२६ जेष्ठ २०८०, शुक्रबार

खेलाडीदेखि उद्यमी र समाजसेवी हुँदै मन्त्रीसम्म : ओमप्रकाश सरावगी

  प्रकाशित मिति
१६ चैत्र २०७९, बिहीबार ०८:१३


बुबा स्व. सरजमल र आमा स्व. दुर्गादेवी सरावगीको पहिलो सन्तानको रुपमा मेरो जन्म २००० साल फागुनमा भद्रपुरमा भएको हो । बुवा नेपाल प्रजापरिसदको झापा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुनुहुन्थ्यो । मेची पुल निर्माण समितिको अध्यक्षका रुपमा सिमरा देखि काठमाडौंको प्लेन दुर्घटनामा उहाँको २०१४ सालमा निधन भयो । जसमा नेपाली कांग्रेसका प्रसिद्ध नेता एन.डी.प्रकाश चटौत पनि पर्नुभएको थियो भने यो नेपालकै पहिलो प्लेन दुर्घटना थियो ।

मेरो परिवारमा भाइहरू नन्दकिशोर सरावगी र देवानन्द सरावगी एवम् बहिनीहरू विमला र उर्मिला छन् । मलाई सानै उमेरदेखि राजनीति, समाजसेवा र खेलकुदमा रुचि थियो । अहिलेको भद्रपुर हाइस्कूललाई त्यतिबेला श्री पद्मोदय हाइस्कूल भनिन्थ्यो, त्यहाँ २०३१ सालमा कक्षा १० मा पढ्दै गर्दा म विद्यार्थी संघको अध्यक्ष भए । त्यसपछि राजनीति, समाजसेवा र खेलकुदमा मैले पछाडी फर्केर हेर्नु परेन । त्यसपछि भद्रपुर नगरपालिकाको वडा अध्यक्ष (२०२१), २०२७ सालमा फेरि वडा अध्यक्ष, २०२९ सालमा निर्विरोध प्रधानपञ्चमा निर्वाचित भएँ भने त्यतिबेला गाउँफर्क राष्ट्रिय अभियान आएपछि उपप्रधान पञ्च बनाइयो । बालिग मताधिकारको आधारमा २०४३ सालमा फेरि प्रधानपञ्च भएँ । जसमा ७२.४ प्रतिशत मत मैले पाएको थिएँ । सम्भवत ः यो त्यतिबेलाको नेपालकै रेकर्ड हो ।

त्यसपछि २०४६ सालदेखि नेपाली काङ्ग्रेसको साधारण सदस्य, पहिलो आम निर्वाचन प्रचार समितिको महासचिव, जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनीधि, महासमिति सदस्यका रुपमा सव्रिmय रहेँ । त्यसपछि पहिलो प्रदेशसभामा सांसद भएँ । जेष्ठताको आधारमा ९२ जना सांसदलाई शपथ ख्वाएँ । तीन पटक सभामुखको भूमिका निर्वाह गर्दै प्रदेशसभाको आर्थिक समितिको सदस्य र पछि भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रिसमेत भएँ ।

अब खेलकुदतर्फको कुरा गरौँ । २०१४ सालदेखि २०१६ सालसम्म फुटवलमा बी. टीमको खेलाडी, ब्याटम्यान्टिनमा दुई पटक जिल्ला च्याम्पियन, २०१७ सालमा भद्रपुर फुटवल एशोसिएसनको सचिव र २०२६ देखि २०४० सालसम्म मेची अञ्चल खेलकुद विकास समितिको सदस्य रहेर स्टेडियम निर्माणमा विशेष भूमिका निर्वाह गरेँ भने त्यसपछि नेपाल क्रिकेट संघको संस्थापक उपाध्यक्ष भएर १२ वर्षसम्म काम गरेँ । त्यसपछि भद्रपुरमा हुने त्रिभुवन मेमोरियल गोल्डकप (२०४८) को अध्यक्षका रूपमा समेत काम गरेँ । झापा जिल्लाका खेलाडीहरूमा म एक मात्र जीवित खेलाडी पनि हुँ ।

अब जाउँ उद्योग, व्यापार र समाजसेवातर्फ । २०२३ सालमा भद्रपुर मिल्स एशोसियसनको जिल्ला सभापति, २०२५ सालमा भद्रपुर मर्चेण्ट एशोसियसनको अध्यक्ष, नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्य भएँ । समाजसेवातर्फको कुरा गर्नुपर्दा नेपाल रेडक्रस सोसाइटीको संस्थापक उपाध्यक्ष भएँ भने दोस्रो कार्यसमितिमा अध्यक्ष भएर केन्द्रीय दैवीप्रकोप उद्धार समितिको केन्द्रिय सदस्य तथा नेपाल परिवार नियोजन संघमा पनि आवद्ध रहेँ । बालमन्दिरमा योगदान छ । सूर्याेदय जेसिजको सदस्य र हाल मानार्थ सदस्य रहेको छु । त्यसैगरी लायन्स क्लब अफ भद्रपुरको संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेण्ट), सल्लाहकार, प्रमुख सल्लाहकार हुँदै हाल डिष्ट्रिक 5 to C को ब्राण्ड एम्बेसडर छु ।

त्यसैगरी भद्रपुर मारवाडी संघको संस्थापक अध्यक्ष, नेपाल–भारत मैत्री संघको संस्थापक अध्यक्ष, पूर्वाञ्चल उपाध्यक्ष, त्यसपछि वरिष्ठ केन्द्रिय उपाध्यक्ष भएर हालसम्म तीन पटक केन्द्रीय अध्यक्ष छु ।

मैले काम गरेका संस्था अरु पनि छन् । मेची बहुमुखी क्याम्पस समितिको संस्थापक सचिव र हाल पनि सदस्य छु । त्यसपछि मेची अञ्चल अस्पतालको दुई पटक अध्यक्ष भएर भारतीय दुतावासको सहयोगमा प्रसुतिगृह बनाउन पहल गरेँ । त्यसअघि भद्रपुर माध्यमिक विद्यालयको एक पटक सदस्य अनि अध्यक्ष भएर काम गरेँ । त्यसैगरी भद्रपुर गौशालाको ४ वर्षसम्म अध्यक्ष रहेँ । भद्रपुर कृष्ण मन्दिरको पनि ३ वर्षसम्म अध्यक्ष भएँ । त्यसैगरी भद्रपुर दूर्गा मन्दिरको सदस्य र ३ वर्षसम्म अध्यक्ष भएँ भने ४ वर्षसम्म भद्रपुर पुस्तकालयको अध्यक्षको जिम्मेवारी निर्वाह गरेँ ।

मन्त्री हुँदाखेरिको मेरो सबैभन्दा राम्रो अनुभव के रह्यो भने राज्यले सहकारी प्रवर्धनमा लाग्ने हो भने देशको कायाकल्प हुनसक्छ, तर अनुगमन र व्यवस्थापनमा जोड दिन जरुरी छ । सहकारीमार्फत निम्न आय भएका मान्छेलाई व्यापक रोजगारी दिन सकिन्छ । अब थप के भनौँ ? संक्षिप्तमा मेरो जीवनकथा यत्ति हो । के गर्न सकेँ के गर्न सकिनँ त्यो भने मैले भन्ने भन्दा अरुले नै मूल्याङ्कन गर्ने कुरा हो । तर जीवनको यो उत्तरार्धमा पनि केही गरौँ भन्ने जोश, जाँगर र आँट भएरै अहिले पनि सामाजिक सेवा र राजनीतिबाट विश्राम नलिइ सक्रिय नै छु ।

(विगत ४५ वर्ष देखि लेखन र पत्रकारितामा संलग्न नेपाल प्रेस युनियनका संस्थापक सदस्य समेत रहनुभएका अग्रज पत्रकार राजेश ढुंगानासंगको कुराकानिमा आधारित । – सं.)


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको