांस्कृतिक परिवार’ बनाउनुभएको थियो, त्यसमा म पनि आवद्ध भएँ । त्यतिबेलाको समयमा मादल, झ्याली जस्ता स्थानीय बाजागाजा लिएर सांस्कृतिक कार्यक्रमका लागि गाउँ-गाउँ पुग्दा माहोल नै अर्कै हुन्थ्यो । अहिलेजस्तो परिवेश थिएन, त्यसैले हामीप्रति जनताको आकर्षण विशेष खालको हुन्थ्यो । सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने क्रान्तिकारी गीत, आमूल परिवर्तनको सन्देश दिने गीत तथा नाचगानको प्रभाव राम्रो पर्दथ्यो । यसरी जनता प्रभावित हुँदै जाँदा व्यक्तिगत तवरले म पनि परिवर्तनकामी आन्दोलनप्रति तानिँदै गएँ । पहिले विद्यार्थी सङ्गठनमा सक्रिय थिएँ, अनेमसङ्घ (क्रान्तिकारी)को नेतृत्व तहमा पनि रहेँ, लामो समय पार्टी सङ्गठनमा आवद्ध हुँदै पछि जनमुक्ति सेनामा जोडिएर कमाण्डिङ गर्ने स्थानसम्म पनि पुगेँ ।

० घर नै छोडेर कहिले निस्कनुभएको थियो ?
– हाम्रो पालामा माघ महिनामा एसएलसी परीक्षा हुन्थ्यो । २०५२ सालको माघ अन्तिम साता एसएलसी परीक्षा सकाएर घर फर्किंदा जनयुद्ध सुरु गर्ने दिन ‘फागुन १’ परेको थियो । गाउँ त पुगियो तर गाउँभरि प्रहरीको धरपकड र दमन सुरु भइसकेको रहेछ । पहिले नै खबर पाएर म त्यतैबाट ‘साइड’ लागेको थिएँ ।

० युद्धकालसँग जोडिएका घटना/सन्दर्भहरू त तपाईंसँग बग्रेल्ती होलान्, शान्तिसम्झौता भएर मूलधारको राजनीतमा जोडिएपछि तपाईं समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य एवम् कर्णाली प्रदेशसभाको उपसभामुखसम्मको जिम्मेवारी सम्हाल्ने स्थानमा पनि पुग्नुभयो, उपसभामुख हुँदाको अनुभव केही सेयर गरिदिनुस् न !
– म सांसद् भएको पहिलो कार्यकालमै उपसभामुख भएकोले अनुभवको हिसाबले त अन्योलता र चुनौती ठूलै थियो । मुलुक भर्खरै सङ्घीयतामा गएको र नयाँ परिपाटी तथा परिवेशमा विनाअनुभव काम गर्नुपर्दा नौलो अनुभूति त हुने नै भयो । कार्यालयमा कुर्सीसम्म थिएन, आफैले कर्मचारीलाई भनेर टेबुल-कुर्सी ठड्याउनुपरेको थियो । सभामुख, मुख्यमन्त्री सबैको हालत त्यस्तै नै थियो, आफ्नो कार्यालयको संरचना आफैले खडा गरेर काम सुरु गर्नुपर्ने ! फेरि, बाहिरबाट हेर्दा समस्या र समाधानको बाटो पनि अर्कै देखिन्छ तर भित्र छिरेर काम गर्न त सोचेजस्तो नहुने रहेछ । प्रदेशले आफ्नो अधिकार र कर्तव्य पहिचान गरेर खाका बनाउनुपर्ने अवस्था थियो, अझै पनि साझा अधिकार र एकल अधिकारको बहस जारी नै छ भने सुरुमा त जटिल हुने नै भयो । जे होस्, सांसदले जनताका समस्याका कुराहरू संसद्मा अधिकतम रूपमा उठाउन सकुन् भन्ने ध्येयका साथ अनुकुल माहोल निर्माण गर्न हामीले भरमग्दूर प्रयत्न ग¥यौँ । दलहरूबीच मित्रता हुँदा त काममा सहजता नै रहन्थ्यो, तर दलबीच तिक्तता नहुँदा चाहिँ अनेक ब्यवधान ब्यहोर्नुपर्थ्यो ।

० उपसभामुख जस्तो उपल्लो जिम्मेवारीमा रहेर काम गर्दा महिला भएकै कारण असहज या सहज भएको कुनै अनुभव छन् कि ?
– महिला भएकै कारण असहज नै महसूस गर्नुपर्ने अवस्था आइपरेको अनुभव मसँग चाहिँ भएन, छैन । सायद त्यो पद नै त्यस्तै भएर हो कि ? अँ.., पदीय हिसाबले त्यस्तो नभए पनि सामान्य व्यवहारमा चाहिँ महिला भएकै कारण अर्कै व्याख्या गर्न खोजिने, अलिक हेपेर व्यवहार गर्न खोजिने अवस्था भने आमरूपमा रहेकै छ ।

० आफू पदमा हुँदा यो काम गर्न सकिन्थ्यो तर गर्न पाइएन/सकिएन भन्ने कुनै त्यस्तो खट्किएको कुरा छ कि ?
– नयाँ संरचनामा गएको हुँदा गर्नुपर्ने काम त धेरै थिए । भौतिक संरचनादेखि कानुनी र व्यवस्थापनका कुरा पनि यावत थिए । सबै गर्न भ्याइएन, सकिएन । तर हामीले यत्ति काम गर्न नसकेकोले बर्बाद नै भयो भनी पछुतो मान्नुपर्ने सन्दर्भ पनि खास छैन । किनकि, नयाँ व्यवस्थामा गर्नुपर्ने काम-कुरा त कति छन् कति, जो अझै प्रक्रियामै छन् । यो क्रमशः हुँदै जाने, खारिँदै जाने विषय हो ।

० तपाईंहरू चरणवद्ध रूपमा खटेर आजको स्थानसम्म आइपुग्नुभएको छ, तर आजकाल त चिन्दै नचिनेका मानिसहरू रातारात एकैचोटि माथि पुगेका देखिन्छन्, यो महसूस गर्नुभएको छ ?
– हो, हामीले मसिना-मसिना काम गर्दै अघि बढ्यौँ, अहिले भने एकैचोटि पद चाहिने होडबाजी देखिएको छ । हामी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न इमानदारीका साथ कटिबद्ध हुन्थ्यौँ, हुँदै आएका छौँ । म त्यत्तिका समय पार्टीको काममा होमिएँ, तर अध्यक्ष कमरेड प्रचण्डलाई शान्तिप्रक्रियामा आएपछि मात्र देखेकी हुँ । आजकाल त उच्च तहका नेतासँग नजिकिएर स्वार्थपूर्ति गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति ठिक होइन भन्ने लाग्छ ।

० अप्ठ्यारो अवस्थामा काम गरेर अनुभव हासिल गरेका तपाईंजस्ता व्यक्तिहरू अहिले पछि पारिए जस्तो लाग्दैन ?
– नयाँ जिम्मेवारी प्राप्त भए विगतका अनुभवलाई सदुपयोग गरेर अझै परिस्कृत काम गरी मुलुकको लागि योगदान पु¥याउन सकिन्थ्यो भन्ने त लाग्छ नै । तर सबैले सांसद हुर्नैपर्ने, मन्त्री पाउनैपर्ने भनेर हानथाप गर्न पनि त मिल्दैन नि ! त्यस्ता पदभन्दा बाहिर रहेर पनि देश र जनताको लागि काम गर्न सकिन्छ र, हामीजस्ता राजनीतिकर्मीको दायित्व व्यापक रहन्छ भन्ने लाग्छ मलाई । तथापि, दलहरूले जिम्मेवारी दिँदा अनुभवी र नयाँ दुवैलाई मिलाएर दिन सके कार्यपरिणाममा थप गुणात्मकता आउँथ्यो कि भन्नेचाहिँ मलाई पनि लाग्छ ।

० तपाईं जीवनको कलिलो उमेरदेखि नै राजनीतिक अभियान र युद्धमै समेत होमिनुभयो । विवाह पनि युद्धकालमै गर्नुभयो । यस्तोमा पार्टी-सङ्गठनको काम, युद्ध-मैदानको कर्तव्य अनि घर-परिवार व्यवस्थापनको सामन्जस्यता कसरी मिलाउनुहुन्थ्यो ?
– अप्ठ्याराहरू त कति हो कति, तमाम व्यवधान थिए तर परिवेश वा परिस्थितिले त्यसको सामना गर्न पनि सिकाउँदोरहेछ । म त काखमा बच्चा बोकेरै जाजरकोटदेखि दार्चुलासम्म पुग्नुपऱ्यो । डडेलधुरा, डोटी, कन्चनपुर सबैतिर पुगेर काममा खटिएँ म । कति पटक बमबारी भएकै अवस्थामा पनि काखको बच्चासहित बच्न सफल भएँ । पछि १८ महिनाको बच्चा घरमा छोडेर मैले जनमुक्ति सेनाको बटालियन कमिसारको जिम्मेवारी सम्हालेको थिएँ ।

० त्यसबेला त्यसरी कष्ट झेलेर युद्ध मैदानमा खटिँदा कस्तो सपना देख्नुभएको थियो र आज देशको अवस्था देख्दा कस्तो महसूस भइरहेछ नि ?
– कि मुक्ति कि मृत्यु भनेर हामी युद्धमा लागेका थियौँ । वर्गविहीन समाज, छुवाछुत र भेदभाव नभएको र श्रमको सम्मान हुने परिवेशको कल्पना गरेका थियौँ । त्यो खालको समाज निर्माण गर्ने, सुन्दर राज्य-व्यवस्था स्थापना गर्ने सोच अनि उद्देश्य थियो त्यस समयमा, र त हामी ज्यानकै परवाह नगरी होमिएका थियौँ । तर, समय-परिस्थितिले युद्ध छोडेर शान्ति-सम्झौतामा आउनुपऱ्यो, संसदीय परिपाटीमा जोडिएर आज निजी जीवन बाँच्ने परिवेशमै अल्झिनुपर्दा कस्तो-कस्तो त लाग्छ नै, अब के होला भन्ने खुल्दुली पनि मनमा जाग्छ नै ! तथापि, यो पनि वर्ग सङ्घर्षको अर्को एउटा रूप हो भन्ने बुझाइ छ हाम्रो । प्रकारान्तरले हामी सङ्घर्षमै छौँ भन्ने लाग्छ । युद्धबाट सोझै परिवर्तन भन्ने सोचलाई बदलेर कानुनी प्रावधान अँगालेरै पनि समाजलाई परिवर्तन गर्न सकिन्छ, समृद्ध तुल्याउन सकिन्छ कि भनी हामी हेरिरहेका छौँ अहिले ।

० राजनीतिमा लाग्न चाहने युवा तथा महिलालाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ?
– राजनीतिमा नयाँ पुस्ता वा युवाहरू नजोडिइकन कुनै पनि राजनीतिक दल वा सङ्गठनले फड्को मार्न सक्दैन भन्ने मेरो बुझाइ छ । म १५-१६ वर्षको उमेरमा माओवादी आन्दोलनमा जोडिएकी थिएँ, हाम्रो पुस्ता जोडिएकैले पार्टी आज यहाँसम्म आइपुगेको हो । राजनीतिप्रति वितृष्ण बनेर मात्र हुँदैन, किनकि राजनीतिमा जोडिएर नै नयाँ पुस्ताले समयअनुसार मुलुकको आवश्यकता पूर्ति गर्न सक्छ, गर्नुपर्छ । सारमा भन्नुपर्दा युवाहरू उन्नत समाज बनाउने, समृद्ध देश निर्माण गर्ने इमानदार सङ्कल्पका साथ राजनीतिमा आउनैपर्छ ।


738
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको