एनआरएनए बेल्जियमद्वारा विश्वसाइकल यात्री महर्जनलाई स्वागत तथा सम्मान

एनआरएनए बेल्जियमद्वारा विश्वसाइकल यात्री महर्जनलाई स्वागत तथा सम्मान


✍ सनत आचार्य, लुभेन (बेल्जियम)

नेपाललाई विश्वभरी चिनाउने र वातावरण संरक्षण तथा सम्वर्द्धनका लागि चेतना जागृत गराउने उद्देश्यले नेपालबाट निस्केका विश्वसाइकल यात्री ज्ञानलाल महर्जनलाई गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमको लुभेनमा स्वागत तथा सम्मान गरेको छ ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाललाई संसारभरी चिनाउने र वातावरण संरक्षण जस्तो महत्वपूर्ण सवालमा केन्द्रीत रहेर साइकलमार्फत विश्व भ्रमणमा निस्केका महर्जनप्रति सम्मान प्रकट गर्दै यो यात्रालाई निरन्तरता दिन सुझाव दिनुभयो ।

अध्यक्ष केसीले पछिल्लो चरणमा साइकलबाट यात्रा गर्नेहरूको संख्या संसारभर बढ्दो रहेको उल्लेख गर्दै नेपालले साइकल यात्राका बारेमा जनचेतना जगाएमा शारीरिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले पनि लाभ लिन सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै लुभेन नगरपालिकाका उपमेयर डेभिड डेसर्सले वातावरण संरक्षणको मुद्दा सिंगो संसारको सवाल भएको हुँदा यस्तो विषयमा चेतनामूलक सन्देश लिएर लुभेनमा आएकोमा नेपाली साइकलयात्री महर्जनको प्रशंसा गर्नुभयो ।

उपमेयर डेभिडले बेल्जियम, त्यसमा पनि लुभेन क्षेत्रमा पछिल्लो समयमा साइकल यात्रुहरुको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको जानकारी दिँदै साइकल र वातावरणको सम्बन्ध घनिष्ट रहेको बताउनुभयो ।

विश्व साइकलयात्री महर्जनले आफू सन् २०१३ देखि विश्व साइकलयात्रामा निस्केको र हालसम्म १८ देशको भ्रमण गरिसकेको जानकारी दिँदै विश्व साइकल यात्रा सोचेजस्तो सजिलो नहुने र, यो क्रममा आफुले थुप्र्रै चुनौती झेल्नुपरेको जानकारी दिनुभयो ।

उहाँले विश्व साइकलयात्रामा भिसा, मौसम, बास, खानपिनलगायत आर्थिक चुनौतीहरू रहने गरेता पनि आफूले यी चुनौतीहरूलाई भन्दा पनि लक्ष्य केन्द्रीत रहेर यात्रालाई निरन्तरता दिने गरेको बताउनुभयो ।

यसैबीच आइतबार साइकलयात्री महर्जनलाई नेपाली समुदाय बेस्टण्डेले बेल्जियमको समुद्री किनारमा रहेको बेस्टण्डे शहरमा स्वागत गरेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै नेपाली समुलदाय बेस्टण्डेका अध्यक्ष ब्रह्मदत्त वाग्लेले विश्व वातावरण संरक्षणका लागि एउटा नेपाली साइकल यात्रामा निस्केर संसारभरीको भ्रमण गर्नु सबै नेपालीहरुका लागि गर्वको विषय भएको बताउँदै साइकलयात्रीलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

एनआरएनएद्वारा लुभेनमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा विश्वसाइकल यात्री महर्जनलाई प्रोत्साहन र सहयोगस्वरुप दुई सय युरो प्रदान गरिएको गैरआवासीय नेपाली संघ बेल्जियमका कोषाध्यक्ष लोकेन्द्र नेपालले जानकारी दिनुभयो ।