चुलिँदै ‘राजनीतिक फोहोर’को डङ्गुर !

चुलिँदै ‘राजनीतिक फोहोर’को डङ्गुर !


मन्त्रालयको भागबण्डा कसरी मिलाउने भन्ने माथापच्ची सुरु भएको छ । हल्लागुल्ला, धाकधम्की, अपराध जस्ता हुने/नहुने कर्मको माध्यमबाट सत्तामा हिस्सेदार बन्ने ‘औकात’ बनाएकाहरूलाई समेत मालदार मन्त्रालयको चास्नीमा डुबाइदिनुपर्ने बाध्यतामा छन् प्रधानमन्त्री प्रचण्ड ।

‘अब मेरो कुनै अरु स्वार्थ छैन, यसपटक प्रधानमन्त्री भएर देश समृद्धि तुल्याउने काममा लाग्ने हो…!’ शब्द यही नभएपनि यस्तै अर्थ लाग्ने अभिव्यक्ति दिँदै प्रधानमन्त्री बनेका प्रचण्डको तेस्रो प्रधानमन्त्रीत्वकाल पनि लगभग तीन महिना पुगेको छ । उनैको शब्दमा भन्नुपर्दा फगत सुशासन, विकास र समृद्धिका लागि प्रधानमन्त्री भएको तीन महिना अवधिमा सुशासन र समृद्धि झल्किने कति काम भए भनी परख गर्दा सचेत नेपालीजनको मन कुँडिन्छ । प्रचण्ड स्वयम् पनि लज्जित हुनुपर्ने हो कथनी र करणीबीचको यस्तो अन्तर नियाल्दा । तर, बोली-वचन र व्यवहार बदल्न माहिर कहलिएका प्रचण्डले लज्जा महसूस गर्ने अपेक्षा गर्नु नै निरर्थक छ ।

करिव एक दर्जन दलहरूको समर्थनका साथ सोमबार विश्वासको मत हासिल गरेका छन् प्रधानमन्त्री प्रचण्डले । लगभग अढाई दर्जन सांसद्को अगुवा अर्थात् संसद्मा तेस्रो स्थानमा रहेको दलको नेता भएर पनि प्रधानमन्त्रीको कुर्सी हात पार्नु र, दुई महिनामै एमालेसँगको गठबन्धन तोडी काङ्ग्रेससँग ‘लगनगाँठो’ कसेर पुनः विश्वासको मत हासिल गर्न सकेकोमा यतिबेला प्रधानमन्त्री प्रचण्ड आफू र आफ्नो कर्मप्रति गर्वानुभूति गरिरहेका हुन सक्छन् । तर, उनको यस्तै आचरणका कारण समस्त नेपालीले नेपालजस्तो देशको नागरिक भएर पनि आफैलाई धिक्कार्नु पर्ने परिस्थिति झन्-झन् सघन भइरहेको छ । नेपालीको स्वाभिमान खस्किँदै गर्दा, देशकै अस्तित्व धरापमा पर्दै जाँदा र, सामान्य नागरिकको तरह बाँच्नै नसक्ने गरी मुलुकको परिवेश बिग्रँदा पनि संवेदनहीन बनेर भागबण्डाकै राजनीतिमा रमाउने प्रधानमन्त्री एवम् सत्ताप्रति आशक्त राजनीतिक दलका नेतृत्वहरूको छिनाझपटीले आमजनता वितृष्ण मात्र नभइ ‘मास डिप्रेसन’कै शिकार बन्न पुगेका छन् ।

‘आन्दोलनको चरण सकियो, चाहेजस्तो संविधान पनि प्राप्त भयो, अब सुशासन र समृद्धिको बाटोमा हिँड्ने हो’- प्रचण्डलगायत विभिन्न दलका नेतृत्वकर्ताहरूले यस्तो आश्वासन दिन थालेको पनि तीन दशक पूरा भइसकेको छ । तर, एकपछि अर्को बहानामा वितण्डा मच्चिने क्रमले निरन्तरता पाएकै छ । संविधानसभाबाट निर्माण गरिएको संविधानले सबै तह र तप्कालाई सम्बोधन गर्नेछ भनी गरिएको बाचाले त उहिल्यै हावा खाएको हो, त्यसपछि पनि ऐन-नियम, विधान-संविधान संशोधनका अनेक नौटङ्की चले/चलाइए, तर नेपालीको अवस्थामा सुधार आएन, बरु अधोगतिको यात्रा चलेको छ । यस्तो दूरावस्थामा पनि उनै राजनीतिजीवीको आश्वासनमा आश लगाएर बसेका छौँ ‘नेपाली’ विशेषणधारी ‘रैती’हरू ! चरम दुर्भाग्यको सन्दर्भ हो यो ।

प्रचण्डले पछिल्लो पटक विश्वासको मत हासिल गर्दैगर्दा प्रदेशको नामाकरणको विरुद्धमा ‘पहिचानवादी’ तप्का आन्दोलित छन् । जात, धर्म, क्षेत्र, पहिचान आदिको खतर्नाक भोक जगाइदिएर सत्तामा पुगेका राजनीतिजीवीहरू मस्त छन्, मग्न छन् । कतिबेला कहाँ आगो सल्काएर कस्तो रोटी सेक्ने भन्नेमा विज्ञता हासिल गरेका कथित ‘नेता’हरू प्रदेशको नामाकरणलाई विषय बनाएर सडकमा उत्रिएका ‘पहिचानवादी’हरूलाई अब कहाँनेर कुन रूपले ‘प्रयोग’ गर्न सकिन्छ र स्वस्वार्थसिद्धिको कुनचाहिँ अभीष्ट पूरा गर्न पाइन्छ भनी दाउ हेर्दै छन् । आन्दोलनको औचित्य के-कति छ या छैन भन्नेमा ध्यान केन्द्रित गरी समस्याको समाधान खोज्न शासकहरूलाई कुनै छटपटी देखिँदैन । उल्टै कुन कोणबाट हावा दिँदा आन्दोलनको आगो थप दन्किन्छ, त्यसमा मगज खियाउँदै गरेको प्रतीत हुन्छ । यतिका समय बितिसक्दा पनि फेरि जातीय, क्षेत्रिय, पहिचान र यस्तै यावत बहानामा तथाकथित आन्दोलनको आगो बलेको देखिनु अर्को दुर्भाग्य हो, जसका लागि शत प्रतिशत जिम्मेवार आजका यिनै सत्ताधारी दलीय नेतृत्व नै छ भन्न रत्तिभर धक मान्नु पर्दैन ।

एघार दलको समर्थन हासिल गरेका प्रधानमन्त्री प्रचण्ड फेरि पनि मुलुकका गम्भीर समस्याप्रति उन्मुख हुन सकिरहेका छैनन् । मन्त्रालयको भागबण्डा कसरी मिलाउने भन्ने माथापच्ची सुरु भएको छ । हल्लागुल्ला, धाकधम्की, अपराध जस्ता हुने/नहुने कर्मको माध्यमबाट सत्तामा हिस्सेदार बन्ने ‘औकात’ बनाएकाहरूलाई समेत मालदार मन्त्रालयको चास्नीमा डुबाइदिनुपर्ने बाध्यतामा छन् प्रधानमन्त्री प्रचण्ड । आफू पनि ‘बक्र’ बाटो अवलम्बन गरी यहाँसम्मको यात्रा तय गरेका प्रचण्डले राम्रैसँग बुझेका होलान् कि विश्वासको मत दिएका अनेक आकार-प्रकार र चरित्रका पात्रहरूलाई ‘बक्री’ तुल्याएर सत्ताको राप तापिरहन सकिन्न ! त्यसो त ‘नेपालको राजनीति दुषित भयो, साह्रै दुर्गन्धित बन्यो, यसलाई सफा गर्छु’ भन्दै ‘राजनीतिक नाली’ सफा गर्न हेलिएका पात्र स्वयम् नै सोही नालीको किरा सावित भइसकेको परिप्रेक्ष्यमा यस्ता ‘फेक’ पात्रहरूलाई सत्ताको स्वादमा डुबाएर राजनीतिक अस्थिरता र अनिश्चितता हुर्काउँदै आफ्नो अभीष्ट सिद्ध गर्न प्रचण्ड जस्ता चतुर पात्रलाई कुनै आइतबार कुरिरहन नपर्ला । तर, राजनीतिको यो फोहोर झन्-झन् डङ्गुर लाग्दै गर्दा आम नेपालीको भाग्य र भविष्यले भने अकल्पनिय धोका ब्यहोर्दै छ ।